माघ शुक्ल पूर्णिमा: घर घरमा स्वस्थानी व्रत कथा समापन

डिसी नेपाल
३० माघ २०८१ २२:३०
44
Shares

काठमाडौं। पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरू गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिएको छ। माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिएको हो।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरू गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत समापन गरेका हुन्। त्यसैदिनदेखि सुरू गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रूपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिएको छ।

विधिपूर्वक एक महिने व्रत गरेका वर्तालुले माघ शुक्ल पूर्णिमाका दिन आज १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ। चढाइएका प्रसादमध्ये सबैबाट आठरआठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभएमा कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बहाउने व्रत विधि छ।

सय रोटी वर्तालुले फलाहार गरी रातमा जाग्राम बसिन्छ। जाग्रामका समयमा देवीको माहात्म्य सुन्ने सुनाउने गरिन्छ। यसो गरेमा वर्तालुको मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ। स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ। आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायणपछिको समय ध्यान, योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ। यसका लागि पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समय राम्रो मानिन्छ।

यस अवसरमा राजधानीको उत्तरपूर्वी भेगस्थित शालीनदीमा भइरहेको माधवनारायण व्रत पनि आज समापन गरिँदै छ। व्रत समापनका लागि अहिले अश्वमेध यज्ञ भइरहेको शालीनदी संरक्षण तथा सुधार समितिका अध्यक्ष विकासमान सिंहले जानकारी दिए। बिहान करिब तीन बजेसम्म यो यज्ञ सकिने समितिले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *