प्रकाशचन्द्र खतिवडाका तीन कविता
१. परिवर्तन
यो संसार-यो सभ्यता-यो मानवता
एकोहोरो रोइ बस्यो
तनाशाहहरुको
वन्दीगृह बनेर।
धरती पुत्रहरु
जो परिश्रमी थिए
जो सिप र सिर्जनाका नायक थिए
दिन -रात
बाँच्ने क्रम -उपक्रममा
तानशाहहरु द्वारा
बर्बर यातना दिँदै
निमोठ्दै फ्याक्दै गरिएका थिए।
तिनीहरु बाँचेर मोर्चा बनाए
ओ महाशय!
तानाशाहहरुको आसन डगमगाउनु पर्ने
झ्यालखानाले रोक्न सक्दैन क्रान्ति
तिमीहरुले थुपारेका
बन्दुकले छेक्न सक्दैन स्वतन्त्रता
हतकडीले बाध्न सक्तैन मुक्ति
म त परिवर्तन चाहने मान्छे
तानशाहहरुले नछेके हुन्छ
म
झ्यालखानाको दिवार तोडेर
यात्रामा निस्किएको छु
बन्दुकका नालहरु कुल्चँदै
विजयको झण्डा बोकेर।
(०४४ फाल्गुण , भोजपुर हिरासत बाट रिहाइ भएर घर आइपुगेको साँझ)
२. सन्धी भंग
नाकाहरु बन्द भए खुलेआम
भर्खरै हल्ला चलेको हो
बत्ती बलेन कोठामा
अचार भएन भान्सामा
जवकि नुन र तेल
कैदमा पर्यो।
मान्छेहरु बजारमा थिए
बोलतहरु थिए
ग्यालनहरु थिए
शून्यतावोध झल्कदा अनुहारमा
सन्धी भंग भै सकेको थियो।
गाडी ग्यारेजमा थियो
फ्याक्ट्री तालाबन्दमा
विद्यार्थी घर घरमा थिए
जवकि एउटा घनिष्ठ मित्र भनाउने
तगारो लगाउन व्यस्त थियो।
अस्पतालमा भयावह
रुवावासि थियो
बालकले उपचार पाउन सकेन
युवक म¥यो सित्तैमा
जवकि मृत्यु छटपटाएको बेला
औषधि कैदमा पर्यो।
मान्छेहरु नियतिको पञ्जा भित्र परे
मानवता रोइ बस्यो आँसु झार्दै
समय गतिरोध झेलिरहेछ
सन्धी भंग पछिको एक रात।
(मरिचमान कालीन भारतीय नाका बन्दीलाई लक्षित गरिएको)
३. कर्फ्यु जारी छ
तँ नहिँड्
तिमी नहिँड
तपाईं नहिड्नोस्
हजुर नहिँडि बक्स्योस्
कर्फ्यु जारी छ ।
तँ नलेख्
तिमी नलेख
तपाईं नलेख्नोस्
हजुर नलेखि बक्स्योस्
कर्फ्यु जारी छ।
तँ नबोल
तिमी नबोल
तपाईं नबोल्नोस्
हजुर नबोलि बक्स्योस्
कर्फ्यु जारी छ।
तैले सुनिनस्
तिमीले सुनेनौं
तपाईंले सुन्नु भएन
हजुरले सुनि बक्सिएन
कर्फ्यु जारी छ।
तँ
तिमी
तपाईं हजुर
हामी कसैले सुनेनौ
हामी यात्री हौँ
यात्रा रोक्न मिल्दैन
कफ्र्यु जारी भएर के भो ?
हामी कर्फ्यु भित्र अल्मलिन चाहान्नौँ
हाम्रो गन्तव्य टाढा छ
हामीलाई जान देउ
हामीले क्षितिज चुम्नु छ
तिम्रो कर्फ्यु तोडेर ।
(०४६ को जनआन्दोलन ताका लगाइएको कर्फ्यु प्रति)
सुन्दहरैंचा-६, दुलारी, मोरङ
No ads found for this position


Facebook Comment