सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ
सुदूरपश्चिम। सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले यहाँका मौलिक कला, सांस्कृतिलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन आवश्यक रहेको बताएका छन्।
सिसिएस धनगढीको आयोजनामा आज धनगढीमा भएको ‘सुदूर संस्कृति उत्सव’ लाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम कला, संस्कृति, सभ्यता र परम्पराको भण्डार रहेकाले तिनको संरक्षण र प्रचार जरुरी रहेको बताए। “सुदूरपश्चिम कला र संस्कृतिको भण्डार हो। यहाँको कला, संस्कृति, सभ्यता र परम्पराको संरक्षण एवं राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पहिचान स्थापित गर्न आवश्यक छ”, प्रदेश प्रमुख मियाँले भने।
उनले यहाँका प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा पर्यटन सम्भावनाको उपयोग गरी सुदूरपश्चिमका रूपमा विकास गरिनुपर्नेमा जोड दिए। त्यसका लागि नयाँ पुस्तालाई सुदूरपश्चिमको इतिहास, महत्त्व, कला, संस्कृति र मौलिक परम्परासँग जोड्न विद्यालयस्तरदेखि नै सचेतना आवश्यक रहेको प्रदेश प्रमुख मियाँको भनाइ थियो।
सिसिएसका अध्यक्ष हरि रेग्मीले सुदूरपश्चिमको पहिचान संरक्षण गर्नु आजको आवश्यकता रहेकाले उत्सव आयोजना गरिएको बताए। उनले समाज रूपान्तरण र सशक्तिकरणका लागि कला, साहित्य तथा संस्कृतिको संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।
प्रदेशको कला, संस्कृति, धर्म र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले आयोजित उत्सवमा सुदूरपश्चिमका मौलिक देउडा, गौरालगायतका सांस्कृतिक प्रस्तुति गरिएका थिए। उत्सवमा सिसिएसका विद्यार्थीले तयार गरेका सुदूरपश्चिमका मौलिक परिकारका साथै यहाँका परम्परागत बाजागाजाका सामग्रीसमेत प्रदर्शन गरिएका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment