दुबईमा २० मिनेटभित्र ७ पटक श्रृङ्खलाबद्ध विस्फोट, बाक्लो धुवाँको मुस्लोले छायो आकाश
काठमाडौं । युएईको दुबईस्थित जेबेल अली औद्योगिक क्षेत्रमा भीषण विस्फोटहरू भएका छन्। सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोहरूमा रातको समयमा आकाशभरि बाक्लो धुवाँको मुस्लो छाएको देखिन्छ। इमिराती अधिकारीहरूलाई उद्धृत गर्दै इरानको ‘मेहर’ समाचार संस्थाले जनाएअनुसार २० मिनेटको अन्तरमा कम्तीमा सातवटा विस्फोटका आवाज सुनिएका थिए।
रिपोर्टका अनुसार उक्त घटनाको भिडियो खिचेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ। यो घटना कुनै सैन्य आक्रमणका कारण भएको हो या औद्योगिक दुर्घटनाका कारण भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन।
अमेरिका र इरानबिच जारी युद्धका बिच यमनबाट संयुक्त अरब इमिरेट्स (युएई) मा मिसाइल आक्रमण गरिएको इराकी सञ्चारमाध्यमहरूले दाबी गरेका छन्। यद्यपि, इमिराती सञ्चारमाध्यमहरूले भने विस्फोटको कारणबारे कुनै आधिकारिक विवरण सार्वजनिक गरेका छैनन्।
मेहरले उद्धृत गरेको नासाको थर्मल इमेजरी प्रतिवेदनले बन्दरगाहसँगै जोडिएको र इन्धन भण्डारण तथा स्थानान्तरणका लागि प्रयोग गरिने एक गोदाममा आगलागी भएको देखाएको छ। घटनाबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण तत्काल प्राप्त हुन सकेको छैन।
सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा विस्फोटपछिको दृश्य देखिन्छ, जहाँ एक आवासीय बस्ती नजिकै रातको आकाशमा कालो धुवाँको मुस्लो उडिरहेको देखिन्छ।
नजिकैको ‘अल फुरजान’ का बासिन्दाहरूले पनि विस्फोटको खबर सार्वजनिक भएकै समयमा ठूलो ठोकिएको वा पड्किएको जस्तो आवाज सुनेको पुष्टि गरेका छन्।
दबई सहरको केन्द्रबाट लगभग २५ माइल दक्षिण-पश्चिममा रहेको जेबेल अली युएईको एक महत्त्वपूर्ण व्यापारिक केन्द्र हो। यहाँ मानवनिर्मित टापु ‘पाम जेबेल अली’ र विश्वकै सबैभन्दा ठूलो मानवनिर्मित बन्दरगाहसँगै जोडिएको एक स्वतन्त्र व्यापार क्षेत्र (फ्री ट्रेड जोन) रहेको छ, जहाँबाट अन्तर्राष्ट्रिय जलयातात सहज रूपमा सञ्चालन हुन्छ।
अमेरिका-इरान युद्धका क्रममा युएई उच्च सतर्कतामा रहँदै आएको छ। यस क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्रहरूमाथि तेहरानले गर्ने जवाफी प्रहारको निशानामा युएई पनि बारम्बार पर्दै आएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment