बराहपोखरीका ४१ वटा योजना सम्पन्न

डिसी नेपाल
२६ वैशाख २०८२ २३:२०
36
Shares

खोटाङ। यहाँको बराहपोखरी गाउँपालिकामा यस आर्थिक वर्षमा ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न भएका छन्। गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा दिइएको जानकारीअनुसार सम्झौता गरिएकामध्ये २६ वटा योजना सम्पन्न हुन बाँकी छन्।

गाउँपालिकाले चालु आर्थिक वर्षको कूल बजेटमध्ये ५८.५७ प्रतिशत खर्च गरेको लेखा अधिकृत छत्रबहादुर बानियाँले जानकारी दिए। लेखा अधिकृत बानियाँका अनुसार चालुतर्फ ६३.६४ र पुँजीगततर्फ ४७.९४ प्रतिशत बजेट खर्च गरेको हो।

चालु आर्थिक वर्षका लागि गाउँपालिकाको बजेट रु ३२ करोड ९२ लाख ३५ हजार छ। संघीय समानीकरणतर्फ रु पाँच करोड ४६ लाख ७० हजारमध्ये हालसम्म रु चार करोड ४५ लाख ७५ हजार खर्च भएको छ। सशर्त अनुदानतर्फ रु १३ करोड ३८ लाख ४९ हजार प्रक्षेपण गरिएकोमा रु १० करोड चार लाख चार हजार आम्दानी हुँदा रु नौ करोड २० लाख ९५ हजार खर्च भएको छ।

गाउँपालिकामा बिहीबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयवासीले गाउँपालिकाबाट सम्पादित योजनामाथि जिज्ञासा राखेका थिए। उनीहरुले गाउँपालिकाबाट सम्पादन हुने कार्यक्रम जनमुखी बनाउँदै गुणस्तरमा ध्यान दिन सुझाव दिए।

गाउँपालिका प्रमुख शालिकराम बञ्जरा, उपप्रमुख भूबलराज राई, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारीलगायतले जिज्ञासाको जवाफ दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *