कमल नगर अस्पतालमा भिडियो एक्स-रे सेवा विस्तार

डिसी नेपाल
२१ साउन २०८३ १७:५९

भद्रपुर (झापा)। कमल नगर अस्पतालमा अब विशेषज्ञ रेडियोलोजिष्टमार्फत नियमित भिडियो एक्स-रे (अल्ट्रासाउन्ड) सेवा सञ्चालन हुने भएको छ। अस्पतालमा हरेक सोमबार र बिहीबार भिडियो एक्स-रे सेवा उपलब्ध हुने अस्पताल प्रशासनले जनाएको छ।

कमल गाउँपालिकाका अध्यक्षसमेत रहनुभएका नगर अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष हुकुमसिंह राईको पहलमा आम्दा मेची अस्पतालसँगको सहकार्य गर्ने सम्झौता भएको हो। सम्झौताअनुसार आम्दा अस्पतालका रेडियोलोजिष्ट डा देवकृष्ण यादवले नगर अस्पतालमा हप्ताको दुई दिन सेवा दिनेछन्।

उक्त सम्झौताअनुसार आगामी सोमबारदेखि औपचारिक रूपमा सेवा सुरु हुनेछ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक दाहालका अनुसार सेवा विस्तारसँगै स्थानीय गर्भवती तथा अन्य बिरामीले सामान्य परीक्षणका लागि अन्यत्र धाउनुपर्ने बाध्यता हट्नेछ।

कमल नगर अस्पतालले पछिल्लो समय विशेषज्ञ स्वास्थ्य सेवाको विस्तारलाई निरन्तरता दिँदै आएको छ। अस्पताल प्रमुख कुशल श्रेष्ठका अनुसार यसअघि दमक अस्पताल एण्ड रिसर्च सेन्टरको सहकार्यमा दन्त सेवा, मेची आँखा अस्पतालमार्फत दैनिक आँखा सेवा तथा विराट टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको सहकार्यमा मानसिक स्वास्थ्य विशेषज्ञ सेवा सञ्चालनमा ल्याइसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *