चार राजदूतको राजीनामा स्वीकृत

डिसी नेपाल
३० कार्तिक २०८२ १७:५३
960
Shares

काठमाडौं । सरकारले फिर्ता बोलाएका राजदूतहरूले दिएको राजीनामा स्वीकृत भएको छ। सुशीला कार्की नेतृत्वको सरकारले फिर्ता बोलाएका राजदूतमध्ये चार जनाले राजीनामा दिएका थिए।

उनीहरूको राजीनामा परराष्ट्रमन्त्री समेत रहेकी प्रधानमन्त्री सुशीला कार्कीले स्वीकृत गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अमेरिकाका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओली, कतारका रमेशचन्द्र पौडेल, बेलायतका चन्द्रकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत भएको मन्त्रालयले जनाएको हो।

उनीहरूले मन्त्रालयका सचिव अमृतबहादुर राईसमक्ष विभिन्न मितिमा राजीनामा बुझाएका थिए। सचिव राईले उनीहरूको राजीनामा प्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कार्कीसमक्ष पेस गरेकोमा राजीनामा स्वीकृत भएको जनाइएको हो।

असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले कात्तिक २० गतेभित्र नेपाल आइपुग्ने गरी विभिन्न देशमा रहेका ११ जना राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले कात्तिक १६ गते निर्णय कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको थियो।

१७ गते परराष्ट्र मन्त्रालयले अर्को पत्र पठाएर राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा कामकाज गर्ने गरी फिर्ता बोलाएकोमा केही राजदूतहरूले परराष्ट्र मन्त्रालयमा गएर हाजिर गर्दै आएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *