कथा : अनुत्तरित प्रश्न 

प्रकाशचन्द्र खतिवडा
३१ जेठ २०८२ ७:०३

मैले कविता नलेखेको एक महिना हुनै लाग्यो। पुरानै कविता काँटछाँट र थप घट गरिरहेछु। पुराना कविता दोहोर्‍याएर हेर्दा विगत परिवेशको झल्को आउँदो रहेछ। जवान हुँदा लेखिएका कविता कति त बेकामे जस्ता लाग्दा रहेछन्। समय सन्दर्भ फरक परेर होला केही कविता त पुनलेर्खन नै गर्नु पर्ने रहेछ।

म विगत चालिस वर्षदेखि छिटफुट रुपमा कथा, कविता र संस्मरण लेख्दै आइरहेको छु। मेरो रुचीको विषय कविता लेखन हो। म कवितामा बगे जस्तो कथा र संस्मरणमा बग्न सकिन कि जस्तो लाग्छ।

साहित्य लेखन एक साधना रहेछ। मैले साधनै गर्न सकिन भन्ने लाग्छ। अध्ययन नगर्ने बानि पनि अर्को समस्या रहेछ। म आफूलाई अध्ययनशील राख्न सकिरहेकै छैन। अध्ययन मलाई झ्याउ लाग्छ।

म शिक्षण गर्थेँ। तेत्तिस वर्ष शिक्षण गरी म सेवा निवृत्त भएको हुँ। शिक्षणको क्रममा प्रस्तावित प्र.अ. को समेत जिम्मेवारी सम्हालेको कारण विद्यालय व्यवस्थापनमै अधिक समय खर्चनु पथ्र्यो। साङ्पाङ् भोजपुर महिनाको दुई चार चोटी जान आउन पथ्र्यो। बाटो थिएन। यातायातका साधन थिएनन्।

पैदल यात्रा कष्टपूर्ण थियो। पाँच सय प्र.अ. भत्ताले एक पटकको खर्च समेत नपुग्ने थियो। दश घण्टाको पैदल यात्रा गरेर मात्रै भोजपुर सदरमुकाम पुगिन्थ्यो। संचार सुविधा थिएन। एउटा कागजात नपुगेर काम अड्कन्थ्यो।

इमेल इन्टरनेट नभएका कारण नपुग कागजात लिन साङ्पाङ् भोजपुर ओहोर दोहोर गर्नै पथ्र्यो। विदाका दिनमा पनि विद्यालयीय काम गर्नु पथ्र्यो। अतिरिक्त सुविधा थिएन। प्रस्तावित मा.वि. भएकै कारण पर्याप्त दरबन्दी थिएन। भौतिक निर्माणका कामहरु प्राय चलिरहेकै हुन्थे।

दरबन्दी व्यवस्थापन र भौतिक निर्माणको कार्य चुनौतीपूर्ण थियो। विद्यालय ऋणात्मक अवस्थामा गुज्रिएको थियो। वि.व्य.स. अध्यक्ष राजन विक्रम राईको र मेरो समय विद्यालयलाई अपुग भइ रहेकै थियो। विद्यालय हितको निम्ति हामी मरिमेटेर लागि रहेकै थियौँ। विद्यालयको नतिजा सुधारोन्मुख थियो।

अध्यक्षज्यू पनि साहित्यमा रुचि राख्ने भएका कारण कहिले काही साहित्य सम्बन्धि चर्चा परिचर्चा गरिन्थ्यो। साहित्य चर्चा परिचर्चा मै सीमित रहन्थ्यो। लेख्ने काम ठप्प जस्तै थियो। म विद्यालयीय कामको बोझले साहित्य लेखनमा निष्कृय बनिरहेको थिएँ।

पहाडको दुर्गम गाँउ साङ्पाङ्। जहाँ पत्र-पत्रिकाको पहुँच थिएन। पुस्तकालयको उचित व्यवस्थापन थिएन। साहित्यिक गतिविधि शून्य थियो। साहित्यिक भेटघाट हुने कुरा दुर्लभै थियो। परिवेश नमिले पछि साहित्य मरे तुल्य हुँदो रहेछ। म यस्तै परिवेशमा गुज्रिएर मरे तुल्य भएको थिएँ।

अध्यक्षज्यू र म प्रगतिशील साहित्यका पक्षपाति हौँ। हामी प्रगतिशील साहित्य लेख्न र पढ्नमा रुची राख्थ्यौँ। अध्यक्षज्यू माओवादी नेता हुनुहुन्थ्यो। अहिले पनि उहाँ सायद माओवादी मै क्रियाशील हुनुहुन्छ।

म नेपाल राष्ट्रिय शिक्षक संगठन भोजपुरको अध्यक्ष थिएँ। विद्यालयीय र पेसागत जिम्मेवारीलाई मैले कुशलतापूर्वक बहन गर्नु पथ्र्यो। घर परिवार र घर व्यवहार पनि हेर्नै पथ्र्यो।

सहायक प्र.अ.को पदमा रहेर गोविन्द सरले मलाई काममा ठूलै सहयोग पुर्‍याउनु भएको थियो। तथ्यांक फारम भर्ने, दैनिक कार्यतालिका निर्माण, वार्षिक शैक्षिक पात्रो निर्माण, सामाजिक परीक्षण, रजिष्ट्रेशन र एस.एल.सी ओवेदन फारम भर्ने भराउने कार्यमा उहाँको उल्लेखनीय सहयोग रह्यो।

उहाँ कानुनको विद्यार्थी भएको नाताले कानुनी कुरामा समेत मैले सहयोग प्राप्त गरे। उहाँ शि.अ.सं. को सदस्य सचिव पदमा कार्यरत हुनुहुन्थ्यो। उहाँ सामाजिक व्यक्तित्व पनि हो। कतिपय सामाजिक कार्यहरु उहाँको संलग्नता बिना अधुरै रहन्थे।

साङ्पाङे जनता सरल र इमान्दार थिए। विद्यालयको काममा सबैले आ-आफ्नो ठाँउबाट सकेको सहयोग गरे। विद्यालयको तर्फबाट मैले राखेको प्रस्तावमा सबैको सहमति हुन्थ्यो।

शि.अ.सं. अध्यक्ष अशोक दाइ र निर्माण समितिका अध्यक्ष गायत्री काकाले उहाँहरुको जिम्मेवारी कुशलतापूर्वक वहन गरी विद्यालय हितको निम्ति उल्लेख्य योगदान पुर्‍याउनु भएको थियो।

अध्यक्षज्यू स्वयं सामाजिक व्यक्तित्व भएको कारण विद्यालयमा अक्षयकोष स्थापनार्थ दाताहरुलाई उत्प्रेरित गरी विभिन्न नामका अक्षयकोषहरु स्थापना हुन सक्यो। राजनैतिक सहमति गराई आर्थिक व्यवस्थापन गराउन सक्नु उहाँको चातुर्यता थियो।

उहाँ कहिले काहीँ विपक्षीलाई पेल्ने रणनीति पनि अवलम्बन गर्नुहुन्थ्यो। उहाँदेखि विद्यार्थीहरु समेत डराउँथे। उहाँ अनुशासनमा कट्टर हुनुहुन्थ्यो। लिजर पिरियडमा क्लास लिएर सहयोग गर्नु हुन्थ्यो। उहाँको नौ वर्षको कार्यकालमा यहाँ र मेरो बीचमा कुनै खटपट भएन। सम्बन्ध सुमधुर रह्यो।

एघार वर्ष प्र.अ.को जिम्मेवारी निर्वाह गरी वाइस वर्ष अध्यापन कार्यमा संलग्न रहि म आफ्नै जन्म भूमि र आफैले अक्षरारम्भ गरेको बोयाको विद्यालयमा सरुवा भएर गएँ। जीवनका उर्वर समय मैले साङपाङमै खर्चेँ। विद्यालयको निमित्त रगत पसिना बगाएँ। घर व्यवहार छोडेर भए पनि विद्यालयीय काममा आफ्नो समय लगानी गरे।

अहिले मेरो बसाइ दुलारी हो। दुलारी बसाइ दुई वर्ष मात्र पुग्दै छ। पर्याप्त साथी भाइ बनाउन सकिएको छैन। म अलि कम बोल्ने भएको कारण साथी भाइको संख्या बढ्न नसकेको होला।

इटहरी नजिकै भएको कारण सहरीया जीवनले दिने कृत्रिमताको प्रभाव परेको हुन सक्छ। को के गर्दै छ? कसैलाई मतलवै नहुँदो रहेछ। छिमेकीमा समेत मित्रता गाढा नहुँदो रहेछ। मराउ पराउ पनि संवेदनाहीन बन्दै गइरहेको छ। स्वार्थले मान्छेहरुमा मानवता हराँउदै गएको छ।

म नियमित एक घण्टा मर्निङ वाक गर्छु। मर्निङ वाक गर्नेहरुको समूह जतनपुरे पोखरेल माल्दाइको चिया पसलमा चिया खान भेला हुन्छ। चिया गफ चल्छ। घर व्यवहार, सामाजिक परिवेश र राजनीतिमा समेत बहस हुने गर्छ।

भिन्न विचार र भिन्न राजनीति गर्नेहरुको संगम स्थल बनेको छ माल्दाइको चिया पसल। दुलारीमा अरु पनि चिया पसल छन्। माल्दाइको पसलमा जस्तो ग्राहकको बाक्लो उपस्थिति अन्य पसलमा हुने गर्दैन। चियाको गुणस्तर राम्रै छ।

दाइ भाउजूको व्यवहार पनि राम्रै छ। झर्को फर्को नगरी सेवा उपलब्ध गराउने हुँदा भिड बढेको हुन सक्छ। जेष्ठ नागरिक, निवृत्त शिक्षक कर्मचारी, राजनैतिक कार्यकर्ता, सिटी सफारी चालक, ठेकेदार र मजदुर समेतको  मन जित्न सफल भएको छ  जतनपुरे पोखरेल माल्दाइको  चिया पसल।

अक्सर रामकुमार कार्की दाइ निराशाका कुरा गर्नुहुन्छ। उहाँ जेष्ठ नागरिक समाज सुन्दरहरैंचाको अध्यक्ष हो। जीवनको अधिकांश समय बामपन्थी राजनीति गरेर अहिले फ्रस्टेड भएको कुरा गर्नु हुन्छ। उहाँमा किन फ्रस्टेसन आयो? उहाँले पार्टी परित्याग किन गर्नु भयो?

आफूलाई उन्नत विचार र सिद्धान्तले सुसज्जित भनिएको कम्युनिष्ट पार्टीबाटै उहाँ किन प्रतारिड बन्नु भयो? के कम्युनिष्ट पार्टीहरुले बाटो बिराएका हुन्? नेताहरु चरम स्वार्थमा डुबी भ्रष्टाचार र कमिशनको चक्करमा फसेका हुन्? देश र जनताको हित भन्दा भिन्न नातावाद र कृपावादमा लिप्त भएका हुन्? हुन भने नेताहरु सच्चिनु पर्छ। राम कुमार दाइको दुःखेको घाउमा मलम लगाउनु पर्छ।

भोला सर, उमेश दाइ, प्रकाश दाइ, लक्ष्मणजी, अम्बिकाजी र मकरानन्द दाइ राम कुमार दाइको तर्कमा सहमति जनाउँदै देश यथास्थितिमा चल्न नसक्के कुरा व्यक्त गर्नु हुन्छ। आक्रोश र असन्तुष्टि पोख्नु हुन्छ। निराशाका कुरा गर्नुहुन्छ।

मकरानन्द दाइ रा.प्र.पा. कोशी प्रदेशको उपाध्यक्ष भएको हैसियतले राजावादीको गुणगाण गाउनु हुन्छ। गणतन्त्रको विकल्प राजतन्त्र हो भन्नु हुन्छ। राम कुमार दाइ पनि हो मा हो मिलाउदै गणतन्त्रलाई सत्तो सराप गर्नु हुन्छ। के राम कुमार दाइ राजावादी हुन खोज्नु भएको हो?

भोला सर आफू कांग्रेस भए पनि झोले कार्यकर्ता नभएको बताउँदै राजावदीको आन्दोलनप्रति निक्कै चासो राख्नु हुन्छ। मान्छेहरुमा वितृष्णा पलाएको छ। राजनैतिक कार्यकर्ताहरु मौन छन। उनीहरु सँग चित्त बुझ्दो जवाफ छैन। राजनैतिक दलहरु बेलैमा नसच्चिए प्रतिगमनको सिकार हुन के बेर?

म राजावादी हैन। म राजावादी हुनै सक्दिन। म पञ्चायत विरोधी आन्दोलनदेखि नै वामपन्थी हुँ। पञ्चायतले दिएको यातना पनि भोगेको छु। सामान्तवाद र साम्राज्यवाद विरुद्ध कलम चलाइरहेकै छु। देशी तथा विदेशी प्रतिकृयावादीहरु विरुद्ध आवाज उठाइरहेकै छु।

गणतन्त्रको प्रयोगमा कमजोरी रहे होलान्। गणतन्त्रले जन अपेक्षाकृत परिणाम दिन सकेन होला। गणतन्त्र संचालकमा संचालन विधिमा तादाताम्य हुन सकेन होला। कमजोरी सच्याउँदै जाने हो।

स्वतन्त्रता र मानव अधिकार बहालीको उन्नत शासन व्यवस्था लोकतान्त्रिक गणतन्त्र नै हो। गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन। म गणतन्त्रवादी हुँ। मलाई गणतान्त्रिक हुनबाट कसैले रोक्न मिल्दैन।

प्रकाश भन्दा पुराना साथीहरुले मलाई नचिन्नु होला। म अर्धभूमिगत कालमा विलाप उपनामले लेख्ने गर्थें। महेन्द्र मोरङ कलेजमा विलाप चर्चाकै नाम थियो। विलापको कविता भने पछि विद्यार्थीहरु सुन्नलाई उत्सुक हुन्थेरे। कलेजमा आयोजना हुने कार्यक्रममा मैले कविता सुनाउनै पथ्र्यो।

मेरो प्रस्तुति शैली राम्रो हुन्थ्यो रे। कविता त खासै उत्कृष्ट रहेन छन। पुरानो डायरी पल्टाएर हेर्छु। साथीहरुले मलाई हौस्याइ दिनु भएकोमा धन्यवाद दिन चाहन्छु। मेरो हराएका टाउकाहरु छेस्के कविता संग्रह बाहेक अन्य कुनै पनि कृति प्रकाशित छैन्न। प्रकाशक भेटे प्रकाशन गर्ने नै छु।

अहिले अनलाइन प्रकाशन तिर भिडिरहेको छु। स्तरीयताको कसिले प्रकाशनमा कहिले कहिले समस्या आउने गरेको छ। खास गरी साहित्य पोष्टले स्तरीयताको नाममा मलाई अल्झाउने गरेको छ। सेतोपाटी, रातोपाटी र अनलाइनमा पनि केही केही समस्या देखिएको छ। स्तरीय लेख्ने प्रयत्न गरिरहेको छु। मैले जानि जानि स्तरहीन लेखन गरेकै छैन। निवृत्त जीवनलाई कृयाशील राख्न पनि मैले लेख्नै पर्छ।

निवृत्तहरुका आ-आफ्नै पिर व्यथा छन्। निवृत्त जीवन एक्लो र निरश बन्दो रहेछ। निवृत्तहरुको पनि कुनै संस्था भए त्यसमा आवद्ध भएर निवृत्त साथीहरुसँग मनको कुरा साट्न त पाइन्थ्यो भन्ने लागिरहेको थियो। निवृत्तहरुको संस्था खोज्ने क्रममा म निवृत्त राष्ट्र सेवक समाज नेपालको सम्पर्कमा पुगेँ।

मलाई साथीहरुले विश्वास गरी कोशी प्रदेश समितिको सचिवमा निर्वाचित गराउनु भयो। निवृत्त राष्ट्र सेवा समाज नेपाल निवृत्तहरुको छाता संगठन हो। यसले निवृत्तहरुको हक हितका कुरा उठाउने गर्छ। नियमित बैठकमा निवृत्त साथीहरुसँग भेटघाट भई मनोभावनाहरु आदन प्रदान गर्दा जीवनलाई एक किसिमको उर्जा प्राप्त हुन्छ।

भेला, बैठक, गोष्ठी, शुभकामना आदान प्रदान, पेन्सन डे, पिकनिक, अवलोकन भ्रमणको कारण साथीहरुसँग राम्रै हिमचिम बढेको छ। अनुहार हेरेर हाँस्दा पनि आयु बढ्छ होला जस्तो लाग्छ। म उमेरले साठी पुगेकै छैन। मेरो स्वास्थ्यमा समस्या आए पछि मैले स्वेच्छिक अवकाश लिएको हुँ। मलाई डिप्रेशन भएको थियो। अहिले पनि नियमित औषधि सेवन गरिरहेको छु। अहिले ठिक छु। कुनै समस्या छैन।

असहमतिका बाबजुद छोरा छोरी विदेश तिर लागे। छोरा बुहारी क्यानडा गए। छोरी ज्वाइ फिन्ल्याण्ड गए। कान्छी छोरीको स्व-निर्णित विवाह हो। उ गौशाला छे। माइली छोरीको विवाह भएकै छैन। बुवा आमा वृद्ध हुनुहुन्छ। स्वास्थ्यमा समस्या आइ रहन्छ। उपचारमा ध्यान पु¥याइएन भने स्वास्थ्यमा जटिलता थपिन्छ। उपचारमा लैजान र ल्याउन सकस पर्छ। आमा बुवाको सेवा गर्न पाएकोमा म हर्षित छु।

सनैः सनैः गाउँ रित्ति सक्यो। सहर बजारमा पनि केटा-केटी, महिला र वृद्ध-वृद्धाको संख्या बढी छ। युवाहरुको संख्या कमै छ। मलामी र जन्ति पाइनै छोडि सक्यो। मलामी र जन्तिमा केटा केटी, जेष्ठ नागरिक र महिलाको संख्या बढी रहेको छ।

युवा शक्ति हरेक दिन विदेश पलायन भै रहेको छ। युवा शक्ति विदेश पठाइ रेमिट्यान्स भित्र्याउन सकियो भनी फुँइ हाक्नु बेकार छ। रेमिट्यान्सले कति दिन चल्छ देश? आत्मनिर्भरताको बाटो खोज्नु पर्दैन र?

जग्गा जमिन बाँझो भै सक्यो। राष्ट्रिय उत्पादन घटी रहेको छ। उद्योग कारखाना बन्द भै सके। रोजगारी छैन। गुणस्तरीय शिक्षा छैन। स्वास्थ्यमा कमिशनको खेल चलिरहेको छ। शिक्षा, स्वास्थ्य र रोजगारीको उचित व्यवस्थापन नभए पछि युवा शक्ति राष्ट्रबाट पलायन नहुने कुरै भएन। पलायन रोक्ने नीति खै?

प्रकाश, तेरो देश के भै रहेको छ? तँ जिवितै छस् कि मृत? तँलाइ देशको माया लाग्दैन? तैंलै छोरा छोरी किन विदेश पठाइस्? तेरो राष्ट्रवाद खै? तेरो राष्ट्रियता खै? कृषि क्रान्तिको ठूलै फलाको हाल्थिस् त। खै कृषि क्रान्ति? औद्योगिक क्रान्ति गर्ने भन्थिस् त।

खै औद्योगिक क्रान्ति? जनवादी, प्रगतीशील, व्यवसायिक र सिपमूलक शिक्षाको प्रत्याभूति गर्छु भन्थिस त। खै तेरो वचन वद्धता? भूमिहीन सुकुम्वासीको समस्या समाधान गर्छु भन्थिस् त। खै भूमिहीन सुकुम्वासीहरुको हातमा लाल पुर्जा? जसको जोत उसको पोत कायम गर्छु भन्थिस् त।

खै कायम गर्न सकेको? जग्गामा हदबन्दी लगाएर राष्ट्रियकरण गर्छु भन्थिस् त। खै राष्ट्रियकरण गरेको? मलाई सर्यौ प्रश्नहरुले हिर्काइ रहेका छन्। मसँग उचित जवाफ छैन। अनुत्तरित प्रश्नहरुको जवाफ कसले दिने?

सुन्दरहरैंचा-०६, दुलारी, मोरङ

kpchandra2023@gmail.com




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *