निर्माता र निर्देशकको रोजाइमा अभिनेता दिव्य देव
काठमाडौं। अभिनेता दिव्य देव पछिल्लो समय निर्माता र निर्देशकको रोजाईको कलाकारमा पर्छन्। फिल्महरुमा सकारात्मक र नकारात्मक दुवै चरित्रमा देखिँदै आएका दिव्य देव यही चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’मा खलनायक चरित्रमा देखिँदैछन्।
दिव्य देव ‘पिताम्बर’मा ‘राहुल’को भूमिकामा देखिँदैछन्। ‘मैले यसअघि कमर्सियल किसिमको फिल्म गरेको थिइनँ । यो लेभलको फिल्ममा पहिलोपटक काम गरेको हुँ’, उनी भन्छन्, ‘फिल्ममा मेरो फूल अन भिलेन अर्थात खलनायक चरित्र छ। मेरो लुक्स, पहिरन, तराईको परिवेश अनुसार भ्वाइस छ । म फिल्ममा क्रुर किसिमको छु । यो कथाभित्र म पात्रले जे काम गर्छ, त्यसले मेन प्रोटागोनिस्टको लाइफमा असर पार्छ। कथाको यात्राभित्र छिर्न उसले मुल क्यारेक्टर निभाएको हुन्छ ।’
फिल्मको क्यानभास नवलपरासीको परासी वरपर रहेकाले फिल्ममा रहेका अन्य भिलेन साथीहरुजस्तै आफू पनि एक ठाउँको भिलेन रहेको दिव्यदेव खुलाउँछन् । ‘फिल्ममा मैले जुन चरित्र निभाएको छु, त्यो चरित्र किन यस्तो भयो? उसले किन यस्तो क्रियाकलाप गर्छ । मैले निर्देशकलाई सोध्दै आफूले पनि सम्झँदै मेरो चरित्रको खाका बनाएको थिएँ । जुन यो फिल्ममा देखाएको छु’, उनी भन्छन्।
निर्देशक कृषा चौलागाईंको सहयोगले पनि आफूले क्यारेक्टरलाई विकसित गराउन सकेको दिव्य देव दाबी गर्छन् । ‘कृषाले मलाई क्यारेक्टरको बारेमा विस्तृत बताउनुभएको थियो । उहाँलाई केही सोध्दा पनि घुमाउरो खालको उत्तर आएन । त्यसबाट म प्रभावित भएँ । सेटमा गइसकेपछि उहाँको काम गर्ने शैली, नेतृत्व क्षमताले पनि प्रभावित भएँ’, दिव्य देव भन्छन् ।
दर्शकका लागि ‘पिताम्बर’मा देखिएको आफ्नो चरित्र नयाँ लाग्ने उनको दाबी छ । ‘क्यारेक्टर, लुक्स, पहिरन र भिलेन चरित्र दर्शकका लागि फरक छ । दर्शकले दिव्यदेव यस्तो चरित्र पनि गर्दो रहेछ भन्ने अनुभव लिन्छन् । मलाई जतिसक्दो फरक क्यारेक्टर नै गर्न मन लाग्छ ।’ उनी भन्छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment