प्रकाशचन्द्र खतिवडाका सात छोटा कविता

१. दार्जिलिङ
मुक्तिका गीतहरु गाएर
विजयको सन्देश प्रवाह गर्दै
इन्क्लाव
उठाएर हातहरु
आमा बा पनि
समेटिएर (एकीकृत)
एक मुस्लो
उठिरहेछ दार्जिलिङ ।
कम्मर कस्तै छ
विजयोत्सव मनाउन
कंचनजङ्घा
तिमी उसलाई
एक अंजुली पानी देउ
टाइगर हिल
तिम्रो सपना के छ?
सपना पूरा हुने गरी
तिमी उसलाई
न्यानो (रापिलो) ओत देउ।
२. खोंच
गुम्सिएर उकसमुकुस भावनाहरु
त्यही पहाडको फेदी त हो खोंच
खोंचको व्यथा
खोंचको कथा
अलिखित किंवदन्ति जस्तै छ।
खोंचको जिन्दगी
उसको पनि त रहर होला
लालुपाते भएर पूmल्ने
गुराँस जस्तो फक्रने
खोच
तिमी नसुस्ताउ
म लेखी दिन्छु तिम्रा कथाहरु
जिन्दगी जिउनै पर्छ
एउटा मिलन विन्दु खोजौ हामी
क्रान्तिको विगुल बजाउँदै
विजयको झण्डा बोक्नु पर्छ।
सुस्तायौ पहाडले थिचिएर
ओल्टे कोल्टे फर्कन पर्छ
सुस्ताउन त
म पनि सुस्ताएँ होला
अव सुस्ताउन हुन्न
गुफा पनि वोल्न सक्छ
पर्खाल पनि चिच्याउन सक्छ
युगले कोल्टो फर्किएको वेला
खोच
तिमी आउ
मौनता भङ्ग गरी
जिन्दगी जिउनै पर्छ
तिम्रो जिजीविषा छाम्दै छाम्दै।
३. किनारा
सुसेली हाल्दै आँउछ खोला
हुत्तिदै बग्छ मेरो छेउ
म किनारा
टाङ्गिएको छु वारि पारि।
मलाई कोतरेर घायल बनाउने
यो कुन युद्ध हो खोलाको?
म कुरुक्षेत्र होइन
लगातार युद्ध पिइरहने
लछारिने, पछारिने।
हामी खोला किनारा
एकापशमा भेट हुनै नसक्ने
संवादहीनता
वार्ता हुनै नसक्ने
शत्रुवत एक्ला एक्लै बाँच्नु पर्ने।
खोला हुत्तिदै आउँछ
म चिथोरिँदै जान्छु
यो खोलाको साम्राज्य
म चाहन्न
मलाई स्वतन्त्र बाँच्न देउ।
४. मेरो वस्ती
हाँस्न नसकेर
ओठ बाँधिए जस्तो
शोकमग्न
छुच्चो सिरेटोको दपेटिमा
कठाङ्ग्रिएर बाँचेको छ मेरो वस्ती।
आज पनि मेरो वस्ती
उन्मुक्त हाँस्न सकेन
निष्ठुर रात गर्जिए पनि
सधैं रोइरहन्छ रात
मध्यरातमा निन्द्रा भाँच्चिए पछि।
बादलका चोक्टाहरु
जूनको उज्यालो छेख्छन्
कालो छाँयाले
मेरो वस्तीलाई जब गाँज्छ
तव ताटकोशेरोहरु एकतमाशले कराउँछन्
कुकुरहरु एकोहोरो रुन्छन्।
जब बादल फाट्छ
त्यो बेला सम्म
जून मरिसकेको हुन्छ
र मेरो वस्ती
वलस्कृत हन्छ
निरन्तर कालो छायाँले छोपे पछि।
५. नदी
एक तमाशले वहने
शान्त र निश्चल
हिँउकी सुकुमारी छोरी
सुसाउँदै लेक बेसीका
गीतहरु गाउँछ्यौ ।
पहाडका गर्भबाट
तिम्रा बैंसालु सन्तान खोला खोल्साहरु
तिमीमै समाहित हुन्छन्
तिमी पूर्णता प्राप्त गरी
गन्तव्य तिर अगि बढिरहन्छ्यौ।
त्तिर्खाहरु मेटाएर
कुकर्मीका कुकर्म पखाल्दै
मरुभूमिलाई जीवन दिन्छ्यौ।
तिम्रो छङ्छङ आवाज
मेरो देशको गीत हो
मेरो देश
जँहा नदीका इतिहास उही रहेछन्
सगरमाथा
नदीकै अग्लाइ त हो।
अनेकन पानीका पहाडहरु
अनेकन पानीका रुखहरु
नदी बगाइरहेछन निरन्तर
म नदी सँगै बगिरहेछु
समुद्रमा समाहित हुनलाई।
६. ढोका खुल्ला
जो जो आउँछन्
आउन देउ
सबैलाई प्रवेश दिउँला
हुन्न भन्ने सबैलाई बहुला बनाई
आफ्नो पाल्ला भारी बनाउनु पर्ला
घुर्कीसँग कोही डराइँदैन
चुनाव नजिति भा छैन
यो सभ्य भनिएको
प्रजातान्त्रिक घरको
तस्करदेखि अरबपतिसम्म
सबैलाई ढोका खुल्ला।
प्रजातान्त्रिक समाजवाद भनेको यही हो
धनाढ्य धनी भै रहनु पर्छ
विचरा गरिब मरे मरोस्
हिसाव किताव राख्दै
विदेशी सँग
राहत रकम असुल्नु पर्छ
सरकार त्यसै चल्दैन हजुर
भ्रष्टाचार र कमिशनको ढोका खुल्ला राख्दै
विपक्षीलाई ठेगान लगाउनु पर्छ।
७. सत्ता साम्राज्य
गोल टेबलमा वसेर
मासुको चौटो लुछ्दै
स्यालको रजाँइ चलि रहेछ
ब्वाँसोहरु दाउ छोपी बस्छन्
शिकार खस्ने लोभमा ।
एउटा माछो छ
जलहारी जाल हान्छ
माछो त उम्क्यो
भ्यागुताको काल भै रहेछ।
घुम्ने कुर्सी मज्जाले हाँस्छ
ढलपल ढलपल हुँदै
कुर्सीको खुट्टा ठिक ठाउँमा छैन
वैशाखीको बेहाल हुन्छ।
सानो देशको
ठूलै परिवेश छ
देश न भेष
त लौरो, न हतियार
देश लुट्ने लुटाहाहरु
उही ड्याङ्का एउटै मतियार।
सत्ताको घोडा चढी
सत्ता उन्मादले मात्तिएर
जनतालाई ढाड सेक्ने महङ्गाी भिराई
विपक्षीको गला रेटी
सत्ता नचलाउ
सत्ता आजीवन चल्न सक्दैन
तिमीले पनि पराजय भोग्नु पर्छ ।
सुन्दरहरैँचा-०६, दुलारी, मोरङ
प्रतिक्रिया
Facebook Comment