बीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक
काभ्रेपलाञ्चोक। बीपी राजमार्गमा असोज १६ गतेदेखि २१ गतेसम्म रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ।
स्थानीय प्रशासनले मनसुन सक्रिय हुने र भारी वर्षाको जोखिम बढेको भन्दै साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी यात्रुबाहक सवारीसाधन सञ्चालन नगर्ने निर्णय गरेको हो।
काभ्रे भञ्ज्याङ-भकुण्डेबेसी–सिन्धुली सडकखण्डमा एम्बुलेन्स र अन्य अत्यावश्यक सेवाका सवारीसाधन भने चल्न पाउनेछन्। जिल्ला सुरक्षा समिति र विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय प्रहरी र ट्राफिक प्रहरीले आवश्यक देखिए जुनसुकै समयमा सवारी रोक्न सक्नेछन्।
प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आउने सम्भावना रहेकाले थप सतर्कता अपनाइएको हो।
जिल्ला प्रशासन कार्यालय काभ्रेले एक विज्ञप्ति जारी गर्दै अत्यावश्यक नभई बाहिर ननिस्कन, विशेषगरी टाढा र रातिको समयमा यात्रा नगर्न, नदी किनार र पहिरोको उच्च जोखिम रहेका क्षेत्रमा सतर्क रहन सबैलाई आग्रह गरेको छ।
गत वर्ष असोज ११ र १२ गतेको भारी वर्षा, बाढी र पहिरोका कारण बीपी राजमार्गमा ठूलो क्षति पुगेको थियो । क्षतिग्रस्त भागमा अझै पुनर्निर्माण नसकिएकोले यसपालि पनि जोखिम कायमै रहेको प्रशासनले जनाएको छ।
त्यसैले बीपी र अरनिको राजमार्गका आयोजनाले डोजर, एस्काभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्ने, पूर्वतयारी तथा प्रतिकार्यमा सहयोग गर्न सरोकारवाला निकायहरूलाई सतर्क रहन आग्रह गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment