तिलगंगाबाट हराएको सामान फत्तेबाल आँखा अस्पतालमा भेटियो, तिलगंगाकै पूर्व कर्मचारी पक्राउ

डिसी नेपाल
२६ वैशाख २०८२ १३:३०
3.8k
Shares

काठमाडौं। तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंबाट लाखौं मूल्य पर्ने शल्यक्रिया उपकरण चोरी गरेर नेपालगञ्जको फत्ते बाल आँखा अस्पताललाई बिक्री गरेको आरोपमा तिलगंगा आँखा अस्पतालकै एक पूर्व कर्मचारी फेला परेका छन्।

तिलगंगामा काम छोडेपछि मेडिकल उपकरणको व्यापार गर्न थालेका हरिनारायण भिनवार चोरी आरोपमा पक्राउ परेका हुन्।

भिनवारमाथि तिलगंगा आँखा अस्पतालले किनेर आफ्नो काममा प्रयोग गरिरहेको मोतिविन्दुको शल्यक्रियामा प्रयोग हुने फाको ह्याण्डपिस चोरी गरेर नेपालगञ्जको फत्तेबाल आँखा अस्पताललाई बिक्री गरेको आरोप लागेको छ। प्रहरीले उक्त उपकरण फत्तेबाल आँखा अस्पतालबाट बरामद समेत गरिसकेको छ। आरोपी भिनवारविरुद्ध मुद्दा दर्ता भइसकेको छ।

अनुसन्धानमा खुलासा भएअनुसार ६ वर्ष अघिसम्म भिनवार तिलगंगा अस्पतालमै कार्यरत थिए। जागिर छोड्नुभन्दा दुई वर्ष अगाडि उनले आफ्ना सालासँग मिलेर श्रेयसी इन्टरप्राइजेज नामको मेडिकल उपकरण बिक्री गर्ने कम्पनी पनि खोलेका थिए। हराएको सामान सोही कम्पनीबाट बिक्री भएको दाबी गरिएकाे  छ।

यो उपकरण तिलगंगाले भ्याटबाहेक ५ लाख ५८ हजारमा खरिद गरेको थियो। अनुसन्धानमा यो उपकरण अस्पतालले ग्रामीण क्षेत्रमा आँखा शिविर संचालन गर्दा प्रयोग गर्ने गरेको र अस्पतालकै कर्मचारी नामखेन लामाको जिम्मामा रहेको खुलेको छ। लामाको जिम्मामा यस्ता तीनवटा फाको ह्याण्डपिस रहेकोमा अहिले २ वटा मात्रै रहेको र एउटा हराएको समेत खुलेको छ।

स्विट्जरल्याण्डको ओएर्टली ब्राण्डको यो उपकरण नेपालमा बिक्री गर्ने एकमात्र बिक्रेता वैष्णो मेडिसेल्स रहेको र अन्यत्रबाट यो सामान खरिद गर्न नसकिने अस्पतालकै कर्मचारीहरु बताउँछन्।

आरोपी भिनवारले आफूलाई फत्तेबाल आँखा अस्पतालले यो सामान खरिद गर्न माग गरेकोले आफूले भारतबाट खरिद गरेर अस्पताललाई बिक्री गरेको बताए पनि यो सामान आफूले खरिद गरेको र आफ्नो स्वामित्वमा रहेको प्रमाण पेश गर्न नसकेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

जिल्ला अदालत काठकाडौंमा यस विषयमा मुद्दा चलिरहेको छ र भिनवार  १ लाख धरौटी बझाएर छुटेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *