धवलागिरिको घुम्ती शिविरबाट छ सय जना लाभान्वित
म्याग्दी। म्याग्दीको धवलागिरि गाउँपालिकाले देशका विभिन्न सहरमा घुम्ती शिविर सञ्चालन गरेर छ सय जना भन्दाबढी सर्वसाधारणलाई सेवा प्रवाह गरेको छ।
सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित, सिफारिसलगायत सेवा उपलब्ध गराउन घुम्ती शिविर लिएर जनप्रतिनिधि र कर्मचारी प्रमुख सहर झरेका थिए। घुम्ती शिविरबाट छ सय २३ जनाले सेवा लिएका धवलागिरि गाउँ कार्यपालिकाको प्रवक्ता देवेन्द्र रोकाले जानकारी दिए।
सोमबार र मंगलबार बेनीमा घुम्ती शिविर सञ्चालन गरेको गाउँपालिकाले यसअघि साउन १८ र १९ गते काठमाडौं, २१ र २२ गते पोखरामा आयोजना गरेको थियो। १ देखि ७ नम्बर वडाका क्रमशः ५५, ३९, ७७, एक सय १३, एक सय ३०, एक सय २२ र ८७ जनाले शिविरबाट सेवा लिएका प्रवक्ता रोकाले बताए।
धवलागिरि म्याग्दीका अन्य स्थानीय तहको तुलनामा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ। ज्येष्ठ नागरिक, अशक्त र अससायलाई लक्षित गरेर उनीहरू बसेकै ठाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित र नागरिकताको सिफारिससम्बन्धी सेवा दिएको गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए।
गाउँपालिकामा नाम भए पनि बजारमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त, बिरामी लाभग्राहीलाई बर्खामा गाउँसम्म पुग्न कष्ट, झञ्जट र दुःख हुने भएकाले जनप्रतिनिधि र कर्मचारीनै सहर झरेकाले सेवा प्राप्त गर्न सहज भएको बेनीमा बस्दै आएका धवलागिरि गाउँपालिका–२ लमसुङका दिलीप शेरचनले बताए।
गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले सेवाग्राहीको सहजताका लागि सात वटै वडाका अध्यक्ष र सचिवले सहरमा पुगेर सेवा दिएका बताउनुभयो । गत आर्थिक वर्षमा धवलागिरिका दुई हजार नौ सय ३८ जनालाई रु १० करोड ५८ लाख चार हजार दुई सय ८८ सामाजिक सुरक्षा भत्ता वितरण गरिएको थियो।
सेवा, सुविधा र अवसरका लागि सहरबजारमा बसोबास गरेपनि धेरैले औपचारिक रुपमा बसाइसराइ गरेका छैनन्। गत आर्थिक वर्षमा धवलागिरिमा ७६ परिवार बसाइँ गरेर जाँदा १० परिवार आएका थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment