कथा

जीवन दान

प्रकाशचन्द्र खतिवडा
६ वैशाख २०८२ ७:३०

मलाई बढी निद्रा लागिरहेको छ। मोटोपना बढेर असहज भएको छ। होचो मान्छे पेट बढेपछि भकुण्डो जस्तै देखिएको हुँला। कुनै पनि लुगा ठिक हुँदैन। महिनै पिच्छे लुगा फेर्नु पर्ने बाध्यता छ।

मर्निङ वाक गर्नु पर्छ। योग गर्नु पर्छ। खाना नियन्त्रण गर्नुपर्छ। साथी भाइका सुझाव प्राप्त नभएका भने हैनन्। सुझाव अनुसार मर्निङ वाक गरिरहेकै छु।

सामाजिक सञ्जालबाट प्राप्त सुझाव ग्रहण गर्ने क्रममा मोटोपन घटाउने ‘ओविनो क्यासुल’ पनि खाइ रहेकै छु। तर मेरो मोटोपन घट्ने छेक छन्दै छैन। मेरो लागि ‘ओविनो क्याप्सुल’ झुटो विज्ञापन सावित भएको छ।

म निवृत्त शिक्षक हुँ। म पदमा बहाल रहेकै अवस्थामा ०७७ साल असारदेखि डिप्रेशनको शिकार भएर पढाउनै नसक्ने स्थिति भएपछि म ०८० बैशाखबाट स्वेच्छिक अवकाश लिई निवृत्त भएको हुँ। विगत ५ वर्ष देखि म डिप्रेसनको औषधि सेवन गरिरहेको छु। अहिले ठिकै छ। बढी निद्रा लाग्ने र मोटोपनले भने सताइ रहेको छ।

डाक्टरको परामर्शमा जान सकिरहेको छैन। परामर्शका लागि राँची जानु पर्ने र दोभासे साथी पनि आवश्यक पर्ने हुन्छ। नेपालको उपचारले कामै नगरे पछि मलाई राँची लागिएको थियो। निलाप्रसाद सरको सहयोगमा छोरो प्रतिरोधले मलाई राँची पुर्‍याएको थियो।

अहिले छोरो पनि घरमा छैन। उ पढाइको शिलशिलामा क्यानडा गएको छ। निलाप्रसाद सर पनि राँची तिरै हुनुहुन्छ रे। निलाप्रसाद सरलाई त भनेको छु। नेपाल आएको बेला लैजाउँला भन्नु भएको छ।

निलाप्रसाद सर राँची तिरै बढी बस्न थाल्नु भएको छ। वहा हुर्की बढी, पढी गरेको ठाउँनै राँची रहेछ। वहाँको बुबा राँचीमै जागिर खानु हुन्थयो। अहिले त वहाँ बिति सक्नु भयो। वहाँको नामको पेन्सन आउँछ रे। निलाप्रसाद सरको मामा अहिले पनि राँचीमै जागिरे हुनुहुन्छ।

निलप्रसाद सर र म सरस्वती मा.वि. साङपाङमा शिक्षक थियौं। निलाप्रसाद सरको घर पहाड भोजपुर साङपाङ हो भने तराई सुनसरी खनार हो। राँचीमा पढेर केही समय गाउँको विद्यालयमा सेवा गरी सरकारले दिएकोे सुविधा रोजेर वँहा निवृत्त हुनु भएको हो।

मेरो पनि पहाड घर भोजपुर बोया हो। म वोयामै जन्मी हुर्की, बढी सात कक्षासम्म पढेको ठाउँ हो। म अहिले मोरङको दुलारीमा बस्छु। निलाप्रसाद सर र मेरो बजार इटहरी हो। निलाप्रसाद सर खनार आएको बेला हाम्रो भेट अक्सर इटहरीमा नै हुने गर्छ।

म भन्दै थिएँ। छोरो क्यानडा गयो। त्यसै गरी छोरी फिनल्याण्ड गई। मुलुक बालबालिका, महिला र वृद्धहरुको चौतारी जस्तो भएको छ। मलामी र जन्ती जाने संख्या पुरुषको भन्दा महिलाको बढी हुन थालेको छ।

कठै मेरो देश हजारौं अवसर भएर पनि छोरा छोरीको पढाइ र रोजगारीको लागि विदेशिनु पर्ने बाध्यतामा पिल्सिएको छ। खै गुणस्तरीय शिक्षा? खै रोजगारी? विदेशिनु बाध्यता बनेको छ। साह्रो गाह्रो पर्दा सहरा दिने कोही छैन।

छोरो भएको भए म राँची गै सक्ने थिएँ। उ हिन्दी र अंग्रेजी दुइ वटै भाषा जान्दछ। म हिन्दी अलि अलि बुझ्छु। फर्काउन राम्ररी आउँदैन। अंग्रेजीमा पनि सबै कुरा व्यक्त गर्न सक्दिनँ। जसो तसो गाडीको बाटो समाएर राँची त पुग्ने थिएँ।

भाषाकै समस्या भयो डक्टरको परामर्शमा औषधिको मात्रा घटाउनु पर्ने थियो। क्रमश : औषधि खान छोड्न पाए हुन्थयो भन्ने लागेको छ। औषधिले फोक्से मासु लाग्दो रहेछ। यो औषधि सेवन गरुन्जेल जे उपाय गरे पनि मोटो पन नघट्ने रहेछ। म निलाप्रसाद सरको प्रतीक्षामा छु।

मैले छोरा छोरीलाई विदेश नजाओ भनेँ। तर छोरा छोरीले मानेनन्। नेपालमा अवसरै छैन भने। यहाँको राजनीति र नेता ठिक छैनन्। देश कहिल्यै बन्दैन भने। छोरो फुड न्यूट्रेशनको विद्यार्थी हो। उसले स्नातक गरिसकेको छ। छोरी मास्टर्स गर्दै थिई। यिनीहरुलाई विदेशी मोह कसरी पलाएछ? म अचम्ममा परिरहेको छु। किनकी खान लाउन र पढ्नलाई त्यति दुःखै थिएन।

अधिकृतको लोक सेवा दिई यही जागिर खाएको भए पनि त हुन्थ्यो। एक्लो छोरो। बाबु, आमा, हजुरबा हजुरआमा छोडेर विदेश लाग्यो। मन खिन्न भएको छ। छोरा छोरी नै लोकसेवा नदिई अवसर छैन भनेर हिँडे। लोकसेवा दिएर हेरेको भए हुन्थ्यो नि।

युवा पलायन भए पछि जग्गा जमिन बाँझै रहन थालेका छन्। प्रशस्त अन्न वाली फल्ने खेतबारी स्याल र बाँदर कुद्ने पाखा जस्तै भएका छन। देश रेमिट्यान्सले चलिरहेको छ। औद्योगीकरण छैन। युवा पलायन रोक्ने सरकारसँग नीति नै छैन। युवाहरु विदेश पठाउन पाएकोमा गर्व गरिरहेछ सरकार।

म दुलारीको न्यू शिव शंकर शैलुनमा नियमिति दाह्री काटाउँछु। हिजो मात्रै कपाल कटाउन आएका एक जना भद्र जस्तै देखिने अधवैशेले छोरीले अष्ट्रेलियाको पीआर प्राप्त गरी। अब ढुक्क भो भने। मलाई अचम्म लाग्यो। छोरा छोरी देश फर्कुन भन्ने त हैन। विदेशमै बसेको देख्न चाहने आमा वा को संख्या बढेको देख्ता। राष्ट्रियता गुमी सकेको हो हामीबाट? मैले आफैंलाई प्रश्न गरेँ।

छोरा छोरी विदेश पठाएर मैले राष्ट्रियताको दुहाई दिनु के उपयुक्त होला र? खासमा म राष्ट्रवादी मान्छे हो भन्दा पनि पत्याउने अवस्था रहेन। साथीहरु व्यङ्ग्य हान्छन्। हेरन त्यो प्रकाश, छोरा छोरी विदेश पठाएर नक्कली राष्ट्रवादको कुरा उठाउँछ।

धरो धर्म म राष्ट्रियताको कुरो त उठाउछु नै। मलाई मेरो देश प्यारो छ। मैले नचाहँदा नचाहँदै छोरा छोरी विदेश गएका हुन्। तिनीहरुलाई नेपालै फर्कनु पर्छ भनेको छु। छोरा छोरी विदेश गएकोमा साथीहरु मलाई बधाई दिन्छन्। मलाई हाँस उठ्छ। देश छोडेर विदेश जाँदा पनि बधाइ। यो कस्तो संस्कारको विकास भयो हँ? अब टेन्सन नलि। भविष्यमा तँ पनि विदेशी नागरिक हुने भइस्।

मलाई विदेशी नागरिक बन्नु छैन। मलाई विदेशी सुख सयल चाहिएको छैन। म नेपालकै चिसो पानी मात्रै खाएर भए पनि स्वदेशमै रम्न चाहन्छु। मर्दा पर्दा के गर्छस्? भन्छन् छिमेकीलाई भनेको छु। म मरे भने बुढी खोलामा लगेर फाल्दिनोस्। त्यति सहयोग त गर्नु हुन्छ नि हैन? छिमेकी छक्क परेर मेरो मुखमा एकोहोरो हेर्छन्। उनी अवाक बन्छन्। म पनि अवाक बन्छु।

यो पीडा मेरो मात्रै हैन। आम वा आमाको पीडा भई सकेको छ। रुन्चे हाँसो हाँसेर हामी भित्र भित्रै फत्किरहेका छौं। हाम्रो पीडामा मल्हम दल्ने कोही छैन। आफैंले आफैलाई संझाएर बाँच्न विवश छौ हामीहरु।

अत्याश लाग्दो जीवन बाँच्न विवश छु म। मेरा रहर र सपनाहरु अधुरै होलान्। म चाहन्छु। बुढेसकालमा छोरा छोरी साथमा रहुन्। पानी भनेको बेला पानी खान दिउन्। भोक लाग्यो भनेको बेला खाने कुरो दिउन्। जान्छु भनेको ठाउँमा लिएर जाउँन्। विरामी परेको बेला, औषधि पानीको व्यवस्था गरुन्। आम आमा बाको अपेक्षा हो यो।

के अपेक्षाहरु पूरा होलान् त? मेरो बुढेसकाल कति सुरक्षित छ? म छोरा छोरीको साथमा बाँच्न पाउँला त? छोरा छोरीको दृष्टिकोणमा परिवर्तन आउँला त? स्वदेशमै बस्ने बातावरण कसले बनाउने? मेरो देश भनेर गर्वको अनुभुति कहिले गर्ने? म छु। मेरो देश छ। मेरो सरकार छ। म छोरा छोरीको साथमा छु भन्ने दिन आउला या नआउला? अन्यौलग्रस्त परिवेशमा बाँचिरहेको छु म।

मेरा वा आमासँग त म छु। वा, आमालाई खुशी राख्ने प्रयत्न गरेकै छु। कमसेकम वा आमाको मुहार हाँसिलो राख्न पाए शायद मेरो पनि आयु बढ्न सक्छ। वा आमाका पाँच सन्तान मध्ये चार सन्तान त स्वदेशमै छौं। एउटा न एउटा त बा आमाको साथमा हुन्छौं नै। आमा, बा को सेवा गर्न
पाउनु पनि सौभाग्यकै कुरो हो। छोरा छोरी साथमा पाएकाले आमा बा निश्चिन्त हुनुहुन्छ।

म भन्दै थिएँ। म डिप्रेशनबाट थलिएको थिएँ। सुरुका दुई वर्ष ज्यादै पीडा खेप्नु प¥यो। कति खेर मरौ जस्तो मात्रै लाग्थ्यो। ऐना हेरेर रुने गर्थें। मेरो पीडा व्यक्त गर्ने शब्दै थिएन। कसैले गोली हान्दिए पनि हुने भन्थे। खाने कुरामा विष राखेर दिए पनि हुने भन्थे। म जीवनबाट हारिसकेको थिएँ।

मान्छेहरु डिप्रेशनको औषधि सेवनको कुरा गोप्य राख्छन् रे। मान्छेले बहुला भन्छन् भन्ने चिन्ता हुन्छ रे। मलाई त्यस्तो लाग्दैन। म समस्या खुलेरै राख्छु। आखिर ठिक त हुने नै रहेछ। म अलि बढी पीडित भएँ जस्तो लागेको मात्रै हो।

औषधि सुट गर्न समय लाग्ने रहेछ। राँचीकै औषधि सुट भएर ठिक हुन पनि मलाई आठ नौ महिनै लाग्यो। जब ठिक भयो। मलाई हारिसकेको जविनले जीवनदान प्राप्त गरेको अनुभूति भइ रहेको छ। अहिले म पीडित छैन। मज्जाले हाँस खेल गरिरहेको छु।

घर व्यवहारको सामान्य चिन्ता त हुन्छ नै। छोरा छोरी विदेश गएको ऋण सावाँ व्याज मासिक किस्ता तिर्नु पर्छ। आफ्नो औषधि किन्नै पर्छ। पानी विजुलीको महशुल तिर्नै पर्छ। साग सब्जी खानै पर्छ। ग्यास बाल्नै पर्छ। वा आमा वृद्ध हुनुहुन्छ। विभिन्न रोगले सताउँदा औषधोपचार गर्नै पर्छ। घर व्यवहार चलाउन निवृत्तिभरण रकमले धौ धौ पर्छ।

डिप्रेशन नभएको भए अझै एक तह बढुवा हुने अवसर थियो मेरो। बढुवा भएर निवृत्त हुन पाएको भए निवृत्तिभरण रकम बढ्ने थियो। संचयकोष रकम बढ्ने थियो। विरामी विदाँको रकम पनि बढ्ने थियो।

सोचे जस्तो कहाँ हुन्छ र जीवन? जीवनमा उतार चढाव भै नै हाल्छ। त्यो स्वभाविक प्रकृया पनि हो। जीवनको वास्तविकतालाई आत्मासात गर्न सक्नु पर्दो रहेछ। यदि म मरेको भए (पासो लाग्ने कोशिश पनि गरेकै हो। )  मेरो संसारको अन्त्य हुने थियो।

म तपाईंहरु सामु यसरी कँहा प्रस्तुत हुने मौका रहन्थ्यो र? मैले जीवन दान पाएको छु। म खुशी छु। मैले जीवनलाई क्रियाशील राख्नु पर्छ। म न्यायको पक्षपाती मान्छे। म अन्याय देख्न चाहन्न। मलाई दासत्व मन पर्दैन। म विद्रोह गरी बस्छु। जब सम्म मान्छेले मुक्ति प्राप्त गर्दैन।

सुन्दरहरैंचा-६, दुलारी, मोरङ
kpchandra2023@gmail.com




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *