आज सेना दिवस, टुँडिखेलमा विशेष कार्यक्रम आयोजना हुँदै

डिसी नेपाल
१४ फागुन २०८१ ६:५६
88
Shares

काठमाडौँ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आज २६२औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ।

राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।

सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ। त्यस अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन्। राष्ट्रपति पौडेल नागरिकको आस्था र भरोसाको केन्द्रका रूपमा रहेको नेपाली सेनाको परमाधिपति हुन्।

राष्ट्रको संस्कृति र परम्पराका रुपमा रहेको महाशिवरात्रि तथा सेना दिवस सैनिक मञ्च टुँडिखेल तथा पृतना, गण, गुल्म, युनिट र विभिन्न निकायमा मनाइने नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए। ऐतिहासिककालदेखि नै सेना राष्ट्रिय मूल्य, मान्यता, परम्परा र संस्कृतिबाट अभिप्रेरित रहँदै आएको संस्था रहेको उनले बताए।

त्यस अवसरमा नेपाली सेनासहित भारत, बेलायत र संयुक्त राज्य अमेरिकाका सेनाद्वारा सांगीतिक प्रस्तुति हुनेछ। स्थापना दिवस मनाउने सिलसिलामा पृतना समन्वयात्मक बैठक, प्रधानसेनापति खुल्ला म्याराथन, युनिटी जर्नल प्रकाशन र तस्बिर प्रदर्शनीसमेत भइसकेको छ।

सेना दिवसकै अवसरमा विभिन्न देशका राष्ट्रिय सेवा दलसँग सम्बन्धित विदेशी छात्रछात्राबाट विभिन्न भेटघाट र नेपालबारे अध्ययन भ्रमण भइरहेको छ। सेना दिवस मूल समारोहमा भाग लिन भारतका केही पूर्वसेना यहाँ आउँदै छन्। उनीहरु नेपाली सेनाका मानार्थ महारथी समेत हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *