‘फेरी रेशम फिलिली’ को ‘फेरी जालमा’ सार्वजनिक
काठमाडौं। आउँदो महाशिवरात्रिलाई लक्षित गर्दै फागुन १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘फेरि रेशम फिलिली’ मा समावेश ‘फेरी जालमा’ सार्वजनिक गरिएको छ।
आज काठमाडौं कमलपोखरीमा स्थित एक सिनेमा हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा कालीप्रसाद बास्कोटाको संगीत, मानस राजको शब्द र गायनमा संगीतकार बास्कोटा र सोमिया बराईली गायक छन्।
करिब १० वर्ष अघि विसं २०७१ सालमा रिलिज गरिएको जालमा गीत भाइरल भएको थियो। यही गीतका कारण उक्त समयमा ‘रेशम फिलिली’ ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको थियो। यो गीतको भिडियामा प्रदिप लामाको कोरियोग्राफी र शिवराम श्रेष्ठले छायांकन गरेका हुन्। सार्वजनिक ’फेरि जालमा’ गीतमा यसका मुख्य कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्ट फिचर्ड छन्।
अभिनेता श्रेष्ठले पुनः उही टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताए। उनले भने, ‘पहिलाकै सङ्गीत टिमसँग काम गर्न पायौँ। यो गीत हामीले सक्दो राम्रो बनाउने प्रयास गरेका छौँ, दर्शकको प्रतिक्रिया राम्रो पाउनेमा विश्वस्त छौँ।’
उनले फिल्मको सिक्वेल बनाउनुको कारण पहिलो भागको कथाको निरन्तरता रहेको बताए। फिल्मलाई निरज महर्जनले निर्देशन गरेका हुन्। यसको कथा पनि उनले नै लेखेका हुन् फिल्ममा कामेश्वर, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment