‘आवाज उठाउँदा गोली हानेर नागरिकको हत्या गर्ने कार्यको जति निन्दा गरेपनि कम हुन्छ’
काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले युवा पुस्ताद्वारा जेन–जिको नाममा भएको विरोध प्रदर्शनका क्रममा मृत्यु र घाइते भएकाहरुको घट्नाबारे निन्दा गरेको छ।
भ्रष्टाचारको विरोध र सरकारले स्वेच्छाचारी तवरले केही सामाजिक सञ्जाल प्लाटफर्महरुलाई बन्द गरेको विरोधमा प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि अन्धाधुन्ध गोली हान्ने र मार्ने कार्य निन्दनीय भएको समाजले जनाएको छ।
‘२०८२ भदौ २३ गते देशव्यापी विरोध प्रदर्शन आह्वानका क्रममा काठमाण्डौको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीको गोली लागि एक दर्जन बढीको मृत्यु भएको र पत्रकारहरुसहित दर्जनौ घाइते भएको घटनाले मानव अधिकार तथा शान्ति समाज स्तब्ध एवं मर्माहत भएको छ। मुलतः भ्रष्टाचारको विरोध र सरकारले स्वेच्छाचारी तवरले केही सामाजिक सञ्जाल प्लाटफर्महरुलाई बन्द गरेको विरोधमा प्रदर्शनमा उत्रिएका युवा पुस्तामाथि अन्धाधुन्ध गोली हान्ने र मार्ने कार्य निन्दनीय छ। आफुले गरेका भ्रष्टाचारको ढाकछोप गर्न नागरिक मार्ने कार्य बर्बर एवं जघन्य अपराध हो। नागरिकमाथि क्रुरताको प्रदर्शन गर्ने सरकार लोकतान्त्रिक हुुन सक्दैन तसर्थ यो सरकारले नैतिक वैधानिकता गुमाइसकेको धारणा शान्ति समाजको छ। यस्तो क्रुरताको लागि जिम्मेवारहरुलाई दण्डित गर्नु आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ।
‘स्वाभिमान युवाहरु भ्रष्ट नेताहरुको नेतृत्वबाट मुक्ति चाहन्छन। देशमा सुशासन चाहन्छन। स्वतन्त्रताको पक्षमा उभिन्छन् र कुुनै पनि निरंकुशताको विरोध गर्छन्। देशव्यापी रुपमै त्यस्तो आवाज उठाउँदा गोली हानेर नागरिकको हत्या गर्ने कार्यको जति निन्दा गरेपनि कम हुन्छ। भ्रष्टाचार विरुद्ध र स्वतन्त्रताको पक्षमा गरिने कुनै पनि आन्दोलनमाथि दमन गर्नु हुदैँन भन्ने मान्यता शान्ति समाजको छ। यसैगरी यस्ता आन्दोलनहरु पनि तोडफोड र अराजकताबाट सधै मुक्त हुनुपर्छ। सुशासन र स्वतन्त्रताका लागि गरिने आन्दोलनहरु सदैव संयमित हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।







डिसी नेपाल







Facebook Comment