बाढीकाे कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा
अदानचुली (हुम्ला)। यहाँको नाम्खा गाउँपालिका–६ लिमीको तिलगाउँमा आएको बाढीपहिराकाे कारण पत्ता लगाउन सरकारी विज्ञ टोली आज आइपुगेका छन्।
बाढीपहिरोको एक हप्तापछि उनीहरु सदरमुकाम सिमकोटबाट तिलगाउँ प्रस्थान गरेका हुन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इञ्जिनियर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली घटनास्थलतर्फ प्रस्थान गरेका हुन्।
टोलीमा जल तथा मौसम विज्ञान विभागका ‘हाइड्रोलोजिस्ट’ इञ्जिनियर सौहार्द जोशी र खानी तथा भू–गर्भ विभागका सिनियर डिभिजनल ‘जिओलोजिस्ट’ शिवकुमार बास्कोटा छन्। खराब मौसमका कारण विज्ञहरुको टोली आउन केही दिन ढिला भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए।
यही जेठ १ गते राति बाढी आउँदा हुम्लाको नाम्खा गाउँपालिका–६ को तिलगाउँमा क्षति पुगेको थियो। बाढीपहिरो प्रभावित अहिले पनि त्रिपाल टाँगेर बसेका छन्। करिब पाँच हजार ३०० मिटरमाथिका दुई वटा हिमपोखरीबाट बगेको पानीले बाढीको रुप धारण गरेको प्रारम्भिक अनुमान छ।
स्थानीय आफैँ पोखरीसम्म पुगेर बाढी आउनुका कारण पत्ता लगाएका थिए। तर पोखरीको पानी कसरी बाहिर निस्कियो भन्ने वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी छ। काठमाडौंबाट आएको विज्ञको टोलीले वैज्ञानिक कारण पत्ता लगाउने अपेक्षा गरिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment