‘अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ’

डिसी नेपाल
९ माघ २०८१ ७:४९
80
Shares

म्याग्दी। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले हालै जारी गरेको अध्यादेशले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको बताएका छन्।

बेनीमा मंगलबार आठौं म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति, प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापारिक मेलाको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अध्यादेशबाट भएको कानुन परिवर्तनले निजी क्षेत्र उत्साही भएको बताए।

सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, निजीकरण र आर्थिक तथा व्यावसायिक वातावरण सुधार, लगानी अभिवृद्धि र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशबाट लगानी प्रवर्द्धनमा मद्दत पुग्ने अध्यक्ष ढकालले उल्लेख गरे।

“सरकारका तर्फबाट भएको कानुन परिवर्तनले निजी क्षेत्रलाई लगानीका लागि प्रोत्साहन गरेको छ”, उनले भने, “निजी क्षेत्रको सकारात्मक सुझावलाई सरकारले ग्रहण गरेर छोटो समयमै कानुन परिवर्तन गरेर लगानी र सुरक्षाको वातावरण भएको सन्देश दिएको छ।”

कोरोना महामारी, रुस र युक्रेनको युद्ध तथा नेपालका विद्यमान ऐन, कानुनका कारण सङ्कुचनमा परेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन निजी क्षेत्रको सुझावअनुसार सरकारले अध्यादेश जारी गरेको अध्यक्ष ढकालको कथन थियो।

उनले म्याग्दीका उद्योगी, व्यवसायीहरूले तयार पार्ने कृषि, पर्यटन, जलस्रोतसम्बन्धी योजनामा लगानी भित्र्याउन उद्योग वाणिज्य महासङ्घमार्फत सहजीकरण गर्ने प्रतिबद्धता जनाए।

म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले आर्थिक गतिविधिलाई चलायमान बनाउन, सम्भावनाको पहिचान, स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, खेलकुद प्रतिभा पहिचान, कला र संस्कृतिको संरक्षण गर्न महोत्सव सफल भएको बताए।

पुस २८ गतेदेखि सुरु भएको महोत्सवमा स्थानीय, औद्योगिक उत्पादनका दुई सय ३० वटा व्यापारिक स्टल थिए। महोत्सवमा रु १० करोडको कारोबार भएको र एक लाख दर्शकले अवलोकन गरेका अध्यक्ष श्रेष्ठले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *