आज राति अत्यधिक उल्का वर्षा हुने
काठमाडौं । आज राति उल्का वर्षा हुने भएको छ। नेपाल एस्ट्रोनोमिकल सोसाइटीले बुटिज (भूतप) नामक तारामण्डल उक्त उल्का वर्षाको स्रोत मानिएकाले उल्का वर्षालाई भूतप नाम दिइएको जनाएको छ।
उक्त उल्का वर्षा पुस १३ गतेदेखि नै रहे पनि आज राति अन्य दिनभन्दा धेरै हुने नासोले जनाएको छ। उल्का वर्षा २८ गतेसम्म सक्रिय रहनेछ।
आज राति उल्का वर्षा प्रकाश प्रदूषण कम भएको र खुला आकाश भएको स्थानबाट हेर्न सकिने नासोले जनाएको छ। उल्का वर्षा हेर्न कुनै उपकरण आवश्यक नपर्ने उसको भनाइ छ।
राति हुने अत्यधिक उल्का वर्षा प्रतिघण्टा ५० देखि १२० वटा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिने बताइएको छ।
पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा अन्तरिक्षमा रहेका धुलोका कण र चट्टान पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन्। त्यसैलाई उल्का वर्षा भनिन्छ।

No ads found for this position

डिसी नेपाल
Facebook Comment