उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्छ : मन्त्री अधिकारी

डिसी नेपाल
१५ असार २०८२ २०:२८
44
Shares
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धान उत्पादन वृद्धि गर्न वैज्ञानिक विधिको प्रयोग गर्नुपर्ने बताएका छन्।
कृषि विभागले आज आयोजना गरेको २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मन्त्री अधिकारीले मुलुकमा दिगो र समृद्ध अर्थतन्त्र निर्माण गर्न कृषि उत्पादन वृद्धि गर्नुपर्ने बताए। कृषिमा आधुनिकीकरण आवश्यक रहेको उल्लेख गर्दै उहाँले कृषि पेसालाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले कृषक कल्याणका विविध कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले खाद्य सुरक्षामा किसानलाई जागरूक बनाउन उनीहरूको जीवनस्तर सुधार गर्नुपर्ने त्यसका लागि कृषि क्षेत्रमा सुधार आवश्यक रहेको बताए। उहाँले धान बालीको उत्पादनमा सुधार ल्याइ खाद्य सुरक्षामा योगदान पुर्‍याउनुपर्नेमा जोड दिँदै, जलवायु अनुकूल प्रजातिको प्रवर्द्धन गर्नुपर्ने बताए।
कृषि विभाग, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रलगायत संस्थाको समन्वयमा भएको महोत्सवमा धानसम्बन्धी प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर, सन्देशलगायतका सामग्री प्रकाशित र प्रसारण गरिएका थिए।
प्रत्येक वर्ष असार १५ गते विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाउने गरेको विभागले ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा तय गरेको छ।

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *