सिद्धार्थ बैंक कर्मचारी सञ्चय कोषमा आबद्ध, १ अर्ब ५८ करोड रुपैयाँ हस्तान्तरण

डिसी नेपाल
१३ साउन २०८२ ९:२४
92
Shares

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड अबदेखि औपचारिक रूपमा कर्मचारी सञ्चय कोषमा आबद्ध भएको छ। हालै सम्पन्न सम्झौता अनुसार, बैंकमा कार्यरत १ हजार ९५५ जना कर्मचारीको सञ्चय रकम अबदेखि नियमित रूपमा सञ्चय कोषमा जम्मा गरिनेछ।

सम्झौताअनुसार, बैंकले अहिलेसम्म आफ्ना कर्मचारीको नाममा सञ्चय गरेर राखेको रु. १ अर्ब ५८ करोड ३० लाख १८ हजार २१७ रुपैयाँ २० पैसा कोषमा हस्तान्तरण गरिसकेको छ। उक्त रकम अब कोषले व्यवस्थापन गर्नेछ, जसबाट कर्मचारीहरूलाई सामाजिक सुरक्षा र विशेष सापटी सुविधा प्राप्त हुनेछ।

सम्झौतापत्रमा कोषका सञ्चयकर्ता सेवा विभाग प्रमुख सागर कुमार सिंह र सिद्धार्थ बैंकका नायब महाप्रबन्धक सुरेश राज महर्जनले हस्ताक्षर गरेका हुन्।

अबदेखि बैंकका कर्मचारीहरूले कोषमार्फत घर, शैक्षिक, मर्मत, जग्गा खरिद लगायतका विभिन्न सापटी सुविधाहरू प्राप्त गर्न सक्नेछन्। त्यस्तै, सामान्य उपचारका लागि १ लाख रुपैयाँसम्म, कडा रोग उपचारमा १० लाखसम्म, दुर्घटना क्षतिपूर्तिमा २ लाख, काजकिरिया अनुदानस्वरूप ४० हजार रुपैयाँ र प्रसूती सुविधा अन्तर्गत दुईपटकसम्म ७,५०० रुपैयाँ कोषले उपलब्ध गराउँदै आएको छ—जुन कुनै अतिरिक्त खर्चबिना प्राप्त हुनेछ।

हालसम्म ५९१ बैंक तथा वित्तीय संस्था, ८१ हजार ६५० कार्यालय र ५ लाख ७९ हजारभन्दा बढी सञ्चयकर्ताहरू कर्मचारी सञ्चय कोषमा आबद्ध छन्। ९५ हजारभन्दा बढी योगदानकर्ताहरूको निवृत्तभरण कोष व्यवस्थापन समेत कोषमार्फत भइरहेको छ।

आर्थिक ऐन, २०८२ अनुसार, आन्तरिक राजस्व विभागबाट स्वीकृत अवकाश कोषहरू अब अनिवार्य रूपमा कर्मचारी सञ्चय कोष वा यसै प्रकृतिका निकायमा आबद्ध हुनुपर्ने प्रावधान लागू भएको छ। यही कारण पछिल्ला महिनाहरूमा बैंक तथा वित्तीय संस्थाहरू कोषमा आबद्ध हुने क्रम तीव्र रूपमा बढिरहेको देखिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *