राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

डिसी नेपाल
१७ भदौ २०८२ २०:५७
144
Shares

राजविराज (सप्तरी)। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस प्रदेशबाट उठ्ने राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई नै दिनुपर्ने बताएका छन्।

लोसपा सप्तरीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मधेसबाट उठ्ने राजस्वको न्यून रकम मात्र मधेसमा आउने गरेको बताए। अध्यक्ष ठाकुरले भने, ‘जनसङ्ख्याको आधारमा बजेट बाँडफाँट हुनुपर्छ। यसैगरी यस प्रदेशबाट उठ्ने राजस्वको कम्तीमा ३५ प्रतिशत बजेट मधेसले पाउनुपर्छ। तब मात्रै यहाँको विकास हुनसक्छ।’

मधेसमा सुक्खाग्रस्त क्षेत्रको अवलोकन गर्ने क्रममा आफू पनि प्रधानमन्त्रीसँगै रहेको भन्दै उनले त्यस बेला घोषणा गरिएका कुरा पनि अझै कार्यान्वयन नभएको बताए। प्रधानमन्त्रीले ५०० ‘डिप बोरिङ’ दिने घोषणा गरे पनि कार्यान्वयन नभएको भन्दै उनले गुनासो गरे।

अध्यक्ष ठाकुरले अन्न भण्डार मधेसमा भएको खडेरी र खानेपानी समस्याबारे आफ्नो पार्टीले सरकार र सदनमा आवाज उठाउने काम गरिरहेको बताए।

पत्रकार सम्मेलनमा लोसपाका वरिष्ठ उपाध्यक्ष जयप्रकाश ठाकुर, जिल्ला अध्यक्ष सुनिल झासहित पार्टीका नेता कार्यकर्ताको उपस्थिति थियो। राजविराजमा बुधबार आयोजना हुने संघीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान कार्यक्रममा सहभागी हुन उनीहरू यहाँ आइपुगेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *