वनसँग जोडिएको जीवन

हाम्रो विज्ञान विभिन्न कारणले बिलखबन्दमा परेको छ। पुर्खाको ज्ञान, परिवारको विज्ञान, समाजको शिक्षा, धर्मको चेतलाई जीवनसँग जोड्न नसक्नु दुखद हो।
वैदिक ज्ञानलाई हरेक क्षेत्रबाट भजाउने, भट्याउने, भाँच्ने काममात्र भएको छ। उपनिषद्ले भन्छ मानिसको उत्पत्ति पूर्व वनस्पतिको अंकुरण भएको थियो।
उपनिषद्को ज्ञानलाई हाम्रो र यही माटोको सार हो भन्ने विर्सदा ज्ञान, प्रविधि, राजनीति सबै पश्चिमबाट आयात गर्नुपरेको छ, छिमेकीबाट खरिद गर्नुपरेको छ, दाता मुलुकसँग हात थाप्नुपरेको छ।
अब पनि उज्यालो भएन, हामी जागेनौँ, गौरव खोजेनौँ भने वर्तमानले क्षमा दिने छैन, भविष्यले स्मरण गर्ने छैन। हाम्रो विज्ञानले विरुवालाई जीवनको आधार, प्राणको टेको, माटोको सार बताउँछ।
बिउबाट उत्पन्न, जरामा उभिएका, कोषमा प्लास्टिक हुने सजीवलाई वनस्पति भनिन्छ। महाभारत (अनुशासन पर्व ५८।२३-३२)का अनुसार वृक्ष, लहरा, वल्ली, गुल्म, त्वक्सार एवं घाँस गरी वनस्पतिलाई ६ भागमा विभाजन गरिएको छ। प्राणी, प्रकृति र वनस्पतिबीच अन्योन्याश्रित सम्बन्ध छ।
एउटामा पर्ने नकारात्मक प्रभावले अर्काको अस्तित्व सखाप बनाउँछ। मानिसले गाँस, बास, कपास र श्वासका लागि वनस्पतिमा निर्भर हुनुपर्छ। देवस्थल र तीर्थस्थलका वनस्पतिलाई देवीदेवता र ऋषिमुनिहरूको जपमा पुज्ने, दर्शन गर्ने, शुभसाईतको प्रतीक मान्ने चलन छ।
मन्दिरको निर्माण हुनुपूर्व देवीदेवताका मूर्ति रुखको फेदमा राखिन्थ्यो। रुखको ऊर्जाले मूर्तिको शक्ति बढाउँथ्यो। तान्त्रिक मूर्तिहरूलाई अहिले पनि रुखमुनि राखिन्छ। उपत्यकाका खरीबोटका फेदमा यस्ता मूर्ति प्रशस्त थिए।
सनातनधर्मले एउटा रुख रोपेका ठाउँबाट अर्को रुख बीस हात टाढा रोपे उत्तम, सोह्र हातनजिक रोपे मध्यम र बाह्र हातनजिक रोप्नुलाई अधम मानेको छ। वनस्पतिले घर, फलफूल र अन्न दियो, धार्मिक अनुष्ठान गराउन सहयोग गर्यो, ध्यान र साधनामा सहयोग पुर्यायो, पानीलाई आश्रय दियो।
पंक्षीले वनस्पतिमा गुँड लगाए, वनस्पतिकै फेदमा शास्त्र र ग्रन्थ लेखिए, साधकले ब्रéचिन्तन गरे। हिन्दूधर्मले वरको रुखलाई महादेव, पीपल र तुलसीलाई विष्णु, दुबोलाई गणेश मानेर वनस्पतिलाई संरक्षण गर्दै आएका छन्। जङ्गलले भूमिलाई मरुभूमि र भूक्षय हुनबाट जोगाउँछ, पशुपंक्षी संरक्षणका साथै पानीका स्रोतहरूलाई जीवन दिन्छ।
वनस्पतिले प्राणी, पैसा र प्रकृतिको संरक्षण एवं अभिवृद्धि गर्छ। पीपलको पातलाई हावाले हल्लाउनुपर्दैन आफँै हल्लिएर शीतलता, अक्सिजन र हावा प्रदान गरिरहेका हुन्छन्। पीपललाई ज्येष्ठादेवी र शनि ग्रहको अधिष्ठाताका रूपमा पूजिन्छ।
शनिबार सूर्योदय पहिले पीपलमा पानी, फलामका टुक्राहरू, कालो दाल, कालो कपडा आदि चढाई शनिदेवको पूजा, उपासना गरे सुख-शान्ति मिल्ने, दुर्घटनाबाट बच्ने ज्योतिषीय मान्यता छ। ‘मूलतो ब्रéरूपाय मध्यतो विष्णु रुपिणे।
अग्रतः शिवरूपाय अश्वत्थाय नमो नमः अर्थात्, “पीपलको जरामा ब्रम्हा, काण्ड (जरा र रुखबीचको भाग)मा विष्णु र त्यसमाथिको भागमा महादेव हुनुहुन्छ, यस्तो पीपललाई नमस्कार छ।”
मानिसको कुण्डलीमा निच वा कमजोर शनिग्रह छ भने साढेसाती, उल्का र शनिको महादशा, अन्तरदशामा ठूला नोक्शानी तथा विपत्ति आउन सक्छ। सबैबाट मुक्ति पाउन प्राणप्रतिष्ठा गरेको पीपलमा सूर्योदय पहिले पूजा गर्दा त्रय देवताको आशीर्वाद प्राप्त गरी शनिको कुप्रभाव एवं अनिष्टबाट मुक्ति पाउँछ।
अतीतानागते चोभे पितृवंशं च भारत।
तारयेद्वृक्षरोपी च तस्माद् वृक्षाश्च रोपयेत्।
-महाभारत (अनुशासन पर्व ५८।२६)
अर्थात्, “वृक्षरोपण गर्नेको पहिले र पछि हुने पितृको समेत मुक्ति हुन्छ, त्यसैले रूख रोप्ने काम गर्नु।” महाभारतका अनुसार वनबासका क्रममा युधिष्ठिरले भीमसेनलाई वनस्पति र प्रकृतिको दुरुपयोग नगर्ने उपदेश दिएका थिए।
महाकवि कालिदासले रघुवंशको दोस्रो सर्गमा अमूं पुरः पश्यसि देवदारुं पुत्रीकृतोसौ वषभ… को उल्लेख गरी भगवान् महादेवले देवदारु वृक्षलाई छोराको जस्तै स्नेह गरेको एवं पार्वतीले पानी बोकेर सिञ्चेको वर्णन छ। इन्धनका लागि हरियो रुख काट्नु अपराध मानिन्छ, काट्नै पर्ने भयो भने शास्त्रीय विधान पूरा गर्नुपर्छ।
शास्त्रअनुसार दश छोरा बराबर एक छोरी, दश छोरी बराबर एक वृक्ष मानिन्छ। समय, परिस्थिति, लक्ष्य, इच्छा आदिलाई ध्यानमा राखेर वृक्षलाई विभिन्न स्वरूपमा पुजिन्छ। वनझाँक्री, सिद्धमहापुरुषहरू जंगलमा बस्छन्। केही अघिसम्म वनझाँक्रीले मानिसलाई लगेर पढाई, सिकाई फर्काएको प्रशस्त घटना भेटिन्थे।
प्रेतदेखि ब्रम्हाराक्षससम्म रुखकै आडमा बस्छन्। सोमलतादेखि सञ्जीवनीबुटी वनस्पति नै हुन् जसले शरीरमा प्राणको सञ्चार गराउँछ। हाम्रो धर्मले रुखहरूलाई ऋषिमुनि र वनजङ्गललाई देवताको निबासस्थल मान्ने हुँदा तीर्थस्थलको शोभा बढेको छ। रुख काट्नुभन्दा पहिले कम्तीमा पाँचवटा बिरुवा रोप्ने नियम थियो।
रुख काट्यो तर रोपेन भने यमराजले यातना दिने विश्वासले बिरुवा र वन संरक्षण भयो। वनस्पतिले आँखाको तेज बढाउँछ, जंगलको शान्तिले दिमागलाई ताजा तुल्याउँछ, जङ्गलको पानीले औषधिको काम गर्छ। यसरी वनस्पतिको सम्बन्ध ध्यान, ज्ञान, वातावरण, शरीर र धर्मसँग जोडिएको छ।
तत्र पुत्रा भवन्त्येते पादपा नात्र संशयः।
परं लोकं गतः सोपि लोकानाप्नोति चाक्षयान्।
पुष्पैः सुरगणान्सर्वान् फलैश्चापि तथा पितृन्।
छायया चातिथीन्सर्वान्पूजयन्ति महीरुहाः।।
-शिवपुराण, (उमासंहिता १२।१८–१९)
अर्थात्, “अहिले रोपिएका रुखहरू अर्को जन्ममा छोरा भएर जन्मन्छन्, यसमा सन्देह छैन। रुखका फूलले देवतालाई, फलले पितृहरूलाई र छायाँले अतिथिहरूलाई पूजा गर्दछन्।” वृक्षले वातावरण संरक्षण गर्छ, पर्यावरण सुन्दर बनाउँछ, भूमिको सुरक्षा गर्छ, दैवी विपत्तिबाट जोगाउँछ।
चौतारो लगाउने, बाटाका छेउमा वृक्षरोपण गर्नेलगायतका कार्यले पापबाट मुक्ति हुने र फेरि जन्मनु नपर्ने धार्मिक विश्वास छ। मुक्तिको इच्छा राखेर ईनार, कुवा, बाटो, मठमन्दिर, घाट निर्माण गरी आसपासमा रुख हुर्काइन्थ्यो।
यस कार्यले नाग र वरुण देवता खुशी भई आशीर्वाद दिन्छन्, बाटोघाटोमा वृक्षरोपण गरे पितृमुक्त हुन्छन्, बटुवाको आशीर्वाद लाग्छ, पुण्य लाभ हुन्छ। यही धार्मिक विश्वास एवं आस्थाका कारण नेपालका अधिकांश भागमा विशाल वनजंगल संरक्षित थियो।
पीपल-नीम-बयरको एउटा, चिञ्चिणीक-कपित्थ-बेलको दशवटा, अमलाको तीनवटा एवं आँपको पाँचवटा रुख रोप्ने मानिसले नरक देख्नुपर्दैन। माथि उल्लिखित वृक्षहरू सबै औषधि, अक्सिजन र शितलताका लागि अत्यन्तै महत्वपूर्ण छन्।
पाटीपौवा बनाउने, अन्नक्षेत्र खोलिदिने, उकालो र अप्ठेरो बाटोमा सिँढी लगाई दिने, पानीको व्यवस्था मिलाइदिने लगायतका कार्य गर्नु प्रत्येक वैदिक धर्मका अनुयायीको कर्तव्य र परम्परा हो।
हाम्रा पुर्खाहरू यस्ता संरचनामा आफ्नो अभिलेख, शिलालेख राख्न रुचाउँदैनथे। परोपकारः पुण्याय पापाय परपीडनम् (उपकार गर्दा पुण्य, पीडा दिँदा पाप लाग्छ) भन्ने महाकाव्यलाई आत्मसात् गर्थे न कि पद-प्रतिष्ठाका लागि।
पद्मपुराणमा पीपल, अशोक, इमली, अनार आदि लगाउनाले क्रमशः सम्पत्ति, पापमोचन, दीर्घायु, असल श्रीमती प्राप्त हुने चर्चा छ। केही वर्ष अघिसम्म हरेक ठाउँमा होटेल आदिको व्यवस्था थिएन। समाज मिलेर यात्रीलाई सुविधा होस् भनी पाटी, पौवा, चौतारो, अन्नक्षेत्र, ईनार आदिको व्यवस्था गरिदिन्थे।
पुर्खाले ब्रम्हचर्य आश्रममा रही पढ्न एवं वानप्रस्थ र सन्न्यास आश्रममा परमात्माको चिन्तन-मनन गर्न पनि जङ्गलकै आश्रय लिन्थे। आरण्यकग्रन्थहरूको अध्ययन र अभ्यास गर्न जङ्गलमा बस्नुपथ्र्यो। आसन, योग, ध्यान, जप, तप जङ्गलमै गरिन्थ्यो।
त्यसैले ‘जहाँ जंगल उही मंगल भन्ने उखान आजसम्म उत्तिकै लोकप्रिय छ। अझ नेपालीहरूको जीवनचर्या प्रत्यक्ष वा अप्रत्यक्षरूपमा जङ्गलसँगै सम्बन्धित भएकाले ‘हरियो वन नेपालको धन भन्ने उखान अहिलेसम्म जीवन्त छ।
केटाको दोस्रो विवाह हुने सम्भावना चिनामा देखिए आँकमा सिन्दुर हाल्ने, केटीको दुईघरबार हुने ग्रह भएमा पीपलसँग विवाह गराएपछि मात्र वास्तविक विवाह गर्ने परम्परा छ। यज्ञलाई चाहिने समिधादेखि योगको समाधिसम्म जंगलको सहयोग चाहिन्छ। कापी (पेपर)को आविष्कार हुनुभन्दा पहिले भोजपत्रमा लेखिन्थ्यो जो रुखको बोक्रा हो। यसरी जीवनको हरपाटासँग वनस्पतिको सम्बन्ध छ।
तुलस्यां सर्वतीर्थानि तुलस्यां सर्वदेवता।
कार्तिके मासि तिष्ठन्ति नात्र कार्या विचारणा।।
अर्थात्, “कार्तिक महिनामा सबै देवता र तीर्थहरू तुलसीमा बस्दछन्, यसमा कुनै विचार गर्नुपर्ने काम छैन।” शिवपुराणका अनुसार शङ्खचूड नामक राक्षसकी श्रीमती तुलसी पतिव्रता थिइन्। यही धर्मका आडमा राक्षसले उपद्र मच्चाउन थाल्यो।
भगवान् विष्णुले तुलसीको पतिव्रता धर्म नष्ट गरिदिएपछि शङ्खचूड राक्षस मारियो। पतिको देहान्तपछि तुलसीले विष्णुलाई ढुंका हुने श्राप दिइन्। भगवान् विष्णुले श्रापको बदलामा तुलसीलाई मुक्ति र पूज्या हुने वरदान दिनुभयो। विष्णुबाट श्रापको बदला आशीर्वाद पाएपछि तुलसीलाई ज्यादै पछुतो लाग्यो।
तब महादेवले विष्णु र तुलसी दुबैलाई सम्झाउँदै ‘तुलसीलाई गण्डकी नदी र विष्णुलाई शालग्राम हुन प्रेरणा दिनुभयो। तिनै तुलसीलाई घर–घरमा मठ बनाएर पूजाआजा गर्दछौँ। जसको तुलना अरुसँग गर्न मिल्दैन त्यसलाई तुलसी भनिन्छ।
यसकारण मृत्युको समयमा तुलसीको मठमा राखेर तीर्थस्थल एवं शालग्रामको जल खुवाई मुक्ति वा स्वर्गवासको कामना गरिन्छ। वैज्ञानिकहरूले मरणासन्न मानिसलाई तुलसीले श्वास फेर्न सजिलो तुल्याउने विश्वास गर्दछन्। पीपलपछि तुलसीले अन्य वनस्पतिको तुलानामा धेरै अक्सिजन दिन्छ। यसकारण वरपीपलको चौतारो बनाइन्छ।
अन्त्येष्टी गर्दा चन्दन, तुलसीका दाउराको प्रयोग गरिन्छ। तुलसीस्पर्शनेनैव नश्यन्ति व्याधयो नृणाम् अर्थात् तुलसीको स्पर्शमात्रले पनि मनुष्यको रोग–व्याधि नष्ट हुन्छन्।
भौतिकवादीले त्यसलाई औषधिको रूपमा प्रयोग गर्दछन् भने अध्यात्मवादीले ‘तुलसीको फेदमा सबै तीर्थ, मध्य भागमा सबै देवता, माथिल्लो भागमा चारै वेदको निबासस्थल सम्झेर नमस्कार गर्दछन् ।
कफ वा खोकीले दुःख दिएमा, धेरै चिल्लो खाएमा, पिसाब रोकिएमा, पाचनक्रियालाई सक्रिय तुल्याउन, रगत शुद्धीका लागि तुलसीको पात महौषधि हुन्छ। यसको गरिमालाई बुझेर पछिल्लो समयमा तुलसीचियाको लोकप्रियता बढ्दै गएको छ। पाश्चात्यहरूले तुलसीमा विभिन्न किटाणु र व्याक्टेरिया मार्ने शक्ति छ भनी प्रमाणित गरेका छन्।
तुलसीविटप स्थानं गृहे यस्यावतिष्ठते।
तद्गृहं तीर्थरूपं हि न यान्तिमकिंकराः।
तुलसीमञ्जरीयुक्तो यस्तु प्राणान्विमुञ्चति।
यमस्तं नेक्षितं शक्तो युक्तं पापशतैरपि।-गरुडपुराण (९।७-८)
अर्थात्, “जुन घरमा तुलसी छ, त्यो तीर्थस्थल हो। त्यहाँ यमराजका दूत आउन सक्दैनन्। जो मानिसले कोपीलायुक्त तुलसीनजिक प्राण छोड्छ त्यसका करोडौँ पाप नाश हुन्छन् र यमलोकमा जानुपर्दैन।” वनस्पतिले मानिसलाई अकाल मृत्युबाट बचाउँछ र मृत्युपछि मुक्ति दिन्छ ।
वनस्पतिको गरिमा बुझेर देवीदेवतादेखि ऋषिमुनिहरूले वृक्षरोपण र पूजनलाई निरन्तरता दिए। किन्नर, सर्प, राक्षस, देवता, गन्धर्व, मानिस र ऋषिगण आदिको आश्रयस्थल रुख हो । रुखको संरक्षण गर्नु भनेकै प्राणी र प्रकृतिको संरक्षण गर्नु हो, परमात्माको साँचो पूजा हो।
पार्वतीले महादेवलाई पतिरूपमा पाऊँ भनी आँपको रुखमुनि तपस्या गर्नुभएको थियो। गौतम बुद्धलाई जन्माउँदा मायादेवीले सालको हाँगा समातेकी थिइन्, त्यसैले गौतम बुद्धको वंशलाई शाक्यमुनि भनियो। गौतम बुद्धले पीपलको रुखमुनि बसेर तपस्या गरेका थिए, जसलाई बोधीवृक्षको नामले चिनिन्छ।
जीवनको अन्तिम समयमा गौतम बुद्ध कपिलवस्तु फर्कदै गर्दा बाटोमा अचानक बिरामी परे। कुशीनगरका नरेशले बुद्धलाई बस्न सजिलो हुने गरी सालको रुखमा झलुंगा बनाइ दिएका थिए। विष्णुको नाभीमा उत्पन्न कमलमा ब्रम्हाजी बस्नुभएको छ।
सरस्वतीले कमलकै फूलमा आसन बनाउनुभएको छ। भगवान् रामले शमीको पूजा गरी प्रदक्षिणा गर्दा शमी खुसी हुँदै रावणमाथि विजय गर्ने आशीर्वाद दिएका थिए। लंका विजयपछि राम र सीताले शमीको पूजन गरेको विषय रामायणमा पाइन्छ। पाँच पाण्डवले गुप्तबास जाने समयमा शमीकै वृक्षमा आफ्ना हतियारहरू राखेका थिए।
वनस्पतिले पानी उत्पन्न गर्दछ, पानी बर्साउँछ, अक्सिजन दिन्छ, आगो उत्पन्न गर्दछ अर्थात् पञ्चतत्वको आश्रय वनस्पति हो। वन विनाशले कैयौँ प्राणीहरूको विनाश गराएको छ, केही लोपोन्मुख अवस्थामा पुगेका छन्। दक्षिणतर्फ धेरै जंगल भएकै कारण नेपालमाथि अङ्ग्रेजहरूले तुरुन्तै आक्रमण गर्न सकेनन्।
वृक्षका विविध महत्ता बुझेर शुक्लयजुर्वेदको १२औं अध्यायमा विस्तृतरूपले वर्णन गरेको छ। जनता त के स्वयं राजा राम र युधिष्ठिरहरूले राज्य छाडेर वनलाई आश्रयस्थल बनाएका थिए। मानिसको तनावलाई कि त जलले, कि त जंगलले छिटो तानिदिन्छ।
तनाव हुना साथ जंगलमा मौन बस्ने, रुखहरूलाई हेर्ने, वृक्षको आवाज सुन्ने प्रयास गर्ने हो भने तुरुन्तै सुधार हुन्छ। छारेरोगीलाई सल्लाको रुखमुनि बस्दा लाभ पुग्छ। मानिसलाई नोक्शान गर्ने तरड्डलाई रुखले परावर्तन गरिदिन्छ। यसकारण जङ्गमा मोबाइलको नेटवर्कले काम गर्दैन।
वनस्पति र सनातनधर्म, वनस्पति र औषधि, वनस्पति र धन, वनस्पति र साधना प्राचीन कालदेखि एक अर्काका परिपूरक मानिन्छन्। जुन ग्रहमा वनस्पति छैन त्यहाँ न त प्राणी छन्, न त पानी छ, न त जीवनको संभावना छ।
वनस्पति जगत्कै आधार हो। पृथ्वी र ब्रम्हाण्ड संरक्षक मानेर वनस्पतिलाई देवीदेवताका रूपमा पूजेर वृक्षरोपणमा वृद्धि गर्न वैदिक धर्म, संस्कृति र परम्पराले जोड दिएको छ। यसैले हामी रक्षक र संरक्षका सन्तान हौँ, वनस्पतिका मित्र हौँ।
Facebook Comment