वरिष्ठ साहित्यकार होमनाथ सुवेदीलाई कतारमा अभिनन्दन

दोहा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार होमनाथ सुवेदीलाई कतारमा रहेका दुई साहित्यिक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारले स्रष्टा अभिनन्दन र सम्मान गरेको छ।
दोहाको गोरखाली रेस्टुरेन्टको सभाहलमा बुधबार राति भएको अनेसास, नवोदित साहित्यिक रचना वाचन शृङ्खलाको १५८औं डबली तथा ८९औं पारिजात जयन्तीको अबसर पारेर ट्रान्जिटमा कतार आएका साहित्यकार सुवेदीलाई नेपाली दूतावास दोहा कतारका प्रथम सचीव कृशु क्षेत्री, यादव रेग्मी र सानू थपलियाले स्वागत गरेका थिए।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक सुवेदी यसअघि पनि गोधूलि वाङ्गय शिखर, अरनिको अभियान, नोवेल साकोस साहित्य संस्था, संस्कार समाज नेपाल, एन्जल्स् वर्ल्ड इन्टरनेशनल एकेडेमी, पौरखी हातहरू, राष्ट्रिय पत्रिका परिवार जस्ता संघसस्थाबाट अभिनन्दित भएका छन्।
नेपाली दूतावासका प्रथम सचीव कृशु क्षेत्रीले होमनाथ सुवेदीद्वारा लेखिएको नन्दादेवी सुवेदी विषयक कृतिको बारे संक्षिप्तमा जानकारी दिँदै उक्त गजल खण्डकाव्य बारे आफुले भुमिका लेख्न पाएकोमा गर्व गर्दै ‘नन्दनी’ पठनिय रहेको बताए।
दोहामा रहेका दर्जनौं साहित्यकार र विशिष्ट श्रोताको उपस्थितिबीच सम्पन्न भएको कार्यक्रममा बोल्दै प्रमुख अथिति सुवेदीले नेपाली भाषा र साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न नेपाली दूतावासले अहम् भूमिका खेल्नुपर्नेमा जोड दिँदै डायसपोराअन्तर्गतको कतार गजलकारहरूका लागि उत्कृष्ट उद्गम स्थान रहेको बताए।
उनले गजल, कविता र मुक्तक सुनाएर मात्रै नपुग्ने र संस्थागत सहयोगमा पालैपालो साहित्यकारको कृति प्रकाशन गर्दै जान पनि सुझाव दिएका थिए। कार्यक्रममा दोहाका साहित्यकारले गजल , कविता , मुक्तक र रचना सुनाएका थिए।
Facebook Comment