सङ्खुवासभाबाट एक अर्ब बढीको अलैँची निर्यात
किमाथाङ्का, (सङ्खुवासभा) । चालू आर्थिक वर्षमा जिल्लाबाट रु एक अर्ब बढी मूल्यको अलैँची निर्यात भएको छ।
चालु आवमा सात सय ३० मेट्रिकटन अलैँची निर्यात हुँदा रु एक अर्ब २४ करोड भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सङ्खुवासभाका प्रमुख नवराज गुरुङले जानकारी दिए।
जिल्लामा गत वर्ष सात सय ८० मेट्रिकटन अलैँची निर्यात हुँदा रु एक अर्ब २० करोड भित्रिएको थियो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको हो। विविध कारणले उत्पादन घटेपनि माग बढी हुँदा अलैँचीको मूल्य वृद्धि भएको हो। भारत र भुटानमासमेत उत्पादन कम हुँदा निर्यात बढी भएको जनाइएको छ। एक दशकअघिदेखि ओरालो लागेको अलैँचीको मूल्यमा सुधार आएको हो।
अलैँचीको मूल्य प्रतिमन (४० किलो) रु एक लाख १५ हजारमा बिक्री भइरहेको छ। जिल्लामा एक हजार सात सय ३४ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ। अलैँची पूर्वी पहाडी जिल्लाका किसानको आम्दानीको भरपर्दो स्रोत हो।
अधिकांश अलैँची बगानमा पुरानो बोट भएकाले उत्पादन घट्नुका साथै बोट डढ्ने गरेको किसानको गुनासो छ। अलैँची सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम, र धनकुटासहित पहाडी र उच्च पहाडी जिल्लामा उत्पादन हुन्छ। पछिल्लो समय नेपालका ४३ जिल्लामा अलैँची उत्पादन हुने गरेको छ। नेपालमा उत्पादित अलैंचीको बजार भारत हो। अलैँची उत्पादन हुने क्षेत्र सङ्खुवासभालाई यो वर्ष सुपर जोन क्षेत्र बनाइएको छ।
यो परियोजना सङ्खुवासभाका १० स्थानीय तह र भोजपुरका ६ स्थानीय तहमा सुपर जोन कार्यक्रम सञ्चालनमा छ। कृषिमा आधुनिक प्रविधि भित्र्याएर आत्मनिर्भरता बढाउने उद्देश्यले छ वर्षदेखि परियोजना सञ्चालनमा ल्याइएको हो। रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment