आत्मसमीक्षासहित जनतातर्फ फर्केका छौँः दाहाल
फाइल तस्विर
गण्डकी। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित आफूहरू जनतातर्फ फर्केको बताएका छन्। माओवादी केन्द्र, पोखरा महानगर समितिको तेस्रो सम्मेलनको आज पोखरामा उद्घाटन गर्दै उनले आफ्नो वर्ग र समुदायसँगको सम्बन्धलाई नयाँ चिराबाट अगाडि बढाइएको बताए।
‘बीचमा जनता र वर्गसँगको सम्बन्ध टुटेको थियो, गम्भीर समीक्षा गरी पार्टीलाई जनतासँग जोड्ने संकल्प गरेका छौँ’, उनले भने, ‘पछिल्लो समय माओवादी केन्द्रप्रति जनतामा नयाँ विश्वास र भरोसा देखिएको छ।’
पार्टीले चलाएको हुलाकी राजमार्ग र मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित जनजागरण अभियानका क्रममा पार्टीप्रति आकर्षण देखिएको उनको भनाइ थियो। ‘आगामी निर्वाचनसम्म माओवादी केन्द्रलाई बलियो र पहिलो पार्टीका रूपमा स्थापित गर्ने जिम्मेवारी हाम्रो काँधमा छ’, अध्यक्ष दाहालले भने, ‘सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिसहितको समाजवादको बाटोमा मुलुकलाई लैजान माओवादीले सक्छ।’
उनले नेपाली मौलिकता र विशेषताको समाजवाद स्थापनाका लागि आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्रको विकास गर्नुपर्ने धारणा राखे। समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न पार्टी एकता र ध्रुवीकरणको प्रक्रिया सुरू भएको उनको भनाइ थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment