एलिनाले लेखिन्- प्रिय विष्णु आजदेखि कानुनी रुपमै अलग भयौं
काठमाडौं । गायिका एलिना चौहानले मंगलबारदेखि पति विष्णु सापकोटासँग छुट्टिएको बताएकी छन्। सामाजिक सञ्जालमार्फत एलिनाले उक्त कुरा जनाएकी हुन्।
लामो भावनात्मक विचार लेख्दै एलिनाले आजदेखि आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको जनाएकी छन्। ‘प्रिय विष्णु, आजदेखि स्वतन्त्र भएर कानुनी रूपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ। हाम्रो सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको छ। यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ,’ उनले लेखेकी छन्।
उनले अग्निलाई साक्षी राखेर ७ फेरा लगाउँदा गलेका आफ्ना खुट्टा अझैँ उस्तै रहेको बताएकी छन्। ‘तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोब अझैँ उस्तै छन्। तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझैँ उस्तै छन्। हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ। वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ। तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ,’ उनले लखेकी छन्।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण भएको उनको तर्क छ। अब त्यो नरहेको र सम्बन्धमा अल्पायुमै पूर्णविराम लागेको उनले बताएकी छन्।
पत्नीका रुपमा अधिकारले आफूले पाउने सम्पत्ति उनकै प्रगति र उन्नतिका लागि छोडेको उनको दाबी छ। उनले सापकोटालाई बाँकि जीवनको शुभकामना पनि दिएकी छन्।
एलिनाले यही माघ १८ गते शुक्रबार काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी थिइन्। लामो समय प्रेम सम्बन्धमा रहेको यो जोडीबीच बिहेपछि कलह सुरु भएको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment