विदेशी मुद्रा सञ्चिती २५ खर्ब ६९ अर्ब

डिसी नेपाल
२४ असार २०८२ १४:०५
28
Shares

काठमाडौं। चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा चालु खाता तीन खर्ब सात अर्ब ३१ करोडले बचतमा देखिएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनासम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार यो अवधिमा ११ अर्ब ९ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी आठ अर्ब २४ करोड रहेको थियो।

त्यस्तै गत जेठ मसान्तसम्ममा शोधनान्तर स्थिति चार खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति चार खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको थियो।

कुल विदेशी विनिमय सञ्चितिमा पनि उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्ष सुरु हुँदै गर्दा अर्थात् २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति पछिल्लो ११ महिनामा २५ दशमलव ९ प्रतिशतले वृद्धि भई २५ खर्ब ६९ अर्ब ३८ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति रु २२ खर्ब ७४ अर्ब ४७ करोड र बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिती दुई खर्ब ९४ अर्ब ९२ करोड रहेको छ। गत जेठ मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २० दमलव पाँच प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको ११ महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव छ महिनाको वस्तु आयात र १४ दशमलव ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *