नेपाली सेनाद्वारा खुर्कोटको बेलीब्रिज मर्मत सुरु
मन्थली (रामेछाप) । नेपाली सेनाले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटस्थित सुनकोसीको बेलीब्रिज मर्मत सुरु गरेको छ।
गत कात्तिकमा निर्माण गरिएको बेलीब्रिजमा प्रयोग भएका केही नटबोल्ट खुस्किएर जोखिम बढेपछि मर्मतका लागि सेनाको प्राविधिक टोली परिचालन गरिएको हो।
महोत्तरीको बर्दिवासस्थित सेनाको प्राविधिक टोलीले बिहीबारदेखि बेलीब्रिज मर्मत थालेका हुन् । गत असोज १२ गते सुनकोसी नदीमा आएको बाढीले खुर्कोटको रामेछापतर्फका ५० मिटरको स्पान (आधा पुल) बगाएको थियो।
पुल बगाएपछि सडक विभाग, नेपाल विद्युत् प्राधिकरण र नेपाली सेनाको सक्रियतामा उक्त बेलीब्रिज जडान गरिएको थियो।
यातायातका साधनको चाप बढेसँगै बेलीब्रिज हल्लिन थालेको, केही लच्केको र नटबोल्टहरु खुस्किएर बिछ्याइएका पाताहरु खुकुलो हुन थालेपछि जोखिम बढेको थिय । यस पुलबाट अधिकतम १५ टनभन्दा बढी भार बोकेका सवारी साधन सञ्चालन हुन नमिल्ने बताइए पनि बढी तौलका साधन पुलबाट वारपार गर्ने गरको छ । दुई दिनभित्र बेलीब्रिज मर्मत गरिसक्ने प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment