कर्णाली नदीले तटबन्ध बगाएपछि गाउँ जोखिममा
यज्ञप्रसाद सापकोटा
बर्दिया। बर्दिया र कैलालीको बिचबाट बग्ने कर्णाली नदीले गेरुवा गाउँपालिका वडा नं २ बनघुस्रामा तटबन्ध बगाएपछि सो स्थानका गाउँहरू जोखिममा परेका छन्। कर्णाली नदीको कटानले करिब तीन सय मिटर तटबन्ध बगाएपछि आधादर्जन गाउँहरू जोखिममा परेका हुन्।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका अनुसार कर्णाली नदीले सो स्थानमा करिब तीन सय मिटर तटबन्ध बगाएको छ। पाँच वर्ष अघि करिब तीन करोडको लागतमा निर्माण भएको छटबन्ध र स्पर नदी बगाएको आयोजनाले जनाएको छ।
नदी कटानले लम्बाई करिब तीन सय मिटर र चौडाई ३ मिटर कटान गरेको आयोजना प्रमुख सुदिन मुक्तानले बताए। कटानको रोक्नका लागि स्थानीयले रोकथामका उपाय गरिरहेका छन्। नदीमा बनाइएको तटबन्ध सँगै स्पर बगाएकाले कर्णालीले धार परिवर्तन गरी बनघुस्रा, बनकटटी, सनकटटी, टिकुलीगढ, लोहार लगायतका बस्तीमा बाढी पस्ने जोखिम बढेको छ।
अस्थायी रुपमा नदी कटान रोक्न सोमबार नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, जनप्रतिनिधिसहित स्थानीयले बोरामा बालुवा, स्याउला भरेर तटबन्ध गरिने गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment