हाम्रो पुस्ता नै ‘नेपालको इतिहासकै सबैभन्दा पापी पुस्ता’ हो : रविन्द्र मिश्र

डिसी नेपाल
१६ कार्तिक २०८२ ६:४७
72
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले आफ्नो छैटौं कृति ‘माथिको आदेश छ हिरासतमा कविता’ सार्वजनिक गरेका छन्।

शनिबार राजधानीमा आयोजित विशेष समारोहकाबीच उनले कृतिको लोकार्पण गर्दै देशको राजनीतिक, नैतिक र सामाजिक अवस्थामाथि कठोर टिप्पणी गरेका छन्।

कृति लोकार्पण समारोहमा बोल्दै मिश्रले नेपाली राजनीतिप्रति जनताको विश्वास हराउँदै गएको उल्लेख गर्दै आफूहरुको पुस्ता नै ‘नेपालको इतिहासकै सबैभन्दा पापी पुस्ता’ भएको अभिव्यक्ति दिए।

उनले भने, ‘राजनीतिकर्मीले भनेको कुरा अत्ति अविश्वासिलो हुन थालिसकेको छ। तर हामीले जेनजी पुस्ताको लागि देश बनाउन योगदान पु¥याउन सक्यौं भने अन्तिम श्वास आनन्दले फेर्न सकिनेछ। नत्र मैले आफ्नो पुस्तालाई सबैभन्दा पापी पुस्ता भन्ने गरेको छु।’

मिश्रले विगतका पुस्ता अशिक्षित र विपन्न भए पनि नैतिकरूपमा शुद्ध रहेको भन्दै आफूहरुको पुस्ता भ्रष्टाचार र स्वार्थले ग्रस्त भएको बताए।
उनले भने, ‘हाम्रा बाउबाजेहरू अशिक्षित थिए होला, रुढीवादी थिए होला, विपन्न थिए होलान् तर पतित थिएनन्। तर हाम्रो पुस्ता यस्तो पुस्ता हो जसलाई हाम्रा बाजेहरूको धर्म र नैतिकताको अवधारणाले अलिकति पनि बाध्न सकेन। देशको नियम कानुनले पनि रोक्न सकेन। हामी यस्तो पुस्ताका सदस्य हौं जसले मन्दिर बनाउँदा पनि भ्रष्टाचार गर्छौं।’

मिश्रले आफ्नो कृतिमा समेटिएको अनुभव आफ्नै ५० दिनको हिरासत जीवनसँग जोडिएको बताएका छन्। उनले भने, ‘हामी परिबन्दमा परेर हिरासतमा पुग्यौं। हाम्रो कुनै गल्ती थिएन। देशको कानुन उल्लङ्घन हुने कुनै पनि काम गरेका थिएनौं, तर पनि हिरासतमा पुग्यौं। म ५० दिन जेल बस्दाको अनुभव जे भोगेँ, त्यही लेखेको छु।’

हिरासतमा रहँदा राज्यका संवैधानिक निकायहरू राजनीतिक प्रभावमा रहेको महसुस भएको बताउँदै उनले थपे, ‘प्रहरी, महान्यायाधिवक्ताको कार्यालय र अदालत यी तीनै निकाय राजनीतिबाट नराम्ररी प्रभावित छन् र राजनीतिको छाँयामा छन्।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *