माओवादीले जनजागरण अभियानमा ठूला सभा नगर्ने

डिसी नेपाल
१९ भदौ २०८२ २२:२५
32
Shares

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मध्यपहाडी जनजागरण अभियानअन्तर्गत यसअघि जस्तो ठूलो आमसभा र भेला नगर्ने भएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले वर्खायाम बाँकी नै रहेकाले ठूला सभा नगरी पार्टी र जनस्तरमा आन्तरिक छलफल गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बैठकले सरकारलाई जनउत्तरदायी बनाउन खबरदारीसँगै सडक संघर्ष पनि गर्ने निर्णय गरेको छ। बैठकमा पार्टीभित्रका गुटगत गतिविधि नियन्त्रण गर्ने बारेमा छलफल भएको उहाँले जानकारी दिए। ‘पार्टीभित्रका गुट तथा स्वार्थ समूह भत्काउने र गुटगत गतिविधि अनुगमन गर्ने स्थायी समिति बैठकको निर्णयबारे छलफल भएको छ’, प्रवक्ता सापकोटाले भने, ‘यसप्रकारका गतिविधिहरुलाई नियन्त्रण गर्न अनुगमन समिति बनाउने विषयमा छलफल भएको र निर्णय अर्को बैठकमा लिइनेछ।’

बैठकमा एकता प्रक्रियामा आएका नेता कार्यकर्ताको जिम्मेवारी र कार्यविभाजन तथा वाम एकताबारे समेत छलफल भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *