युवाको सक्रिय सहभागिता विना लोकतन्त्र अधुरो हुन्छ : डा. संग्रौला

डिसी नेपाल
१५ साउन २०८२ १०:१३
24
Shares

काठमाडौं। नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागकी प्रमुख एवं पूर्व सांसद डा. डिला संग्रौला पन्तले युवाको सक्रिय सहभागिता विना लोकतन्त्र अधुरो हुने बताएकी छन्।

काठमाडौं प्रज्ञा कुञ्ज स्कुलद्वारा आयोजित नमुना संघीय सभालाई सम्बोधन गर्दै संग्रौलाले लोकतन्त्रलाई गाली नभैइ, जिम्मेवारी चाहिएको बताइन्।

उनले भनिन् ‘तपाईँहरू परिवर्तनका वाहक हुनुहुन्छ। निराश होइन, आशावादी बनौं। गुनासो मात्रै होइन, समाधान पनि खोज्ने बानी गरौं। समाजप्रति उत्तरदायी, सचेत र संलग्न नागरिक बन्नुहोस्। लोकतन्त्रलाई गाली होइन, जिम्मेवारी चाहिन्छ। तपाईंको सोच, आवाज र निर्णयले देश बदल्न सक्छ।’

नेपाली कांग्रेस सधैं युवाको साथमा रहेको बताउँदै मोडल संसद्का अभ्यासहरूबाट उर्जा, प्रतिबद्धता र सिर्जनात्मक विचारहरू आउने विश्वास पनि व्यक्त गरिन्।

उनले भनिन् ‘गएको दश वर्षको हाम्रो अभ्यासको आधारमा संविधान संशोधनको अवश्यकता देखिएको छ। त्यसको नेतृत्व पनि नेपाली कांग्रेसले लिनुपर्छ र लिन पनि लागेको छ। अब लोकतन्त्रको रक्षा, संघीयताको सकारात्मक अभ्यास र न्यायपूर्ण समाज निर्माणमा हामी सबै मिलेर अघि बढ्नुपर्छ।’

आजका विद्यार्थी भोलिका सांसद, मन्त्री, वैज्ञानिक, चिकित्सक र उद्यमी हुने बताउँदै गुणस्तरीय, सुलभ र व्यावसायिक शिक्षा सबैको प्राथमिकता हुनुपर्ने कुरामा जोड पनि दिइन्।

‘कांग्रेसले सार्वजनिक शिक्षालाई बलियो बनाउने, निजी शिक्षाको नियमन गर्ने र प्राविधिक शिक्षालाई प्रोत्साहन गर्ने नीति लिएको छ। युवामा स्वरोजगार र स्टार्टअप प्रवद्र्धन गर्न राज्यले विशेष सहयोग गर्नुपर्छ।’ डिलाले भनिन्।

संसद् नीति निर्माण गर्ने, कार्यपालिका माथि निगरानी गर्ने र जनताको आवाजलाई प्रतिनिधित्व गर्ने मञ्च भएकाले संसद्को मर्यादा कायम राख्न दलहरूनै जिम्मेवार हुनुपर्नेमा जोड पनि दिइन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *