‘प्रश्न सोधेकै आधारमा पत्रकारमाथि कारबाही हुनु अनुचित’
काठमाडौं। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रश्न सोधेकै आधारमा पत्रकारमाथि कारबाही हुनु उचित नभएको बताएका छन्।
बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले प्रश्न सोधेकै आधारमा पत्रकारमाथि कारबाही हुनु उचित नभएको भन्दै संसद सचिवालयसँग यस विषयका छलफल गर्ने बताए। उनले कारबाहीलाई फिर्ता गर्ने तर्फ लाग्ने धारणा राखे। घिमिरेले सञ्चारकर्मीलाई पनि मर्यादित भएर प्रश्न गर्न आग्रह गरे। प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा कांग्रेस दृढतापूर्वक उभिने उनले बताए।
त्यस्तै रास्वपा सांसद मनिष झाले प्रधानमन्त्रीलाई प्रश्न सोध्दा पत्रकारको पास निलम्बन गर्ने कामको विरोध गरे। आफ्नैविरुद्ध बोल्दा आफ्नै दलका नेतालाई कारबाही गर्ने प्रधानमन्त्री केपी ओलीले पत्रकारमाथि पनि त्यही अनुसारको व्यवहार देखाउन थालेको उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा गलत शब्द प्रयोग गरेको संघीय संसद् सचिवालयले दुई जना पत्रकारको संसद प्रवेश पास निलम्बन गरेपछि अन्य सांसदहरुले समेत विरोध जनाएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment