कविता : संघर्ष

म बेचिएको मान्छे
म किनिएको मान्छे
आमा-तिम्रो कोखबाट जन्मे पनि
न भएँ विदेशको
न रहेँ स्वदेशको
कति ठाउँ बेचिनु
कति ठाउँ किनिनु
यो हारै हारको दौरानमा
संघर्षरत् मनको हत्या गरिएको मान्छे
मौन पीडा
घेरिए चारैतिरबाट
न भाग्न सकेँ
न बोल्न सकेँ
ठाँउको ठाँउ समातिएँ
शासै फेर्न मुस्किल पारिएँ
समातिए सँगै जिउँदै मारिएँ
कहाली लाग्दो भूमरीमा पारिएँ
एक्कासी आकाशै झर्याे
उभिएको धर्तिनै फाट्यो
चक्रव्यूहको माझमा
अब म हात खुट्टामा जन्जिर बाधिएको मान्छे
कपाल मुण्डन गराइएको मान्छे
शिर निहुराइएर ल्याइएको मान्छे
बाख्रा जस्तै घिस्याइएको मान्छे
पहिचान गुमाएको मान्छे
स्वाभिमान र अस्तित्व लुटिएको मान्छे
निरह बन्दी
चारो खोज्न निस्केको चरी
उड्दा उड्दै सिकारीले घाइते पार्याे
भालेको फर्खाइमा बसेकी पोथी पनि
सिकारीको पासोमा परी
कुवामा पानि लिन गएको मान्छे
न ल्याउन सकेँ पानी
न गाग्रोनै ल्याउन पाएँ
रित्तै रित्तै आएँ
टुटेको सपना-फुटेको ऐना
उताबाट खेदिएको मान्छे
एता पनि वास्ता नगरिएको मान्छे
अलपत्र परेको मान्छे
बाटोनै हराएको मान्छे
सबै ढोका बन्द जेल
कता जाउँ अब
न यता न उता
कतै पनि ठाउँनै रहेन
जसो गरे पनि भएन
बिचल्ली
म आफै एक संघर्ष
भित्र अनि बाहिरको संघर्ष
कति गाह्रो संघर्ष
पल पलको संघर्ष
जीवन र मृत्युको संघर्ष
आश र त्राश सँगको संघर्ष
निरन्तर जारी संघर्ष-तर
केवल रोजी रोटीको संघर्ष
जहाँबाट शुरु भयो
त्यहीँ अन्त्य भएको संघर्ष
निष्ठुरी संघर्ष
Facebook Comment