गृहमन्त्रीको राजीनामाबाट पछि हटे प्रतिपक्ष, संसद खुलाउन रास्वपाको पाँच बुँदे प्रस्ताव

डिसी नेपाल
२७ जेठ २०८२ ७:२४

काठमाडौं। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाउँदै निरन्तर संसद अबरोध गर्दै आएका प्रतिपक्ष दल सो मागबाट पछि हटेका छन्। तर सो विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडानबाट भने प्रतिपक्ष दल टसमस भएका छैनन्।

गृहमन्त्रीको राजीनामाबाट प्रतिपक्ष दल पछि हटेपछि कांग्रेस एमाले आन्तरिक छलफलमा जुटेका छन्। सहमतिको प्रयासका लागि भन्दै प्रतिनिधिसभाको बैठक बुधबारका लागि बोलाइएको छ। मंगलबारसम्ममा सहमति खोज्ने उनीहरुको तयारी छ।

भिजिट भिसा प्रकरणमा माओवादी केन्द्र, रास्वपा, राप्रपा र एकीकृत समाजवादीसहितका प्रतिपक्ष दलले १३ जेठदेखि निरन्तर संसद अवरुद्ध पार्दै आएका छन्। तर उनीहरुले १५ जेठमा बजेट ल्याउन भने दिएका थिए।

उता रास्वपाले संसद् अवरोध हटाउन सहमतिका लागि सत्तारूढ दल नेपाली कांग्रेसलाई पाँच बुँदे प्रस्ताव गरेको छ। रास्वपाले यसअघिका वार्ताका आधारमा सहमतिको खाका तयार गरी कांग्रेसलाई पठाएको छ।

जसमा भिजिट भिसाको नाममा भएको मानव तस्करी र सांगठनिक अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगहरूको संलग्नताका विषयमा बहुआयमिक अनुसन्धान गर्न पाँच दिनभित्र उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने प्रस्ताव गरेको छ।

उक्त समितिको कार्यक्षेत्र, संरचना, व्यवस्थापन र अधिकार निर्धारण गर्न कार्यसम्पादन समिति एक दिनभित्र गठन गर्नुपर्ने प्रस्ताव छ।

त्यस्तै, कार्यसम्पादन समितिले छानविन समितिको कार्यविधि पाँच दिनभित्र तयार गरी समिति गठन गर्ने र कार्यारम्भ गर्नुपर्ने प्रस्ताव गरेको छ। रास्वपाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भ्रष्टाचारजन्य कार्यहरूमा गरिरहेको अनुसन्धानमा हस्तक्षेप नगरी सरकारले पूर्ण सहयोग र सहजीकरण गर्नुपर्नेसमेत प्रस्ताव गरेको छ।

त्यस्तै, छानविन समिति गठन, अनुसन्धान प्रक्रिया र अध्ययन प्रतिवेदन सार्वजनिक गर्दा पारदर्शिताको उच्च मापदण्ड अपनाउनुपर्ने प्रस्ताव गरेको छ। भिजिट भिसामार्फत मानव तस्करी भएको विषयमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानविन समिति बनाउनुपर्नेलगायत माग राखी विपक्षी दलहरूले संसद्मा अवरोध गर्दै आएका छन्।

सत्तारूढ दल नेपाली कांग्रेसले भिजिट भिसा सेटिङ प्रकरणमा छानविन समिति बनाउन पनि अस्वीकार गरेपछि रास्वपासँगको छलफल निष्कर्षविहीन भएको छ।

संसद् भवन नयाँ बानेश्वरमा सोमबार कांग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, नेता ज्ञानेन्द्रबहादुर कार्की र प्रमुख सचेतक श्यामकुमार घिमिरे तथा रास्वपाका तर्फबाट उपसभापति डा. स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र प्रमुख सचेतक सन्तोष परियार सहभागी बैठक बिना निष्कर्ष सकिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *