‘कन्दरा’ ब्याण्डले नयाँ गीत ल्याउँदै, ‘हुनेछ: द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी

डिसी नेपाल
१४ पुष २०८१ १३:५४
64
Shares

काठमाडौं। गत कार्तिक २४ गते राति काठमाडौंको ठमेलस्थित एक क्लबमा ‘कन्दरा’ ब्याण्डले साङ्गीतिक इतिहास लेख्यो। पोखरामा ३२ वर्षअघि स्थापित कन्दराले यो अवसरमा मेलोडी र मिठासको केवल एउटा युग पोखेको थिएन, काठमाडौंमा पहिलो पटक आफ्नो साङ्गीतिक प्रस्तुति मार्फत अभूतपूर्व क्षण सिर्जना गरेको थियो।

कन्दराले नयाँ वर्ष सन् २०२५ लाई अझ विशेष बनाउँदै नयाँ गीत ‘हुनेछ: द सङ्ग अफ होप’ सार्वजनिक गर्ने तयारी गरेको छ। गीतका शब्द तथा सङ्गीत ब्याण्डका ड्रम वादक सुनिल थापाले तयार पारेका छन् । यो गीतलाई आशा र प्रेरणा दिने सन्देशका रूपमा प्रस्तुत गर्न लागिएको छ। देशमा सकारात्मक परिवर्तन ल्याउन प्रत्येक व्यक्तिले आफ्ना सोच, व्यवहार, र आचरणमा सुधार गर्नुपर्ने विचारलाई यो गीतले जोड दिने जनाइएको छ।

यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत हस्ताक्षरसहित यस गीतको सफलताको शुभकामना दिएका थिए । गीत छिट्टै सार्वजनिक हुने घोषणा भएको छ, जसले ब्याण्डको साङ्गीतिक यात्रामा अर्को सुनौलो अध्याय थप्ने अपेक्षा गरिएको छ।

कन्दरा ब्याण्डका ‘लेककी हे माया’, ‘विदेसिएर गइन् उनी’, ‘चञ्चले कान्छीको’, ‘भेडी गोठैमा’, ‘हङकङ पोखरा’, ‘तगारोमा रुमाल’ र ‘बिचरा म’ जस्ता गीतहरू नेपाली सङ्गीतमा मौलिक लोक पपको सुगन्ध छर्दै ऐतिहासिक बनेका छन्। पश्चिमा शैलीको पप गीतमा नेपाली लोक स्वाद मिसाउँदै आएको यो ब्याण्डले आफ्नो मौलिकता कायम राख्दै श्रोतामाझ विशिष्ट स्थान बनाउन सफल भएको छ।

कन्दराको वर्तमान लाइनअपमा भोकलमा विवेक श्रेष्ठ, ड्रम्समा सुनिल थापा, लिड गिटारमा देव लामा, बास गिटारमा पङ्कज झा, मादलमा अविनाश गायक, र किबोर्डमा उमेश थापा छन् । विशेष गरी, ड्रम्समा रहेका सुनिल थापा ब्याण्डका स्थापना कालदेखिका सदस्य हुन्।

हाल कन्दरा ब्याण्ड आन्तरिक र बाह्य पर्यटनलाई बढवा दिने उद्देश्यका साथ देश घुम्न, देश बुझ्न ‘पहिला घरदेश अनि परदेश’ नारासहित नेपाल टुर अन्तर्गत गण्डकी, कोसी र बागमती प्रदेशमा सफलताका साथ प्रस्तुति सम्पन्न गरिसकेको छ ।

यही जनवरी २०२५ देखि बेलायतको लण्डनस्थित ऐतिहासिक ‘ओ टु अरीना, इण्डिगो (O2 Arena, Indigo)’ बाट वर्ल्ड टुरको प्रारम्भ गर्दैछ। लगत्तै दुबईमा प्रस्तुति दिने ब्याण्डले, मार्च-अप्रिलमा अस्ट्रेलिया र न्युजिल्याण्ड, मेमा अमेरिका, जुनमा क्यानडा, र जुलाई-अगस्टमा युरोपका विभिन्न देश पछि अगस्ट-सेप्टेम्बरमा जापानमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम तय गरेको छ। साथै, कतार र सिंगापुरमा पनि साङ्गीतिक प्रस्तुति दिने कार्यक्रम छ।

३२ वर्षे साङ्गीतिक इतिहासको यात्रा तय गरेको यस ब्याण्डले नेपाली युवामाझ लोक-पप शैलीमा मेलोडी र आधुनिक सङ्गीतको फ्युजन प्रस्तुत गर्दै आफ्नो साङ्गीतिक विरासतलाई निरन्तरता दिँदै आएको छ। प्रमुख भोकलिस्ट विवेक श्रेष्ठ, जो १४ वर्षसम्म विदेशमा रहेका थिए, पुनः सक्रिय हुँदै ब्याण्डलाई नयाँ ऊर्जासहित अघि बढाइरहेका छन्।

रिलिजको सम्मुखमा रहेको नयाँ गीत ‘हुनेछ: द सङ्ग अफ होप’ ले विश्वभर फैलिएर रहेका नेपालीहरूमा सकारात्मक ऊर्जासँगै मेलोडी र मिठासको साङ्गीतिक पहिचानलाई थप बलियो बनाउने विश्वास गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *