सुत्केरीको मृत्यु भएपछि बर्धमान अस्पताल घेराउ

डिसी नेपाल
२७ वैशाख २०८२ १६:२३
436
Shares

सिरहा । सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालमा चकित्सकको लापरर्वाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तजनले अस्पताल घेराउ गरेका छन्। मृत सुत्केरी महिलाको शव अस्पताल अगाडि राखेर परिवार तथा उनका आफन्तहरुले अस्पताल घेराउ गरेका हुन्।

मिर्चैया नगरपालिका वडा नं. ११ सितापुर गाउँकी ३० वर्षिया रामकाशी यादवलाई शुक्रबार राति सुत्केरी व्यथाले च्यापेपछि बर्धमान अस्पतालमा भर्ना गरिएको थियो। सामान्य रुपमा बच्चा जन्माउन सक्ने अवस्था छैन भन्दै अस्पातालका डाक्टर तेजशंकर यादवले शल्यक्रिया गरेर बच्चा निकालेका थिए।

दुई छोरीकी आमा रामकाशीले छोरा जन्माएकी थिइन्। नवजात शिशु सकुशल भएपनि मध्यरातबाट आमाको अवस्था बिग्रिँदै गयो। पत्नी गुमाएका सन्त यादव भन्छन् ‘मैले यहाँ उपचार सम्भव छैन भने तत्कालै रेफर गरिदिनुस् भनेर पटक पटक अनुरोध गरे। तर डाक्टरले यही ठीक भैहाल्छ भन्दै अल्झाएर राखे। जब राति २ बज्यो अनि बिराटनगर लैजाउ भनियो।’

बर्धमान अस्पतालले रेफर गरेपछि सुत्केरी रामकाशीलाई बिराटनगरतर्फ कुदाइयो। तर न्यरो अस्पताल नपुग्दै सुत्केरीको मृत्यु भयो। शनिबार बिहान ५ बजे अस्पताल पुर्‍याउने बित्तिकै त्यहाँका डाक्टरले मृत घोषित गरिदिए।

मृतकका पति सन्त यादव भन्छन्, ‘शरीरबाट धेरै रगत बगेको भनेर रगत चढाउने भनियो। हामीले रगत ल्याएर पनि दियौं तर सही उपचार नपाएर मेरी पत्नीको ज्यान गयो।’ यो ज्यानमारा अस्पताल र डाक्टरलाई कारवाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने उनले माग गरे।

अस्तपाल अगाडि मृतकको शव तेस्र्याएर प्रदर्शन सुरु भएपछि इलाका प्रहरी कार्यालय गोलबजारले शल्यक्रिया गर्ने डाक्टरलाई पक्राउ गरेको छ। प्रहरी निरीक्षक गोविन्द साहले भने आवश्यक सोधपुछ र अनुसन्धान भइरहेको छ। तोडफोड हुन नदिन प्रहरी परिचालन गरिएको छ। गम्भीर मामिला भएकोले जिल्ला प्रहरी कार्यालय सिरहाबाट नायव प्रहरी उपरीक्षक बीरेन्द्र पासवान पनि घटनास्थलमा पुगेका छन्।

बर्धमान अस्पतालमा ५ महिना अघि पनि शल्यक्रिया गरेर बच्चा निकालिएको एक सुत्केरीको मृत्यु हुँदा परिस्थिति तनावग्रस्त भएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *