आज सोमबारे औंसी, बिहानै नबोली स्नान गरिँदै

डिसी नेपाल
१५ पुष २०८१ ६:४९
124
Shares

काठमाडौं। सोमबार औंशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइँदै छ। आजका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकांक्षा पूरा हुने शास्त्रीय मान्यता छ।

पौष कृष्ण औंशीका दिन आज परे जस्तै सोमबारे औंशी वर्षमा तीनदेखि चार वटासम्म पर्ने गरेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

यसरी स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विभिन्न ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रका आचार्य तोयराज नेपालले बताए।

औंशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ। सोमबार औंशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीयरुपमा उचित रहेको जनाइएको छ। प्रत्येक महिनामा आउने औंशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा छ।

माता, पिता नहुनेले औंशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन्। यसका लागि सोमबार परेको औंशी विशेष मानिन्छ।

आजै तीर्थ अर्थात् गया श्राद्ध गरिँदै

त्यसैगरी आजै प्रत्येक वर्ष चान्द्रमासअनुसार पौष कृष्ण औंसीका दिन गरिने दर्श एवं तीर्थ वा गया श्राद्ध विधिपूर्वक गरिँदै छ। दक्षिणायनको अन्तिम औंसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिन्छ।

पितृलाई कृष्ण पक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औंसीमा श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए।

सौरमास अनुसार माघे सङ्क्रान्तिदेखि र चान्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण शुरु हुन्छ। उत्तरायण शुरु हुनुअघिको औंसी अर्थात् पौष कृष्ण औंसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ।

वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने नियम छ।

आज राजधानीको गोकर्ण उत्तरगया, त्रिवेणीधाम, देवघाट, रिडी, नुवाकोट र रसुवाको सङ्गमस्थित वेत्रावतीलगायत तीर्थस्थलमा विधिपूर्वक श्राद्ध गर्ने भक्तजनको भीड लाग्छ। गयालगायत तीर्थमा गरिने श्राद्ध भएकाले आज गरिने श्राद्धलाई गया श्राद्ध भनिन्छ।

दक्षिणायनको अन्तिम बिदाइका रुपमा आज श्राद्ध गर्ने गरिएको हो। दर्शश्राद्ध अर्थात् घरतिरका तीन पुस्ता र मामाघर तिरका तीन पुस्तालाई पिण्ड दिई गरिने श्राद्ध शास्त्रीय रुपमा गर्नुपर्ने दिन पौष कृष्ण औंसी हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *