इन्डोनेसियामा समुद्रको बीचमा जहाजमा भीषण आगलागी, ५ जनाको मृत्यु पुष्टि, ४१ जना बेपत्ता

डिसी नेपाल
१७ साउन २०८३ १६:३८

काठमाडौं । इन्डोनेसियामा समुद्रको बीचमा यात्रुवाहक जहाजमा भीषण आगलागी हुँदा ठूलो दुर्घटना भएको छ। स्थानीय अधिकारीहरूका अनुसार सो आगलागीमा परी कम्तीमा ५ जनाको मृत्यु भएको छ भने ४१ जना यात्रु अझै बेपत्ता रहेका छन्।

इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीका अनुसार जहाजमा कुल २७१ जना सवार थिए। सो जहाज पूर्वी जाभाको सुराबायाबाट दक्षिण सुलावेसीको मकासारतर्फ गइरहेको थियो। यात्राका क्रममा मदुरा द्वीप नजिक पुग्दा अचानक जहाजमा आगलागी भएको हो। आगलागीलगत्तै जहाजका कप्तानले उद्धारका लागि अधिकारीहरूलाई खबर गरेका थिए।

स्थानीय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका दृश्यहरूमा यात्रुहरू लाइफ ज्याकेट लगाएर ज्यान बचाउनका लागि लाइफबोटमा बसिरहेको देखिन्छ। केही अन्य भिडियोहरूमा जहाजबाट बाक्लो धुवाँ र आगोको ज्वाला निस्किरहेका बेला यात्रुहरू हतार-हतार तल झरिरहेको डरलाग्दो दृश्य देखिएको छ।

अधिकारीहरूका अनुसार हाल घटनास्थलमा ठूलो संख्यामा उद्धारकर्मीहरू परिचालन गरी राहत तथा उद्धार अभियान तीव्र पारिएको छ। बेपत्ता भएका ४१ जनाको खोजी कार्य जारी राखिनुका साथै समुद्रको बीचमा जहाजमा कसरी आगो लाग्यो भन्नेबारे कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको इन्डोनेसियाली अधिकारीहरूले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *