६ घण्टा कृत्रिम श्वास दिएर शिशु जोगाएकी जानकीलाई जब स्वास्थ्यमन्त्रीले फोन गरे…

यज्ञराज जोशी
१५ साउन २०८२ १४:२१
3.0k
Shares

काठमाडौं । मानिसले स्वास्थ्यकर्मीलाई भगवान‍्को संज्ञा दिने गरेका हुन्छन्। त्यो किम्बदन्तीलाई बैतडीको सिगास गाउँपालिका-४, स्थित कान्धार आधारभूत स्वास्थ्य सेवा केन्द्रकी (स्वास्थ्यकर्मी) अनमी जानकी पुजाराले चरितार्थ गरिदिएकी छन्।

बैतडी आफैँमा दुर्गम पहाडी जिल्ला हो। त्यहीको दुर्गम पालिका हो सिगास। त्यहाँका प्रत्येक गाउँबस्तीमा अझैँ बाटोघाटो पुग्न सकेको छैन।

कोही गम्भीर बिरामी हुँदा गाउँलेहरू डोटीमै बोकेर स्वास्थ्य संस्था पुर्‍याउने गर्छन्। कुरा गत बिहीबारको हो।

सिगास-४ की २० वर्षीया लक्ष्मी धामीलाई प्रसुती बेथाले च्याप्यो। सवारी साधनको पहुँच थिएन। गाउँमा धेरै मानिस पनि थिएनन्। उनी सासूको सहारामा दुई घण्टा हिँडेरै स्वास्थ्य संस्था पुगिन्।

उनी स्वास्थ्य संस्था पुग्दा दिउँसोको दुई बजेको थियो। धामीलाई सुत्केरी बेथाले च्याप्दै गयो। स्वास्थ्यका सबै सूचक राम्रै थिए।

स्वास्थ्यकर्मी जानकीको टिम नर्मल डेलिभरी हुनेमा विश्वस्त थियो। आमाको उमेर २० वर्ष मात्रै थियो। र, उनले पहिलो सन्तानलाई जन्म दिइरहेकी थिइन्।

राति करिब साढे ९ बजे धामीलाई बच्चालाई जन्म दिन निकै गाह्रो भयो। दुई घण्टा हिँडेर स्वास्थ्यचौकी पुगेकी धामी शारीरिक रूपमा पनि निकै कमजोर थिइन्। त्यसैले उनलाई बच्चालाई जन्म दिन निकै सकस भयो।

आमाले बल गरिरहेकी थिइन्, बल पुगिरहेको थिएन। लामो प्रयासपछि शिशुको जन्म त भयो। तर, शिशुको अवस्था सामान्य थिएन। शिशुमा रुने, हात खुट्टा चलाउनेलगायत लक्षण देखिएन। श्वास निकै सुस्त चलिरहेको थियो, निसास्सिएको थियो। शिशुको अवस्था निकै नाजुक थियो।

करिब ६ घण्टाको प्रयासपछि बच्चाको पहिलो रुवाइ सुनियो। त्यो रुवाइले अनमी जानकी र आमा लक्ष्मीको अनुहारमा खुसीको सञ्चार गरिदियो। उनीहरूका सुखीका आँसु झर्न थाले। यससँगै शिशु जोगिने आसा पलायो।

दुर्गमको स्वास्थ्यचौकी। पर्याप्त पूर्वाधार थिएनन्। जानकीलाई के गरौं गरौं भयो। उनले आफ्नो पेसागत धर्म भुलिनन्। र, शिशुलाई जोगाउनतर्फ लागिन्। उनले निरन्तर ६ घण्टासम्म कृत्रिम श्वास दिइरहिन्।

करिब ६ घण्टाको प्रयासपछि बच्चाको पहिलो रुवाइ सुनियो। त्यो रुवाइले अनमी जानकी र आमा लक्ष्मीको अनुहारमा खुसीको सञ्चार गरिदियो। उनीहरूका सुखीका आँसु झर्न थाले। यससँगै शिशु जोगिने आसा पलायो।

शिशुलाई तत्काल सुविधा सम्पन्न अस्पताल लैजानुपर्ने थियो। त्यसका लागि उनीहरूले माथिल्लो निकायमा पहल गरिदिन पालिकाको स्वास्थ्य शाखालाई अनुरोध पनि गरे।

तर, रातिको समय भएकाले तत्काल हेलिकप्टर आउन सक्ने अवस्था थिएन। बिहान मात्रै हेलिकप्टर आउन सक्ने भनेपछि बिहानसम्म जसरी पनि शिशुलाई जोगाउनुपर्छ भन्ने विचार आफूमा पलाएको जानकी बताउँछिन्।

सडकबाट पनि त्यो अवस्थाको शिशुलाई अस्पताल लैजान सम्भव थिएन। कच्ची सडकबाट अस्पताल पुग्नै चार घण्टा लाग्थ्यो। निकै गाह्रो अवस्थासँग थियो। सन्नाटा नै छाएको थियो। मैले कृत्रिम श्वास दिन थालेको २० मिनेटपछि शिशुको छाती फुलेको, घ्यारघ्यार आवाज गरेजस्तो महसुस गरेँ। त्यसपछि लगातार श्वास दिइरहेँ। बिहान साढे ३ बजेतिर शिशु रोयो र हातखुट्टा चलायो। हाम्रा आँखामा हर्षको आँसु बग्यो,’ डिसी नेपालसँग कुरा गर्दै उनले भनिन्।

अहिले बच्चालाई पुनर्जन्म दिन सकेकोमा जानकी खुसी छन्। तर, भौगोलिक असहजता र साधन स्रोतको अप्रयाप्ताले भने उनको मन बिझाएको छ।

प्रसूतिले च्यापेकी गर्भवतीलाई पहाडको उकाली ओराली बाटो दुई घण्टा तय गर्न कति असहज भयो होला। ठूलो आसा बोकेर अस्पताल पुगिसकेपछि प्रविधि र सामग्री अभावमा एक बच्चालाई जोगाउन हामीलाई कति गाह्रो भयो होला? त्यो त सहजै अनुमान लगाउन सकिन्छ। सरकारले आवश्यक पूर्वाधारको उपलब्धता गराइदिए हामीलाई उपचारमा सहजता हुने थियो,’ पुजारा भन्छिन्।

त्यसपछि स्वास्थ्यमन्त्री पौडेलले थपे, ‘सुख र सुविधा नभनी देशको स्वास्थ्य रक्षामा तल्लीन जानकी र अरू धेरै जानकीहरूप्रति मेरो हृदयदेखि नै सम्मान छ। देशलाई साँच्चै तपाईंहरूजस्तै स्वास्थ्यकर्मीको खाँचो छ। तपाईंहरूको योगदानको पक्कै मूल्यांकन हुनेछ।’

अहिले पनि पुजाराले आमा र बच्चाको स्वास्थ्यवस्थाबारे जानकारी लिइरहेकी छन्। उनीहरू अहिले घरमै आराम गरिरहेका छन्। र, दुवैको स्वास्थ्यवस्था सामान्य छ। ‘बच्चाको चिन्ताले माले त आफ्नो पीडा नै देखाउनु भएन। उहाँलाई शिशुको मात्रै चिन्ता थियो। अहिले दुवैको अवस्थामा सामान्य हुँदै गएकाले खुसी लागेको छ,’ जानकीले भनिन्।

जानकीलाई स्वास्थ्यमन्त्रीको फोन

यतिबेला अनमी जानकीलाई स्याबासी ओइरो नै लाग्न थालेको छ। उनलाई स्वास्थ्यमन्त्री प्रदीप पौडेलले समेत फोन गरेर बुधबार बधाई दिए।

जानकीलाई बधाई दिनेहरूले तारनतार फोन गरिरहेका थिए। बिरामी हेर्नुपर्ने भएकाले उनले कतिको फोन उठाउन भ्याइन्, कतिको उठाउन भ्याइनन्।

यहीबीच बुधबार बेलुकी स्वास्थ्यमन्त्री पौडेलले फोन गरेर भने- ‘नमस्कार! मस्वास्थ्यमन्त्री प्रदीप पौडेल।’

जानकीलाई विश्वास नै भएन। उनलाई कुनै साथीले जिस्काइरहे झैँ लाग्यो। केही बोल्नै सकिनन्।

त्यसपछि स्वास्थ्यमन्त्री पौडेलले थपे, ‘सुख र सुविधा नभनी देशको स्वास्थ्य रक्षामा तल्लीन जानकी र अरू धेरै जानकीहरूप्रति मेरो हृदयदेखि नै सम्मान छ। देशलाई साँच्चै तपाईंहरूजस्तै स्वास्थ्यकर्मीको खाँचो छ। तपाईंहरूको योगदानको पक्कै मूल्यांकन हुनेछ।’

त्यसपछि भने जानकीलाई विश्वास लाग्यो। र, मन्त्रीको फोन सपना जस्तै लाग्न थाल्यो। ‘मलाई विश्वासै लागेको थिएन। सञ्चा मनले आफ्नो कर्ममा तल्लीन हुँदा यो अवस्था प्राप्त हुँदो रहेछ। मलाई मन्त्रीज्यूले निकै प्रेरणा दिनुभयो। राम्रो सल्लाह सुझाव दिनु भयो। त्यसले म हौसिएकी छु। अहिले शिशु जोगाउन सकेकोमा र यसरी सबैले कामको प्रशंसा गरिदिनु भएकोमा निकै खुसी लागेको छ,’ उनले भनिन्।

जानकीलाई थप जनशक्ति र स्रोतसाधन भइदिएमा आफूहरूको सेवा थप प्रभावकारी हुने लाग्छ। उनी सरकारसँग यसका लागि अनुरोध पनि गर्न चाहन्छिन्। उनी ६ वर्षदेखि सोही स्वास्थ्य संस्थामा काम गर्दै आएकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *