कथा : विवाह

प्रकाशचन्द्र खतिवडा
३ जेठ २०८२ ७:०४

मैले विवाहको बारेमा केही सोच बनाएकै थिएन।  एक्कासि विवाहको प्रस्ताव आउँदा मैले जवाफ  दिनै सकिन। अकल्पनीय कुरा झ्वाट्ट आइपर्दा  मान्छेले तुरुन्तै निर्णय लिएर जवाफ दिन गाह्रै हन्छ।

म दिङ्लामा शिक्षण गर्थें। करिब पाँच वर्ष  हुन लागेको थियो मैले शिक्षण गरेको। म स्थायी शिक्षक भई सकेको थिएँ। भोजपुरको दिङ्ला बालगुरु षडानन्दको जन्म थलो र कर्म थलो हो।  दिंलालाई पवित्र भूमि मानिन्छ। म दिंलाको  कटहरे वितलपमा शिक्षण गर्थें। दिङ्ला मेरो मावली  गाउँ हो। दिंलाका लम्साल मेरा मावली हुन्।

मैले  आठ कक्षा देखि एस.एल.सी. सम्मको शिक्षा मावल बसेर नै सिध्याएको थिएँ। अहिले पनि मेरो बसाई मावली घर मै थियो। मावलमा हजुरआमा र ठुली आमा हुनुहुन्थ्यो। मेरा आफ्नै एकाघरका मामाहरु  हुनु हुन्थेन।

सानीमा, ठूलीआमाहरु मात्रै हो। मेरी आमा साहिली छोरी हो। हजुरआमाको पालन पोषणमा माइली ठुलीआमा हुनुहुन्थ्यो। आफ्नै मामा नभए पनि म सबैको प्यारो भान्जो थिएँ। चाडपर्व र कार्जेहरुमा मेरो उपस्थिति अनिवार्य हुन्थ्यो। रमाइलो सँगै दिनहरु बितिरहेका थिए।

विद्यालयमा १५ दिने जाडो छुट्टी भएको थियो। म छुट्टी उपयोग गर्न तराई झरेको थिएँ। खासमा मेरो काम डिप्लोमा लाष्ट इयर परीक्षा फारम भर्नु थियो। पुसको महिना। तराईमा शित लहर चलिरहेको थियो। शित लहरले गर्दा जाडो बढेको थियो। हुस्सुले छेकेर वरपर केही देखिँदैन थियो। मेरो बसाइ बलिया झंकनाथ भान्दाइको घरमा थियो। तराई डुलेर दिङ्ला फर्कने तयारीका साथ म बलिया आइपुगेको थिएँ।

०५० पौस दोस्रो हप्ता हुनु पर्छ। गफकै सिलसिलामा दाइ भाउजूले मलाई विहेको प्रस्ताव राख्नुभयो। अब विवाह गर्नु पर्छ। केटी हेरेर विवाह टुंगो गरेर पहाड जानु भन्नुभयो। म अलमल्लमा परेँ। मैले म अहिले विवाह गर्दिन। मेरो लागि केटी नै जन्मिएको छैन भने। त्यसो भनेर कहाँ हुन्छ? अब त उमेर पनि भैसक्यो। विवाह गर्नै पर्छ भन्ने कुरा दाजु भाउजूले गर्नु भयो।

म २८ वर्षमा कुदिरहेको थिएँ। म घरको जेठो छोरो हुँ। विवाहको रोलक्रम मेरै थियो। बुवा आमा पहाडमै हुनुहुन्थ्यो। बुवा आमालाई नसोधी के विवाह गर्नु? के केटी हेर्नु? के विवाहको टुंगो गर्नु? भनेर म विवाहको भूँमरीबाट उम्कन खोजेँ।

बुवा आमालाई मनाउने जिम्मा हाम्रो भो। हामीले केटी हेरेर विवाह पक्का गरे पछि उहाँहरुले नाई भन्नु हुन्न भनेर दाजु भाउजूले अड्डी लिन थाल्नुभयो। प्रायः झंकनाथ दाइले भनेको कुरा आमा बुवा काट्नु हुन्न थियो। जग्गा पनि झंकनाथ दाइले नै हेहेर कर्जुनामा किनिएको थियो। झंकनाथ दाइमाथि आमा बुवाको विश्वास रहेको थियो।

म अलि क्रान्तिकारी स्वभावको छु। म कथा कविता पनि लेख्ने गर्छु। मेरो क्रान्तिकारिताको भाव कथा कवितामा प्रकट हुने गर्छ। मलाई पुरातन कुराहरुमा पुनः विचार गरिनुपर्छ भन्ने लाग्छ। पुरातन रितिथितिले हाम्रो अग्रगमनको बाटोमा तघारो हालि रहेको  छ।

हामीले खोजे अनुसारको विकाश र परिवर्तन हुन सकिरहेको छैन। कतिपय धार्मिक र सांस्कृतिक कुराहरुले हामीलाई परिवर्ततको बाटोमा हिँड्नलाई अवारोध गरिरहेको छ। समाजमा अझै पनि अन्धबाद कायमै छ। मान्छेहरु भाग्यबादमा अल्झिरहेका छन्।

म महेन्द्र मोरङ कलेज पढ्दा बामपन्थी समर्थित विद्यार्थी संगठन अनेरास्ववियुमा क्रियाशील थिएँ। म क्रान्ति र परिवर्तन चाहान्थेँ। आचरण र अनुशासनमा बहुतै ख्याल गर्थें। क्रान्तिकारीहरु असल चरित्रका हुन्छन् भन्ने कुरा जनमानसमा पार्न सकुँ भन्थेँ।

शिक्षण क्षेत्रमा प्रवेश गरे पछि पनि संगठित हुने क्रममा म नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध भएँ। विभिन्न पदमा रहेर काम गर्दै जाँदा साथीहरुको मन जितेर जिल्ला अध्यक्षसम्म बन्न सफल भएँ।

मैले दिङ्ला फर्कनु थियो। म दिंला फर्कने तयारी गरिरहेको थिएँ। दाइ भाउजु भने विवाहको कुरा उठाइ नै रहनु भएको थिएँ। कमसेकम केटी हेहेर त जा भनि रहनु भएको थियो। म कानमा बतास लाइ रहेको थिइन। म केटी हेर्ने र विवाह गर्ने लफडामा फस्न चाहन्नथेँ।

सबै कुरा आफूले भने जस्तो मात्रै कहाँ हुँदो रहेछर? जीवनमा कहिले हार त कहिले जित हुँदो रहेछ। हार जितको यात्रा नै त जिन्दगी रहेछ। मैले हारेँ वा जितेँ। मैले छुट्टाउन सकिन।

अन्ततोगत्वा दाइ भाउजुको कुरा काट्न नसक्ने अवस्थामा पुगेँ म। मैले केटी हेर्न जानु पर्ने भो। मिले विवाहको तिथीमिथीसमेत तय गर्नु पर्ने भो। केटी देखाउने र कुराकानी चलाउने जिम्मा झंकनाथ दाइले लिनुहुने भो।

अब मलाइ म एउटा भूमरीमा फँस्दैछु जस्तो लाग्यो। विवाह कुनै ख्याल ठट्टाको विषय थिएन। जिम्मेवारी बोधले सताउन थाल्यो। डरले मुटु ढुकढुक गर्न थाल्यो।

पारिवारिक जिम्मेवारी वहन गर्न सकुँला त? भन्ने चिन्ता थपियो। विवाह कसरी गर्ने? किन गर्ने? कहाँबाट गर्ने? कस्तो गर्ने? भन्ने जस्ता प्रश्नहरु दिमागमा सल्बलाउन थाले। म चिन्तामुक्त हुन सकिन। तनाब बढ्दै गयो।

गत वर्षको श्रावण महिनामा म जन्डिसले थलिएको थिए। जन्डिस बिग्रिएर आराम हुन लामो समय कुर्नु परेको थियो। जन्डिसको उपचार नै हुँदो रहेनछ। आफैंले मुख बार्ने, खानपिनमा ध्यान दिने र आराम गर्ने गर्नुपर्ने रहेछ।

अरु रोगको जस्तो खाने औषधि नहुँदो रहेछ। करिब ३ महिनाको समय गुजारेर म ठिक भएको थिएँ। पिसाबमा इन्फेक्सन र कलेजो सुन्निएको कारण म औषधि सेवन गरिरहेको थिएँ। मैले एक वर्ष औषधि सेवन गर्नु पर्ने थियो।

स्वास्थ्य अवस्था ठिक नभएको कारण एक वर्ष म विवाह नगर्न चाहान्थेँ। एक वर्ष पछि त विवाह गर्नु नै थियो। म सँग कुनै केटीको प्रेम थिएन। मैले मागि विवाह गर्नु पर्ने थियो। पहिले छोरी दिन आउँथे अरे।

अहिले माग्न जाने चलन आयो रे। माग्दा पाइने कस्तो बस्तु हो छोरी? सजिलै दान गर्न मिल्ने। छोरा माग्दा चै के हुने? अनुत्तरित प्रश्नले मलाई गिज्याइरहे जस्तो लाग्छ। धर्म र परम्पराको नाममा हामी छोरी माथि अन्याय गरिरहेका त छैनौं?

म क्रान्तिकारी विवाह गर्न चाहन्थेँ। मलाई परम्परा र बैदिक विवाह पद्दति ठिक लागि रहेको थिएन। म कलेज पढ्दा केही साथीहरुको क्रान्तिकारी विवाहमा सरिक भै सकेको थिएँ। खासगरी हरि बैरागी दाइको खोर्सानेमा भएको विवाह एक नमुना क्रान्तिकारी विवाह थियो।

बेहुला बेहुलीले भाषण गर्ने। हात मिलाइ एकापसमा अंकमाल गर्ने। न त्यहाँ जग्गे थाप्नु पर्‍यो। न कुनै दान गर्नु पर्‍यो। न कुनै दाइजोको लेनदेन नै गर्नु पर्‍यो। न त्यहाँ बेहुलीले बेहुलाको खुट्टा ढोग्नै पर्‍यो। न बेहुला बेहुलीको गोडा नै धुनु पर्‍यो। नितान्त नयाँ विवाह। समान हैसियत। समान जिम्मेवारी।

विवाह गर्दा विचार मिल्नु पर्‍यो। मन मिल्नु पर्‍यो। हैसियत मिल्नु पर्‍यो। उमेर मिल्नु पर्‍यो। तब मात्रै त्यो जोडीको विवाह हुन सक्छ। अन्यथा गरी गरिएको विवाह सुमधुर नहुन सक्छ विचार मिलेन भने टकराब बढ्न सक्छ। मन मिलेन भने तनाब बढ्न सक्छ। हैसियत मिलेन भने उँचो निचोको भावना पैदा हुन सक्छ। तब कसरी घरजम सुन्दर होला र।

विभिन्न प्रश्नहरुले मलाई पिरोलिरहेकै थियो। तथापि मैले केटी हेर्न जानु नै थियो। विवाहको तिथि मिति तय गर्नु नै थियो। मनमा द्वविधा उब्जिरहेकै थियो। विचार मिल्ने, भावना मिल्ने, मन मिल्ने, हैसियत मिल्ने र उमेर मिल्ने सम्भावना कहाँ होला र? कुनै न कुनै एक कुराको कमजोरी रह्यो भने त्यो विवाह सार्थक नहुन सक्छ। पछि लमीले समेत गाली खानु पर्छ।

के विवाह गर्ने सन्दर्भमा केटीको मनोभावना बुझिन्छ त? उसको के विचार छ? उ विवाह गर्ने पक्षमा छ कि छैन? उसका चाहनाहरु के के छन्? के उसले भने जस्तो विवाह हुन सक्छ? भन्ने जस्ता विषयमा कहिल्यै छलफल चलाइएको छ त? मलाई लाग्छ यी विषयलाई धेरै बावु आमाले सोच्नु नै भएको छैन।

छोरीहरुले बावु आमाको भनाई मान्नै पर्ने बाध्यात्मक परिस्थिति रहि रहेकै छ। यसरी एउटी नारी कसरी स्वतन्त्र हुन सक्छ। उसले उसको अस्मिता कसरी बचाउन सक्छे?

म चाहन्छु। नारी सम्मान योग्य हुनुपर्छ। नारीले उसको हक अधिकार उपयोग गर्न पाउनु पर्छ। के म यी कुराप्रति संवेदनशील छु त? मेरो घर, मेरो समाज नारी स्वतन्त्रता दिन तयार छ त? नारा लगाए जस्तो के साँच्चिकै म नारीवादी हुन सक्छु त?

मैले धेरै विषयमा केटीसँग गम्भिर छलफल गर्नुपर्ने हुन्छ। म हचुवाको भरमा विवाह गर्न चाहन्न। विवाह बारे मेरो धारणा बनाउन मलाई पर्याप्त समय चाहिन्छ हतारमा विवाह गर्नु कदापि ठिक हैन। मैले गर्ने विवाह बलजफ्ती र करकापमा हुन सक्दैन।

मैले गर्ने विवाह दाइजो मुक्त हुनेछ। मैले गर्ने विवाहमा तडकभडक हुने छैन। मैले गर्ने विवाहमा ठुलो भोज भतेर हुने छैन। जब मन मिल्छ। जब कुरा मिल्छ। तब मात्रै विवाहको टुंगो हुनेछ। विवाह बोझ नहोस। त्यो सरल यात्रामा चल्न सकोस्।

मानसिक रुपमा म विवाहप्रतिको एक खाले धारणा बनाएर झंकनाथ दाइको पछि लागेर उर्लाबारी केटी हेर्न जाने भएँ। कुरो मिल्ला या नमिल्ला? मेरो विवाह होला या नहोला? यहाँहरुलाई कौतुहल लाग्न सक्छ। म आफैँ पनि कौतुहलतामा थिएँ। मैले कसरी प्रस्तुत हुने होला भनेर सोची रहेको थिएँ। मलाई एक किसिमको डरले खेदी रहेको थियो।

  सुन्दहरैंचा-६, दुलारी, मोरङ
kpchandra2023@gmail.com




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *