कविता : प्रेमको अलाप

शंकरप्रसाद रिजाल
२१ असार २०८२ ७:२८

आलाप प्रेमको हेर त्यो कति दर्दनाक छ
प्रेमको दुई जीवन हेर कति सुख दुःखपुर्ण छ
फुलेका फूलमा पाइन्छ वासना अत्तरै सरी
सुकेका फूलमा हेर के पाइन्छ र यस्तरी।

मिलन प्रेमको हेर वासना कति मगमग
बिछोड प्रेमको हेर छ जताततै उजाड
कल्पना मात्र त्यो हुन्छ प्रेम मिलनको
सम्झना मात्र हुन्छ त्यो प्रेम बिछोडको।

प्रेमले मिलाउँछ सबैलाई प्रेमैले सताउँछ
आलाप प्रेमको हेर त्यसले कसरी जलाउँछ
जलेको मनको प्रेम त्यो कति घनघोर छ
सारा विश्व जलेझैं त्यो कति अघोर छ।

आलाप प्रेमको आँसु नकुनै कपडाले सुकाउँछ
बिछोड प्रेमको जोडी त्यो कति आँसु बगाउँछ
प्रेमको मूल्य नै हुन्न जबसम्म छ मिलनमा
कसैले केही देख्दैनन् प्रेमको त्यो बिछोडमा।

प्रेमको मिलनमा आँसुको मोती खस्दछ
आलाप प्रेममा हेर सागर झैं आँसु झर्दछ
आँसु रोकेर रोकिन्न प्रेमको बिछोडमा
जलेर मन निभ्दैन त्यो आगोको उडानमा।

आलाप मिलापको प्रेम सुखदुःखको संसार
यसैमा जीवन त्यो हेर यो संसारको अपार
फर्किन्न म फर्किन्न अब प्रेमको आलापमा
फर्किए म सधैं फर्किन्छु प्रेमको मिलापमा।

प्रेमको पश्चाताप

ओहो कस्तो प्रेमको बीचमा म पर्न आएँ
जसले दिललाई जलाउँछ र सताउँछ
सम्झेर मैले तिमीलाई के पाएँ
खुसी सबै लुटिगयो चैन दिलको गुमाए।

यो जीवनमा तिमीसँग भयो कति कुरा
आज सब भएका कुरा दिलमा बन्यो छुरा
कहाँ छ्यौ तिमी फेरि एक्चोटी भेट्न पाउँ
लुकेका मन भित्रका कुरा म पोख्न पाउँ।

कति आँसु बगाएँ रोई जीन्दगी बिताएँं
कुनै छैन हिसाब अब तिमी बीच आएँ
मेरा हर खुसी तिम्रो सासमा छ
मेरो आखिरी सास तिम्रै काखमा छ।

बोकी हिँड्छु सधैं तिम्रो मायाका ती सम्झना
मनमा उठ्छ तिम्रै बारेमा हजार फेरि तर्कना
तर्कना आगोमा पर्दा आगो दनदन जल्दछ
भित्रको प्रेमको पर्दामा आगो दनन बल्दछ।

सूर्यले चन्द्र कुरेझैं म कुरेको छु हरदिन
चन्द्रदेखि सूर्य टाढा म त्यो हेर्न सक्दिन
आकासमाथि आउँकी म तिमीलाई समाउन
पृथ्वी तलका सबै बगैंचा तिमीलाई घुमाउन।

जटा फिँजाई बादलको लुकेकी छौ कतै कतै
त्यो बादल पारिको लोकमा बसेकी छौ कतै यतै
अन्धोले झैं म हेरी बस्छु यत्रो ठूलो आकासमा
उभिएको छु शिखरमा तिम्रो प्रेमको त्यो खोजमा।

जीवनभरी म कुर्नेछु पश्चाताप नगरीकन
आउने छौ कि तिमी भन्दै यो लामो परर्खाइमा
आएन कहिलै पहिले रहँदा ती ज्ञान
अब भयो सब जीवन निशा समान

न तिम्रो भक्ति भो न भो बिबेक
आखिर प्रेम तिमी रहेछौै एक।

अत्याचार, बेथिति र विसंगति

अत्याचार, बेथिति र विसंगति
सुन्दर नेपाल शून्य र बिरानो बन्दै गयो
सारा युवा बिदेसिए जग्गा बेची बेचीकन
बुवा आमा दाजु भाइ रोए आँसु झारिकन।

नेपाल किन भो यस्तो यो सुन्दर भइकन
वन जंगल खोला नाला नेताले बेचिइकन
बीस वर्ष बित्यो हाम्रो गणतन्त्र नेपालमा
भएन केही बिकास र उन्नती स्वदेशमा।

शिक्षा स्वास्थ्य कुनै छैन खेतीपाती कुनैपनि
उद्योग नयाँ छैन अनुसन्धान कुनैपनि
राजनीति बन्यो हाम्रो नेताको भर पेटमा
कमाए कतिले धेरै अकुत सम्पत्ति बेगमा।

कल कारखाना कुनै छैन बेरोजगारी बढ्दै गयो
सारा बिकासका सम्भावनामा ओझेल पर्दै गया
जागेनन् कोही जनता यस्तो हुँदापनि कुनै
नाचे सबै ठूला नेता गरीब जनता बीचमै।
अत्याचार बढ्यो देशमा नेता लोभी सबै भए
सत्तानै चाहिने उनलाई सबै अबिकेकी भइगए
गरिबी बढ्दै जाने उचा पहाडी भेगमा
धनी धनी हुँदै जाने सारा देश नेपालमा।

थिती रीति कुनै छैन नियम कानुन कुनैपनि
बनेका जति छन् थिति उल्टिएका छन् जुनैपनि
नियम निष्ठा कुनै छैन जे मन लाग्यो गरिरहने
तल भुईंमा बसेका जनता सधैं टुलुटुलु हेरिरहने।

काण्डै काण्डमा मुछिएका नेता छन् सबै यहाँ
मुख त्यो झुठको बोली बोली हिँड्छन जहाँतहाँ
बुद्धि छैन कुनै तिनको हात खुट्टा चलाउँछन्
बिदेशी नेताको सामून्ने बुँख्याचा बनि हिँड्द्छन्।

पढेलेखेका ज्ञानी कोही छैनन् बाह्रखरी बराबर
ठुला पद लिइ बसेकाछन् बागमुख हेर ल
लोकतन्त्र भनी हिँड्छन दुनो आफ्नो सोझ्याउँछन्
जनता बिचरा सारा सधैं अभाव मुनि बस्तछन्।

जे मन लाग्यो त्यही गर्छन् नियम सबै मिचिकंन
कुनै लाग्दैन नियम कानुन हुकुमे बादशाह बन्दछन्
लुटेका छन् सबै ढुकुटी राष्ट्र खोक्रो बनी सक्यो
सबैले चिनी सकेका छन् सबै नेता कस्तो र को।

भो चाहिन्न अब यी नेता राष्ट्र दोहन गरिरहने
भो चाहिन्न अब यो तन्त्र सधैं कस्तो गनाउने
अत्याचार, अनाचार बेथिति र विसंगति
के भयो देशमा यस्तो सधैं अकाल र दुर्गति।

नेता बन्ने कुनै छैनन् खुट्टा मात्र बजारन
संसदैपनि चाहिन्न सधैं झगडामात्र गरिरहने
नियमकानुन कुनै छैन न्यायालय किन चाहियो
सेवासुबिधा कुनै छैन सरकारै पनि किन चाहियो।

देशमा बेथिति बढ्दैछ दिनानुदिन सधैंभरी
गरिबी झन् बढ्दैछ संसारै अत्त्याउने गरी
सबै मानिस लागेका छन् पैसामात्र कमाउन
गरीब के गरी जिउने हो यो जीवन बिताउन।

अन्याय र विसंगतिले देश खोक्रो बनिसक्यो
भोलिको भबिश्यदेखि अब डर लागिसक्यो
कि देश छोडी जाने हो अर्काको काम गरन
कि आज नै मर्ने हो भोलि हुन्न कुनै दिन।

झुकेको शीर

झुकेको शीर त्यो फेरि उठ्दैन कहिलेपनि
लुकेको माया यो फेरि देखिँदैन कहीँपनि
घमण्ड शीरको ताज हारेको छ जहाँतहाँ
रिसको आगो दन्दनी बल्छ त्यो निधारमा।

रिसले शीर ठाडो छ तर झुकेको छ सबैतिर
पाउन्नन कसैगरी तिनले इज्जÞत कतै तिर
एक्लो शान बानले हुन्न मान उनको कतैतिर
अरुको माजमा बस्ता शीर झुक्दछ सबै तिर।

पढने लेख्ने सबै हुँदैनन् बुद्धिका शीर धिमति
घुमाइ ल्याउँछ तिनलाई घमण्डका ती दुर्मति
मोति माला कुनै भिर्नाले दिँदैनन् शोभा रति
जीवनमा शीर निहुरेको हुन्न शोभा अलिकति

घमण्ड जसमा हुन्छ शीर झुक्दैन कहिलेपनि
सम्मान उसको हुन्न कत्ति उ जहाँ गएपनि
समाज उसको हुन्न साथि संगति कुनैपनि
देखिन्छ उसको जीवन एकलो र निरह बनी

निहुरेको लिई शीर कसरी बसी यो जीवन बिताउने
भित्र मनमा बलेको आगो उसले कसरी बुझाउने
तिरस्कार हुन्छ सबैबाट शीर ठाडो गरी दम्भले
नमस्कार हुन्छ सबैबाट शीर झुकेमा नम्रले।

को राजा को प्रजा नेता निहुरिएको शीर प्रिय छ
खराब सज्जनको भिन्न यही हुन्छ प्रियजन
नगरे बेइमान कहिले नगरे घमण्ड कहिलेपनि
निहुरिने छ त्यो तिम्रो ताजको शीर जहिलेपनि।

मोहको संसार

ताप सूर्याकासमा हुन्छ तापने जमिनमा
मोह आँचलमा हुन्छ यौवनको नबिनमा
रातमा निद छैन, निद छैन बिहानीमा
सुतेसरी ब्युँझिने त्यो मोहको संसारमा।

रोग सोक कुनै हुन्न मोहको संसारमा
भोक प्यास कुनै हुन्न नबिन जीवनमा
अप्सरा नाच्ने छमछम ऋशिको नगीचमा
मोहको जालले गर्दा ध्यान भंग समिपमा।

भँवराले फूल चुमेझैं बगैंचा भुन्भुनाउंँछ
अप्सरा रुप त्यो सम्झी माहुरी गीत गाउँछ
राधा सम्झी कृष्ण रोएझैं मोह रोई बस्तछ
फूलेका फूलले सारा निहुरी अर्पण गर्दछ।

जुम्रा कपालमा कुद्छ चारैतिर वरिपरी
कालो कपालमा कालो भै नदेखिने गरी
कायियो कपालमा कोर्दा झर्दछ जस्तरी
जुम्रा लिखाहरु झर्छन् तिम्रो मोहमा परी।

गीत संगीतको बाजा बज्दछ सात सूरमा
गाएका गीतका भाखा बजारिन्छ छातीमा
संगीत सुरको बाजा लिएको छ गीतमा
आई नाच देखाउ यो मन भरी नगीचमा।

तानसेनपनि रोलान् मेरो आलाप सुनिकन
हरीदासपनि हिँड्लान् बिस्तारै नलडिकन
सूर्यको तापमा रोलिंन चन्द्रमा पिलीपिली
चन्द्रको सितलतामा सूर्य हास्छन् मरीमरी।

अहो मोह यो कस्तो सारा जीव भुलाउने
बिश्व मानव लिलामा सर्बस्व बनिदिने
हँसाउने यही छ यो संसारमा जहाँपनि
रुवाउनेपनि यहीँ नै छ फेरि बिछोडमापनि

माया संसारको हेर सबैको होस उडाउने
मोह सतिदेबको हेर महादेब नै लठठीने
सीताको मोहमा पर्दा राम वनवन भडकिए
राधाको बिछोडमा कृष्णले बर्साना छोडी गए।

मोहको संसारमा कसैले धोका नपाउन
कसैले आँखाबाट आँसु कहिले नबगाउँन्
बुझे मोहले संसार स्वर्ग सरी बनाउँछ
बुझे यसलेनै जन्म नरकमा पुर्‍उाउँंछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *