कांग्रेस थोत्रो र मूल्यहीन भयो भन्ने भाष्यलाई चिर्न जरुरी छ: महामन्त्री थापा
काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पूरानो र मूल्यहीन भयो भन्ने भाष्यलाई चिर्न आवश्यक रहेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागद्वारा आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसको मुख्य चुनौती भनेकै पूरानो, थोत्रो, खराब र मूल्यहीन हो भन्ने कुरालाई चिर्नु रहेको बताए।
समाजमा स्थापित गर्न खोजिएको कांग्रेस पूरानो भयो भन्ने नकारात्मक भाष्यबाट बाहिर निकाल्नु जरुरी रहेको उनको भनाइ थियो। सँगै नयाँ परिवेश र नयाँ कुरा सिकेर कांग्रेस अघि बढिरहेको उनको भनाइ थियो।
‘आज नेपाली कांग्रेसका लागि चुनौती भनेकै पार्टी पुरानो, थोत्रो भयो भन्ने भाष्यलाई चिर्नु हो। पार्टीलाई मूल्यहीन भन्ने ढंगबाट समाजमा जबरजस्त नकारात्मक भाष्य स्थापित गर्न खोजिँदैछ। त्यसबाट नेपाली कांग्रेस बाहिर निस्किएर आउनुपर्नेछ । विचारको मन्थन हुनुपर्छ,’ उनले अगाडि भने,‘हामी कसैको निम्तालु भएर जाने होइन, हामीले पो कसैलाई निम्तालु बनाएर बोलाउने हो। छलफल र बहस गर्ने विषय यही नै हो।’
त्यस क्रममा नेपाली कांग्रेस भित्र एउटा व्यवस्थित पुस्तकालय बन्न जरुरी थियो त्यो बनेको जिकिर गरे। विभागीय प्रमुख अजयबाबु शिवाकोटीको संयोजकत्वमा भएको कार्यक्रममा पार्टीलाई योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो।
No ads found for this position



डिसी नेपाल
Facebook Comment