अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न कार्यदल गठन

डिसी नेपाल
६ मंसिर २०८१ २०:४३
44
Shares

काठमाडौं। अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ। मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।

कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य रहेका छन्।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार यथाशीघ्र प्रतिवेदन बुझाउनेगरी गठित कार्यदलले यात्रुले खरिद गरेको हवाई टिकट र एयरलाइन्सले बिक्री गरिरहेको टिकट र कालोबजारी अध्ययन तथा अनुगमन गरी सुझाव दिनेछ। उक्त सुझावका आधारमा मन्त्रालयले आवश्यक निर्णय लिने उनले उल्लेख गरे।

हवाईभाडा वृद्धिबारे गुनासो बढेपछि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका थिए।

सो निर्देशन बमोजिम आज अन्तर्राष्ट्रिय उडान गर्ने ११ हवाई कम्पनीले बिक्री गरेका टिकटको मूल्य, टिकटको उपलब्धता र यात्रुको विवरण बुझाएको मन्त्रालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *