मोरङका निर बहादुर खड्का बने कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी

डिसी नेपाल
६ असार २०८२ १६:१८

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको इलाका प्रहरी कार्यालय हरैचामा कार्यरत प्रहरी नायव निरीक्षक (प्रनानि) निर बहादुर खड्कालाई २०८२ सालको जेठ महिनाको ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ।

खड्काले विभागीय मूल्य–मान्यता तथा निर्देशनको पालना गर्दै उच्च मनोबल र साहससहित आफ्नो कर्तव्य निर्वाह गरेका कारण यस सम्मानका लागि चयन गरिएको कार्यालयले उल्लेख गरेको छ।

खासगरी उनले गत जेठ २० गते ग्रामथान गाउँपालिका ७ स्थित शंकास्पद अवस्थामा बेवारिसे टाटा सुमो चेकजाँच गर्ने क्रममा दुई जना व्यक्तिसहित ३ सय ४७ किलो १ सय १० ग्राम गाँजा नियन्त्रणमा लिन सफल भएका थिए।

त्यस्तै, फैसला कार्यान्वयन अन्तर्गत कर्तव्य ज्यान मुद्धामा पाँच वर्ष कैद सजाय सुनाइएका एक फरार अभियुक्तसहित विभिन्न मुद्दामा जरिवाना तोकिएका १४ जना फरार प्रतिवादीलाई कानूनी दायरामा ल्याउन उनले विशेष सफलता प्राप्त गरेको कार्यालयले जनाएको छ।

यस्तै ग्रामथान ७ की ८९ वर्षीया तिलमाया खड्काको खोजतलास गर्दै ग्रामथान–६ स्थित सुनसरी–मोरङ सिँचाइ परियोजनाको नहरमा डुबेको अवस्थामा शव फेला पारी अनुसन्धानको नेतृत्व पनि उनैले गरेका थिए। सो क्रममा मृतकका सुनका गहना नजिकैको एक घरभित्र माटोमुनी गाडिएको अवस्थामा फेला पारी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको थियो।

खड्काले आफ्नो क्षेत्रको शान्ति सुरक्षालाई मजबुत पार्दै उल्लेखनीय सफलता हात पारेको भन्दै कोशी प्रदेश प्रहरीले उनको कार्यको उच्च मूल्याङ्कन गर्दै ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ को सम्मान प्रदान गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *