कीर्ते हस्ताक्षर गरेर विद्यालयका प्रधानाध्यापकले नै पारे २९ लाख झ्वाम

डिसी नेपाल
१८ मंसिर २०८१ १९:०१
152
Shares

काठमाडौं । रौतहटको चन्द्रनिगाहापुर नगरपालिकास्थित आधुनिक प्राथमिक विद्यालय राजपैडाका प्रधानाध्यापक किशोरी चौधरीले कीर्ते हस्ताक्षर गरेर लाखौं रकम अपचलन गरेको पाइएको छ।

कीर्ते हस्ताक्षर गरेर विद्यालयको बैंक खातामा रोक्का रहेको २९ लाख ३५ हजार ५२९ रुपैयाँ निकाली हिनामिना गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई पक्राउ गरेको छ।

नगरपालिकाको आर्थिक वर्ष २०८०/८१ को विशेष अनुदानबाट ४ कोठे भवन निर्माणका लागि ४७ लाख ७५ हजार ५१२ रुपैयाँ निकास भएको थियो। भवन निर्माणको ठेक्का ब्रह्म बाबा कन्ट्रक्सनलाई दिइएकोमा काम भएपछि रकम नियमानुसार भुक्तानी पाउने गरी रोक्का गरिएको थियो।

प्राविधिक जाँच तथा पहिलो रनिङ बिल भरपाइको आधारमा नगरपालिकाको पत्रद्वारा २० लाख १० हजार ५२९ रुपैयाँ ब्रह्म बाबाले पाउने गरी रकम फुकुवा गरिएको थियो।

उक्त रकम निकालेपछि प्रधानाध्यापक चौधरीले नगरपालिकाको पत्रमा कीर्ते हस्ताक्षर गरी बाँकी रहेको २९ लाख ३५ हजार ५२९ रुपैयाँ निकाली हिनामिना गरेको पाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका चौधरीमाथि थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *