एनपिएलः एलिमिनेटरमा चितवन पराजित, कर्णालीले दोस्रो क्वालिफायर खेल्ने
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको एलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई पराजित गरेको छ। चितवनलाई २१ रनले पराजित गर्दै एनपिएलको दोस्रो क्वालिफायरमा आफ्नो स्थान बनाएको हो। पराजयसँगै चितवन प्रतियोगिताबाट बाहिरिएको छ।
कर्णालीले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५४ रन बनायो। चितवनका लागि रवि बोपाराले अर्धसतकीय पारी खेले पनि अन्य ब्याटरले राम्रो रन बनाउन नसक्दा पराजित भयो। बोपाराले ३४ बलमा तीन चौका र चार छक्का प्रहार गर्दै ५३ रन बनाए। यस्तै कप्तान कुशल मल्लले २१, बिपिन रावलले १८ तथा ल्युक बेनकेनस्टेनले १६ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कर्णालीका लागि जिशन मक्शुदले तीन विकेट लिए। यस्तै सोमपाल कामी र नन्दन यादवले समान दुई दुई विकेट लिए भने बिपिन शर्माले एक विकेट लिए।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर रन बनाएको थियो।
कर्णालीका लागि ब्याटिङतर्फ जयकिसन कोल्सावाला र विलियम बोसिस्टोले अर्धशतकीय पारी खेले। कोल्सावालाले ३९ बलमा छ चौका र दुई छक्काको मद्दतमा ५३ रनमा आउट भए भने समान ३९ बल खेलेका बोसिस्टोले तीन चौका र दुई छक्का प्रहार गरी ५२ रन बनाए। यस्तै चाडविक वाल्टनले २३ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४६ तथा जिसन मक्सुदले १४ रन बनाए।
यता, बलिङतर्फ चितवनका लागि सोहेल तनबिरले दुई विकेट लिए। यस्तै शरद भेषावकर, कप्तान कुशल मल्ल, र रबि बोपाराले समान एक एक विकेट लिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment