आफ्नै हत्या किन गर्छौ?

नलेखौं कलमले श्राप देला, नबोलौं वाणीले आँसु झार्ला, नपढौं वेद, मुन्धुम र त्रिपिटकले औंला उठाउला, नहिँडौं भूमिको बोझ भइएला, नबताऊँ भने भविष्यले धिर्काला भन्ने डर। मुलुक, मूल र मौलिकताका लागि यसकारण ऋषिमुनिहरुले पसिना बगाए, महापुरुषहरुले परिश्रम गरे, वीरहरुले जोगाए, शहिदहरुले संरक्षण गरे।
माटोलाई कसरी अपव्याख्या गर्ने, मूललाई कसरी चुडाउने, विरासतलाई कसरी विर्सने, गौरवलाई कसरी गौण बनाउने? भन्नेमा गणतन्त्रको खोल ओढेर केही जत्था लागिरहेको छ। कालीदासले हाँगाको टुप्पामा बसेर फेदतिर काटेझैं गरिरहेका छन्।
यी पाप कार्यमा हाम्रा कलम, वाणी र कर्म लाग्नु अत्यधिक दुर्भाग्यपूर्ण हो। इतिहासमा यस्ता कर्म कुन कालखण्डमा भए भनेर भविष्यले खोज्यो भने हामीले त्यसको भारी बोक्नै पर्छ, शिर झुकाउनै पर्छ, परिचय दिन गाह्रो पर्छ।
आफ्नोमा आफैंलाई गर्व छैन, इतिहासप्रति सम्मान छैन, पुर्खाको पौरखमा ध्यान छैन। शिक्षित समाज र सचेतयुगमा यो कस्तो नशाको दशाले हामीलाई समायो? चिन्तन गर्नुपर्ने समय आयो कि?
शिलालेख, प्राचीन मूर्ति र मन्दिर, आदिमकालका गुफा, हाम्रा तीर्थस्थलहरुले हामी मानव हौँ, हामी देवीदेवताका सन्तान हौँ, ऋषिमुनिहरुका वंशज हौँ भन्ने तथ्य बताइरहँदा जिनमा अमिबा र बसाईमा अफ्रिका खोजिरहेका छौँ।
मुन्धुमलाई भुलेर मार्क्स , त्रिपिटकलाई गुमाएर पश्चिमा प्रविधि, वेदलाई विर्सेर बाइबलतिर लाग्नुले गन्तव्यमा पुकिँदैन भन्ने तथ्यलाई विगतका २० वर्षले देखाइसकेको छ।
मन्त्रले माटोलाई, तन्त्रले सरकारलाई, यन्त्रले जगत्लाई कल्याण गरेका तथ्यलाई दन्तेकथा र चौतारीको गफ हो भन्नमा पार्टी र विज्ञजमात लागेको देख्दा सन्ततिको प्रश्न कस्तो होला भन्ने भयले पोल्छ।
वेद, त्रिपिटक र मुन्धुमले दिएको शिक्षा, संस्कार, विज्ञान, औषधि, जीवनलाई भुलेर पश्चिमाको वाद, शिक्षा र प्रविधिमा रमाइरहेका छौँ। हाम्रा पितापुर्खा (ऋषिमुनि)हरूले कठोर तपस्या, अनवरत अनुसन्धान र बारम्बारको परीक्षणद्वारा अद्भूत शब्दशक्ति प्राप्त गरे जसलाई मन्त्र भनियो।
अधिकांश मन्त्र नेपालका हिमाल, पहाड, नदीकिनारा, गुफा, कन्दरा, जंगल, झरना आदिमा ऋषिहरूले देखे। पुराण लेखिँदा, यन्त्रहरु जप्दा, महादेवले कालकुट विष पिएर गोसाइँकुण्ड जाँदा, कागभुसुन्डीले तपस्याका लागि मनाङतिर ध्यानमग्न हुँदा विदेशमा विद्याको दियो बलेको थिएन। यहाँको जमिन, जंगल र जलमा ज्ञानको भूमरी छ, विज्ञानको जानकारी छ, जीवनको रहस्य सुसाउँछ भन्ने होश हामीलाई अझै आएको छैन।
अब हामीले मन्त्र, तन्त्र र यन्त्रलाई समयानुकूल प्रयोग गर्नुपर्छ। यहाँका चिकित्सा, साधना, अनुसन्धान विधिलाई पुनर्जिवन दिनुपर्छ। यो माटोमा विदेशी वाद, शिक्षा, सिद्धान्त र तन्त्र फाप्दैन भन्ने तथ्यलाई २०४६ सालपछिको प्रयोगले सिद्ध गरिसकेको छ।
हामीले हाम्रो मन्त्रालयमा हाम्रै मन्त्र प्रयोग गर्नुपर्छ। हाम्रो सरकारमा हाम्रै तन्त्रको अभ्यास हुनुपर्छ। सबैलाई समेटेर, हरेकलाई बुझ्ने गरेर, प्रत्येकलाई जान्ने गरेर अक्षर, शब्द र वाक्यको निर्माण गरिएको मन्त्रको मर्म बुझ्नुपर्छ।
संस्कृतिभाषा र नैतिक शिक्षा पढ्दा सम्म कुनै आमा र बुबालाई वृद्धा आश्रम चाहिएन, कुनै सन्तानले भ्रुणहत्यामा जीवन गुमाउनुपरेन। दशैँ, ल्होसार, तिहार, उधौलीउभौली मनाउँदासम्म कसैका अभिभावकले एक्लो भएको अनुभूति गर्नुपरेन।
आज मन्दिर छैन मनी छ, आज संस्कार छैन सत्ता छ, आज मनोपोली छ मित्र छैन, आज बजार छ तर बोल्ने साथी छैन, आज पैसा छ परिवार छैन, आज आत्मीयता छैन आरामदायी भवन छैन यसले आफैँलाई रित्तो बनाएन र ?
दमौलीमा जन्मिएका वेदव्यासले मन्त्रको संकलन गरी वेदलाई तयार गरे, किरात क्षेत्रबाट सुम्निमा र पारुहाङले तन्त्र र योगलाई वितरण गरे, गौरीशंकरहिमालमा तपस्या गर्ने विश्वामित्रले गायत्रीमन्त्र दिए, लुम्बिनीमा जन्मिएका बुद्धले शान्तिको विगुल फुगे, गोरखाबाट गोरखनाथले शावरतन्त्रको वितरण गरे।
यही तन्त्र र मन्त्रको प्रयोग गरी पृथ्वीनारायणले सिन्धुलीबाट अंग्रेज र मकवानपुरबाट मुसलमान सेनालाई लखटे। राईले पाछा र सामे विर्सिए, बाहुन र क्षेत्रीले गोत्र र प्रवर भुले, मगर र गुरुङहरुले थानीलाई पुज्न छोडे अनि हाम्रो र यो भूगोलको संरक्षण कसरी हुन पुग्यो ?
नेपाल मन्त्रकी जननी, तन्त्रकी मातृभूमि, औषधिकी आमा, योगको नर्सरी, मुद्राकी माँ, यन्त्रको उत्पत्तिस्थल भएकाले यहीको विधि, नीति, वादलाई त्याग्नुहुँदैन। मन्त्रले ऋषि जन्माउँछ, यन्त्रले विज्ञान मौलाउँछ, तपले ज्ञानलाई फुलाउँछ, साधनाले शान्तिलाई फैलाउँछ, तन्त्रले रोगलाई हटाउँछ, संस्कारले समस्याको समाधान गर्छ।
मन्त्र अदृश्य शक्ति, अचूक हतियार, उपाय र उपचारको स्रोत हो। ध्वनिले जन्माएको, अक्षरले बनाएको, शब्दले निर्माण गरेको, वाक्यले बाँधिएको, अर्थले भरिएको अद्भूत र अविनाशी शक्ति भएको ईश्वरको श्वास तथा हाम्रो विरासतलाई मन्त्र भनियो। विधिपूर्वक सिकेमात्र मन्त्रको अर्थ, प्रयोजन र शक्तिको अनुभव गर्न सकिन्छ।
मन्त्रको उच्चारण गर्दा ऊर्जा प्रवाह हुन्छ, मनस्थितिलाई बदल्छ, परिस्थितिलाई रूपान्तरण गर्छ। मन्त्रसँग हाम्रो इतिहास, संस्कृति, परम्परा, राष्ट्र, प्रकृति, जीवनदर्शनको नाभी जोडिएको छ। मन्त्रबलबाट राक्षसहरूले देवतालाई चुनौती दिन्थे, युद्ध जितिन्थ्यो, हतियार बन्दथे, संसारका रहस्य र जीवनको महत्व बुझ्थे, ईश्वर साक्षात्कार गर्थे।
मन्त्रकै शक्तिले मुर्खदास पनि कालीदास, कामदास पनि तुलसीदास बन्न सक्छ। अंगुलीमालहरु हाम्रै विद्याले भिक्षुक भए, रत्नाकर डाकु पनि बाल्मीकि बने। ३० वर्षबाट कखरा चिनेका काले राई हाम्रै विद्याको आशीर्वादले डा. स्वामी प्रपन्नाचार्य हुन गए।
पुर्खाको नाशो, अग्रजको चिनो भएकाले हरेक नेपालीले मन्त्र पढ्नुपर्छ, तन्त्र बुझ्नुपर्छ, यन्त्र र मुद्रालाई प्रयोग गर्नुपर्छ भन्ने प्रमाण यीबाहेक अनेक महामनामा भेट्न सकिन्छ। वेद, त्रिपिटक र मुन्धुमको जन्म मन्त्रबाटै भयो।
भोजनदेखि भजनसम्म, मनदेखि मनोरञ्जनसम्म, श्वासदेखि स्वर्गसम्म, पुर्खादेखि पौरखसम्म मन्त्र जोडिएका छन्। यसकारण मन्त्र नजप्दा माता, मातृभूमि, मातृभाषा, मातृसंस्कृतिको सराप लाग्छ। मन्त्र हाम्रो भाग्य हो, भरोसा हो, भगवान्को स्वरूप हो। ‘दैवाधीनं जगत्सर्वं मन्त्राधीनाश्च देवताः’ अर्थात् परमात्माको अधीनमा जगत् छ, देवताहरू मन्त्रका अधीनमा छन्।
व्रतबन्धमा मन्त्र दान दिइन्छ। मन्त्रदीक्षा नदिईकन विशेष देवीदेवताको पूजा गर्न पाइँदैन। गुह्येश्वरी, शैलेश्वरी, तारा, पशुपतिका पूजारी बन्न दीक्षा लिनै पर्छ। मन्त्रले जीवन, संस्कार, चिन्तन बदलिने हुँदा मन्त्रदीक्षा दिनेलाई ढोग्नुपर्छ।
त्रिपिटकलाई १० शताब्दीको, वेदलाई १४ औं शताब्दीको, मुन्धुमलाई १६ औं शताब्दीको बताएर बाँदरका सन्तति बनाउने र भन्ने प्रयास गर्दा भविष्यले धिक्कारला, सन्ततिले औंला उठाउँलान्। हाम्रो रक्षा, सुरक्षा र संरक्षण हामीले नै गर्नुपर्छ। आफू, आफ्नो, आपनत्वको संरक्षण हामीले गर्नुपर्छ अन्यथा आफ्नो हत्या आफैँले गरेको हठरिएला कि ?
मन्त्र नेपालमा फुलेको सञ्जीवनी हो। गर्भ संस्कारदेखि मृत्युसंस्कारसम्म, खाँदादेखि सुत्दासम्म, घरको जग राख्न, भाषणको शुरुवात गर्दा, पढ्दा, जन्मदिन मनाउँदा, ग्रहशान्ति र प्रसादग्रहण गर्दा, यात्रा गर्दा, आशीर्वाद दिँदा मन्त्रको प्रयोग हुन्छ।
मन्त्रद्वारा अर्काको शरीरमा (कायप्रवेश) प्रवेश गर्ने, रूप परिवर्तन गर्ने, प्रकृतिलाई अधीनमा लिने गरिन्छ। देवीभागवत्, रामायण, महाभारत आदिमा मन्त्रका बहुआयामबारे चर्चा छ।
‘मननात् त्रायते यस्मात्तस्मान्मन्त्रः प्रकीर्तितः’ अर्थात् जसको चिन्तन, मननले मुक्ति मिल्छ त्यसलाई मन्त्र भनिन्छ। मन्त्रलाई उचितरूपले प्रयोग र परिचालन गर्नेलाई मन्त्री भनिन्छ। जहाँ मन्त्रसम्बन्धी छलफल, चिन्तन, मनन र परीक्षण हुन्छ त्यसलाई मन्त्रालय भनिन्छ।
‘मन्त्रारं त्रायते’ अर्थात् जसले पढ्छ, मनन गर्दछ त्यसलाई मन्त्रले उद्धार गर्दछ। सत्ययुगमा जुन सामथ्र्य, वैभव, विकास र प्रगति थियो त्यसमा मन्त्रकै आशीर्वाद थियो। मन्त्रले मनुष्य जन्मायो, महादेवलाई पैदा गरायो, माटोलाई आड्दियो, प्रकृतिलाई साथ दियो।
पद्माक्षैर्दशलक्षं तु सौवर्णैः कोटिरुच्यते।
कुशग्रन्थ्या च रुद्राक्षैरनन्तगुणमुच्यते।।-लिड्डपुराण,(पूर्वभाग ८८।१११)
अर्थात् “कमलको बिऊको माला जप्नाले दश लाख गुणा, सुनको माला जप्नाले करोड गुणा, कुशको ग्रन्थी एवं रुद्राक्षको मालाले जप्दा अनन्त गुणा फल मिल्दछ।” शङ्खको मालाले जप गर्दा सय गुणा, स्फटिकको मालाले दश हजार गुणा, मोतीका मालाले लाख गुणा फल प्राप्त हुन्छ।
रुद्राक्षको तीस दानाबाट बनेको मालाले जप गर्दा धन लाभ, सत्ताइस दानाबाट पुष्टि, पच्चीस दानाबाट मुक्तिदायक, पन्ध्र दाना टुनामुनाका लागि फलदायी हुन्छ।
पूर्व फर्केर मन्त्र जप गर्दा अरूलाई वशमा राख्न सकिन्छ, दक्षिण फर्केर जप्दा अभिचार कर्ममा सफलता मिल्छ, पश्चिम फर्केर जप्दा धनदायक र उत्तर फर्केर जप्दा शान्तिदायक हुन्छ।
नेपालका अद्भूत रत्न, पत्थर, वनस्पतिबाट बनेका मालामा मन्त्रशक्ति छिट्टै सक्रिय भई ईश्वर साक्षात्कार हुन्छ, प्राणीको इच्छा पूरा हुन्छ, पुर्खालाई प्रसन्न गराउँछ। माला बनाउने पदार्थ, मन्त्र, इष्टदेवलाई बुझेर उपयुक्त तिथिमा जगाई जप्नुपर्छ।
साधकहरूले जपेको मालालाई छुँदा, लगाउँदा, दर्शन गर्दा लाभ मिल्छ। नेपालका कन्दरा, खोलाका किनारा, हिमाल, तालतलैया, जंगल आदिमा ऋषिमुनिहरूले विभिन्न मालाद्वारा साधना गरे। माला बनाउन र जप्न, मन्त्र उच्चारण गर्न हाम्रै भूमिले सिकायो। २७ नक्षत्रको स्वरूप, ब्रम्हाण्डको आकार, अक्षरहरूको आकृतिसँग मिल्ने गरी माला बनाइन्छ।
यहाँका पर्वहरु यन्त्राकार छन्, यहाँका नदीहरुमा दैवी ऊर्जा छ, यहाँको वनस्पतिहरुमा शब्दशक्तिले मूर्त रुप पाउँछ। यसकारण जप, तपका लागि नेपालभूमि स्वर्ग हो जहाँ सामग्रीको अभाव, कम समय, विधिमा न्यूनता भए पनि छिट्टै अधिक लाभ मिल्छ।
ब्रम्हाण्डले ॐ, प्राणले सोùहं, प्रकृतिले तारक मन्त्रको जप गर्छन्। मानवको कल्याण होस् भनी ऋषिमुनिले व्रतबन्धपछि गायत्री मन्त्र जप्न लगाए। महिलालाई सासु, कुलकीपूज्या महिला वा कुलगुरुद्वारा मन्त्र दिइन्छ।
गुरुले जपिरहेको मन्त्र जागिरहेको हुँदा शिष्यले त्यो मन्त्रको साधना गर्दा छोटो समयबाट अधिक लाभ लिन सक्छ। मन्त्रलाई मन्त्रकै रूपमा, मन्त्रकै तरिकाले, मन्त्रकै विधिबाट, मन्त्रको मर्मअनुसार प्रयोग गर्नुपर्छ, मन्त्रले भनेझैँ जाग्नुपर्छ, उभिनुपर्छ र बाँच्नुपर्छ। मन्त्रलाई ढोग्नुपर्छ, पुज्नुपर्छ, बुझ्नुपर्छ, सदुपयोग गर्नुपर्छ।
मन्त्रलाई विज्ञानमा, जीवनमा, युवामा, कर्ममा, माटोमा, प्रविधिमा, शिक्षामा, प्रशासनमा जोड्न आवश्यक छ अन्यथा हजुरबा र बुबाले जपे भन्दैमा नयाँ पुस्ताले स्वीकार गर्दैनन्। सन्तानलाई मन्त्र, शास्त्र र साधनाका विषयमा लगाउनुपर्छ।
संस्कृतभाषा नबुझ्दा, साधना विधि हराउँदा कुन मन्त्रले के लाभ दिन्छ, तन्त्रले के फाइदा गर्छ ? यन्त्र (जन्तर)ले कसरी काम गर्छ भन्ने तथ्य भुलेका छौँ। मन्त्रको व्यापार गर्ने होइन व्यवहारमा उतार्नुपर्छ। मन्त्रलाई शब्द थेरापीको रूपमा युगानुकूल सदुपयोग गर्न नसक्दा धर्मगुरुमाथि शंका, धर्मशास्त्रमाथि प्रश्न, धर्ममाथि औँला ठडिन थाल्यो।
भौतिक विज्ञानले पृथ्वीलाई साँघुरो बनाएको छ, मन्त्रले ब्रम्हाण्डलाई नजिक गराउँछ, तन्त्रले विभिन्न लोकलाई साथमा राख्छ। मन्त्रले मनको तनाव, शरीरको समस्या, समाजको अप्ठेरो, राष्ट्रका अवरोध आदिलाई हटाउँछ।
अध्यात्म विज्ञानले बाह्य र आन्तरिक संवृद्धि दिलाउँछ। मन्त्रशक्तिबाटै महादेवले गणेशको शिरमा हात्तीको टाउको जोडे। पुष्पक विमान, त्रिपुरशहर, रामेश्वरदेखि लंकासम्मको पुल, कृष्णको द्वारिका शहर मन्त्रशक्तिले बनेको हो।
देवी र शुम्भ, राम र रावण, इन्द्र र इन्द्रजित, महाभारतलगायतका युद्धमा मन्त्रबाट शस्त्रास्त्र प्रहार गरिएको थियो। खुट्टा बालेर खाना पकाउने, थाललाई आकाशमा फालेर चन्द्रमाजस्तै उज्यालो दिने, एकै दिनमा मानसरोवर, चारधामलगायतका तीर्थमा पुग्ने, इच्छाएको सामग्री ल्याउने, टाढाका कुरा सुन्ने, ब्रम्हाण्डका गतिविधि थाहा पाउन मन्त्रशक्तिको प्रयोग गरिन्थ्यो।
मन्त्र जप्नेको मनमा कुविचार आउँदैन, भ्रष्टाचार र व्यभिचार गर्दैन। नेपालीको आत्मा, आर्यावर्तको आभा, प्रजातन्त्रको बीऊ, लोकतन्त्रको फूल, राजतन्त्रको फल पनि मन्त्र हो। तन्त्र केवल शासन हो, मन्त्र सबैको आसन हो। तन्त्र फेरिन्छ जस्तै प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, राजतन्त्र।
परमात्माको श्वास भएकाले मन्त्रलाई परिमार्जन र रूपान्तरण गर्न सकिँदैन, संशोधन गर्नुपर्दैन। बज्रयान होस् वा भैरवतन्त्र, कालीतन्त्र होस् वा अधोरतन्त्र, मुन्धुमको विधि होस् वा बोनपरम्परा हरेक नेपालीले मन्त्र जप्नै पर्छ।
जीवनका हरेक पक्षसँग मन्त्र, तन्त्र जोडिएकाले नेपाली हुनका लागि पनि जप्नुपर्छ। हामीसँग अहिले मन्त्रद्वारा पाशुपतास्त्र जगाउने शक्ति थियो भने, तन्त्रद्वारा लक्ष्मणरेखा कोर्ने विधि रहेको भए, यन्त्रद्वारा पुष्पक विमान बनाउने कला जिवित रहेको थिए युवाको पलायन, प्रतिभाको अधोगति देख्नुपर्ने थिएन।
हामीले पुर्खाको विरासतलाई बचाउन नसके पनि अपव्याख्या गरेर पुर्खाको हत्या, ज्ञानमाथि बलात्कार, विज्ञानमाथि अपमान नगरौँ। त्रिपिटकलाई १० शताब्दीको, वेदलाई १४ औँ शताब्दीको, मुन्धुमलाई १६ औँ शताब्दीको बताएर बाँदरका सन्तति बनाउने र भन्ने प्रयास गर्दा भविष्यले धिक्कारला, सन्ततिले औँला उठाउँलान्।
हाम्रो रक्षा, सुरक्षा र संरक्षण हामीले नै गर्नुपर्छ। आफू, आफ्नो, आपनत्वको संरक्षण हामीले गर्नुपर्छ अन्यथा आफ्नो हत्या आफैँले गरेको हठरिएला कि ?
Facebook Comment